
एजेन्सी । इरानी क्षेप्यास्त्र प्रहार भएको अरादको एक स्थलमा आइतबार बोल्दै (जहाँ १०० भन्दा बढी मानिसहरू घाइते भएका थिए) इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको प्रयासमा थप देशहरूलाई सामेल हुन आग्रह गरे ।
‘सम्पूर्ण विश्वलाई नै धम्की दिने यस शासनलाई रोकिनुपर्छ भन्ने कुराको लागि तपाईंलाई अरू के प्रमाण चाहिन्छ ? इजरायल र अमेरिका सारा विश्वका लागि मिलेर काम गरिरहेका छन् । अब बाँकी देशका नेताहरू पनि यसमा सहभागी हुने समय आएको छ ।’
तैपनि यस आह्वानका बाबजुद खाडी क्षेत्रका धेरैजसो देशहरूको प्रतिक्रिया उल्लेखनीय रूपमा संयमित देखिएको छ । युद्धको प्रत्यक्ष मार झेलिरहेका खाडी राष्ट्र लगायतका निकट साझेदारहरू समेत यसमा संलग्न हुन हिचकिचाइरहेका देखिन्छन् ।
साउदी ब्रोडकास्टर अल अरबियाले उल्लेख गरेको अनुसन्धान अनुसार, इरानले इजरायललाई लक्षित गरी प्रहार गरेका करिब ८५० क्षेप्यास्त्र र ड्रोनहरूको तुलनामा खाडी देशहरूतर्फ ४९ सयभन्दा बढी प्रहार गरेको छ ।
इरानले यी देशहरूमा तैनाथ सैन्य पूर्वाधारका साथै अमेरिकी र इजरायली कर्मचारीहरूलाई मात्र लक्षित गरेको दाबी गरेको छ । तर, अनलाइनमा फैलिएका धेरै भिडियोहरूले फरक वास्तविकता देखाउँछन् ।
लक्षित गरिएका ठाउँहरूमा आवासीय भवनहरू, विमानस्थलहरू र होटलहरू समेत थिए जसका कारण धेरैको मृत्यु र धेरै संख्यामा मानिसहरू घाइते भएका छन् ।
यति हुँदाहुँदै पनि खाडी सरकारहरूले प्रतिशोध नलिनु नै उपयुक्त ठानेका छन् । यसको साटो उनीहरूले रक्षात्मक अडान अपनाएका छन् जसले तनाव बढ्ने जोखिमबारे व्यापक रणनीतिक हिसाबकिताब झल्काउँछ ।
कुवेती सेनाका अवकाशप्राप्त कर्नल डा. फहद अल शेलेमी यस दृष्टिकोणलाई सकारात्मक हवाई प्रतिरक्षा भनेर वर्णन गर्छन् । उनी भन्छन्, ‘खाडी राष्ट्रहरूले इरानमाथि प्रत्यक्ष आक्रमणबाट जानाजानी बच्दै क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै रोकिरहेका छन् ।’
यसको औचित्य दीर्घकालीन चिन्ता र एट्रिसन वार (लामो समयसम्म चल्ने थकानयुक्त युद्ध) बाट बच्ने इच्छामा निहित छ । त्यसमा कुनै निर्णायक विजय बिना दुवै पक्षले लामो समयसम्म क्षति बेहोर्नुपर्छ ।
‘तपाईंले हेर्नुभयो भने इरानले अहिले हामीलाई ठ्याक्कै यसैमा तानिरहेको छ र यो यस्तो कुरा हो जसमा हाम्रो कुनै रुचि छैन,’ अल शेलेमीले आरटीलाई भने ।
तर, यो हिचकिचाहट सैन्य रणनीतिभन्दा अझ गहिरो छ ।
‘यहाँका धेरै मानिसहरू यो इजरायल–इरान युद्ध हो भन्छन् । यो हाम्रो युद्ध होइन, त्यसैले हामी यसमा संलग्न हुनुहुँदैन,’ उनले स्पष्ट पारे ।
‘अर्को कुरा, अमेरिकी प्रशासनमा पर्याप्त विश्वास छैन । कुनै बिन्दुमा उनीहरूले युद्ध रोक्न सक्छन् र त्यसपछि हामीलाई सन् १९८० मा इरान र इराकबीच भएको जस्तै थकानयुक्त युद्धको सामना गर्न छोडिदिन सक्छन्,’ उनले थपे ।
