
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका जनताले उनलाई आफ्नो सर्वोच्च नेता बनाउन चाहेको दाबी गरेका छन् ।
तर, उनलाई यो पद लिन कुनै रुचि नरहेको उनले दाबी गरे ।
वाशिङटनमा आयोजित रिपब्लिकन कोष संकलन कार्यक्रममा बोल्दै ट्रम्पले इरान झण्डै एक महिना लामो युद्ध अन्त्य गर्न चाहन्छ भन्ने आफ्नो दाबीमा थप जोड दिए ।
उनले तेहरानका अधिकारीहरू वाशिङटनसँग वार्ता गरिरहेका छन् तर स्वदेशमा विद्रोह हुने डरले यो कुरा स्वीकार गर्न डराइरहेका छन् भन्ने जिकिर गरे ।
अमेरिका–इजरायल सैन्य अभियानमा आयातोल्लाह अली खामेनेई मारिएपछि तेहरानको नेतृत्वले उनलाई इरानको अर्को सर्वोच्च नेता बनाउने विचार अनौपचारिक रूपमा अघि सारेको ट्रम्पले दाबी गरे । तर, उनले त्यसलाई अस्वीकार गरिदिए ।
‘इरानको प्रमुख बन्न चाहने कुनै पनि राष्ट्रप्रमुख शायदै होलान् । हामी उनीहरूलाई प्रस्टसँग सुन्छौं । उनीहरू भन्छन्, ‘मलाई यो चाहिँदैन । हामी तपाईंलाई अर्को सर्वोच्च नेता बनाउन चाहन्छौं ।’ अहँ, धन्यवाद। मलाई यो चाहिँदैन,’ ट्रम्पले वार्षिक राष्ट्रिय रिपब्लिकन कंग्रेसनल कमिटी कोष संकलन भोजमा भने ।
इरानले आयातोल्लाह अली खामेनेईको हत्यापछि मोज्तबा खामेनेईलाई सर्वोच्च नेताको रूपमा नियुक्त गरेको छ ।
तेहरानले अस्वीकार गरे पनि ट्रम्पले युद्ध अन्त्यका लागि तेहरानले वाशिङटनसँग वार्ता गरिरहेको कुरामा जोड दिए ।
‘उनीहरू वार्ता गरिरहेका छन् र सम्झौताका लागि निकै आतुर छन् तर उनीहरू यो भन्न डराइरहेका छन् किनकि उनीहरूलाई आफ्नै जनताले मारिदिने डर छ । उनीहरू हामीबाट मारिने डरमा पनि छन्,’ ट्रम्पले इरानमा भएका शृंखलाबद्ध उच्चपदस्थ हत्याहरूतर्फ संकेत गर्दै भने । त्यसले गर्दा त्यहाँ शक्ति शून्यता सिर्जना भएको छ ।
तेहरानले सार्वजनिक रूपमा अमेरिकी प्रस्तावहरूलाई अस्वीकार गरेको र मध्यपूर्व तथा विश्वव्यापी बजारलाई तहसनहस पारेको द्वन्द्व अन्त्य गर्न आफ्नै नयाँ शर्तहरू अघि सारेको भए पनि ह्वाइट हाउसले इरानसँग शान्ति वार्ता जारी रहेको कुरामा जोड दिएको छ ।
सरकारी स्वामित्वको प्रेस टिभीका अनुसार, तेहरानका शर्तहरूमा अमेरिका र इजरायलले फेरि आक्रमण नगर्ने ग्यारेन्टी, युद्धको क्षतिको क्षतिपूर्ति र हर्मुज जलयोजकमा आफ्नो अधिकारको मान्यता समावेश छ ।








प्रतिक्रिया