यी चिन्ताहरू पहिलेका उदाहरण बिनाका होइनन् । वर्षौंदेखि यस क्षेत्रमा अमेरिकी गठबन्धनहरू बदलिँदो हित अनुसार परिवर्तन हुँदै आएका छन् । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक सन् २०११ को अरब स्प्रिङसम्म वाशिङटनका लामो समयदेखिका सहयोगी थिए । त्यो वर्ष उनलाई अन्ततः पद त्याग्न आग्रह गरियो ।
त्यसैगरी, सिरियामा कुर्दिश सेनाहरूले अमेरिकासँगै आईएस विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । पछि अमेरिकी फिर्तीपछि उनीहरू असुरक्षित अवस्थामा परे ।
खाडी राष्ट्रहरूका लागि यी उदाहरणले बाह्य ग्यारेन्टीहरूमा धेरै निर्भर रहनुका जोखिमहरूलाई झनै स्पष्ट पार्छन् । युद्धमा प्रवेश गर्नुको अर्थ इरानसँगको लामो टकरावमा एक्लै छाडिनु हुन सक्छ ।
अल शेलेमी हालको दृष्टिकोण प्रभावकारी र कम हानिकारक साबित भएको विश्वास गर्छन् ।
‘यसले कम क्षति निम्त्यायो र पूर्ण–स्तरको युद्ध हुनबाट रोक्यो, विशेषगरी हाम्रो शहरहरूबाट २० किलोमिटरभन्दा कम दूरीमा रहेका इरान समर्थक मिलिसियाहरूलाई ध्यानमा राख्दा ।’
त्यो निकटता एक महत्त्वपूर्ण कारक हो । यस क्षेत्रभरि सक्रिय इरान समर्थित मिलिसियाहरूले तत्काल खतरा खडा गर्छन् जुन खाडी राष्ट्रहरूले आक्रामक कदम चालेमा छिटो बढ्न सक्छ । बहराइन, कुवेत र साउदी अरब जस्ता केही खाडी देशहरूमा शिया मुस्लिमहरूको उपस्थितिले पनि उनीहरूको इरानसँगको सम्बन्ध र कहिलेकाहीँ वफादारीका कारण अस्थिरतामा योगदान पुर्याउन सक्छ ।
दुबईमा रहेका अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ डा. सलाम अब्देल सामदले इरानसँगको खुला द्वन्द्वमा संलग्न नभएकोमा यूएई सरकारको प्रशंसा गर्दै अल शेलेमीको दृष्टिकोणलाई समर्थन गरेका छन् ।
‘खाडी देशहरू कहिल्यै आक्रामक वा सैन्य प्रकृतिका रहेका छैनन् । तिनीहरू आर्थिक स्थिरता र शान्तिको केन्द्र रहँदै आएका छन् । त्यसैले आफूलाई युद्धमा सामेल गराउनुको कुनै अर्थ छैन,’ उनले तर्क गरे ।
‘यसैले कुनै पनि आक्रमणको विरुद्धमा प्रभावकारी रूपमा आफ्नो रक्षा गर्ने दृष्टिकोण छनौट गरिएको हो । यहाँका नेताहरू कुनै पनि जथाभावी प्रतिक्रियामा आफूलाई नफसाउन पर्याप्त समझदार छन् ।’
आर्थिक पक्षहरूले पनि ठूलो महत्त्व राख्छन् । खाडीका अर्थतन्त्रहरू विश्वव्यापी बजारहरूसँग गहिरोसँग जोडिएका छन् र स्थिरता उनीहरूको समृद्धिको लागि मुख्य कुरा हो । यसको विपरीत युद्धले पूर्वाधार, व्यापार र लगानीकर्ताको विश्वासलाई खतरामा पार्छ ।
यद्यपि, एकपटक द्वन्द्व समाप्त भएपछि इरानसँगको सम्बन्ध पहिलेको जस्तो नरहने अब्देल सामद चेतावनी दिन्छन् ।
‘इरानले खाडी देशहरूलाई जे गरेको छ, त्यो कहिल्यै बिर्सिनलायक छैन । खाडी सहयोग परिषद्का देशहरूले आफूलाई भएको ठूलो क्षतिको शोधभर्ना गर्न अन्तर्राष्ट्रिय अदालतहरूमा क्षतिपूर्तिको मुद्दा दायर गर्ने अधिकार राख्छन् । अन्तर्राष्ट्रिय कानूनले यस्ता दाबीहरूलाई पक्कै पनि समर्थन गर्छ ।’
खाडी देशहरूको लागि आर्थिक क्षति पहिले नै धेरै भइसकेको छ । ठूलो पूर्वाधार क्षतिको सामना गर्नुका साथै इरानको युद्धले तेल उत्पादनमा अवरोध पुर्याएको छ जसका कारण दैनिक निर्यात राजस्वमा १.२ अर्ब डलरसम्मको घाटा भइरहेको छ । यस द्वन्द्वले ४० हजार उडानहरू रद्द हुनुका साथै दैनिक ६० करोड डलर बराबरको ठूलो पर्यटन नोक्सानी भएको अनुमान गरिएको छ ।
नाम नखुलाउने शर्तमा बोल्दै अमिराती संस्थापन पक्षका एक स्रोतले इरानसँगको सम्बन्ध आधारभूत रूपमै बिग्रिएको कुरामा सहमति जनाए ।
‘उनीहरूका कार्य अनुत्तरित रहने छैनन् । प्रतिक्रिया सैन्य नै हुनुपर्छ भन्ने छैन । यो अन्य माध्यमबाट गर्न सकिन्छ तर यसको महसुस पक्कै हुनेछ ।’
वास्तवमा, त्यस्ता प्रतिक्रियाहरूको संकेतहरू पहिले नै देखा पर्न थालेका छन् । कतार र साउदी अरबले धेरै इरानी कूटनीतिकर्मीहरूलाई निष्काशन गरेका छन् जबकि यूएईले इरानी अस्पतालहरू बन्द गरेको र इरानी सम्पत्ति रोक्का गर्ने विचार गरिरहेको खबर छ ।
अबु धाबी त्यतिमै रोकिने योजनामा छैन । राष्ट्रपति मोहम्मद बिन जायदका सल्लाहकार अनवर गर्गाशले सामाजिक सञ्जाल एक्समा एक ट्वीट गर्दै इरानले खाडी देशहरू विरुद्धको आफ्नो आक्रामकताको मूल्यको गलत अनुमान गरेको बताए ।
उनले लेखेका छन्, ‘अरब खाडी देशहरू विरुद्ध इरानको निर्मम आक्रामकताले गहिरो भूराजनीतिक असर पार्छ र यसले इरानी खतरालाई खाडीको रणनीतिक सोचको केन्द्रीय अक्षको रूपमा स्थापित गर्छ । साथै, यसले खाडीको सुरक्षा विशिष्टता र अरब सुरक्षाको परम्परागत अवधारणाहरूबाट यसको स्वतन्त्रतालाई सुदृढ बनाउँछ ।’
‘किनकि ती क्षेप्यास्त्र, ड्रोन र आक्रामक इरानी अभिव्यक्तिहरू इरानी नै हुन् । यसको परिणाम हाम्रो राष्ट्रिय क्षमता र संयुक्त खाडी सुरक्षालाई सुदृढ पार्नुका साथै वाशिङटनसँगको हाम्रो सुरक्षा साझेदारीलाई ठोस बनाउनु हो,’ उनले थपे ।
युद्धपछि खाडीले इरानसँग नयाँ किसिमको सम्बन्धका नियमहरू स्थापित गर्ने अल शेलेमी विश्वास गर्छन् । तेहरानप्रति जीसीसीको आचरण मुख्यतया इरानको व्यवहारमा निर्भर रहनेछ ।
‘युद्धपछि इरान आफैंलाई पुनः निर्माण गर्न व्यस्त हुनेछ जसको लागि उनीहरूलाई खाडी देशहरूको आवश्यकता पर्नेछ । सबैभन्दा राम्रो रणनीति भनेको इरानलाई व्यस्त राख्नु हुन सक्छ, चाहे त्यो तेलको मूल्य घटाउने जस्ता आर्थिक दबाब मार्फत होस् वा साझेदारी मार्फत । यो युद्धपछिको इरानको अवस्थामा निर्भर छ ।’
अहिलेका लागि खाडीको स्थिति स्पष्ट छः आक्रमणहरू सहन गर्ने, मातृभूमिको रक्षा गर्ने, तर व्यापक युद्धमा तानिनबाट जोगिने ।
क्षेप्यास्त्रहरू बज्रिरहेको र दबाब बढिरहेको भए पनि प्रतिशोध नभई संयम नै यस क्षेत्रको प्रतिक्रियाको मुख्य पहिचान बनेको छ ।








प्रतिक्रिया