
भारतीय लेखिका मेघा मजुमदारको अंग्रेजी उपन्यास ‘ए गार्डियन एन्ड ए थिफ’ ले आधुनिक समयको सबभन्दा ठूलो संकटका रूपमा रहेको जलवायु परिवर्तन र विश्व तापक्रमको वृद्धिलाई पृष्ठभूमि बनाएर मानवीय संवेदनशीलता एवम् अस्तित्वको गहिरो अध्ययन गरेको छ ।
उपन्यासमा भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाताको काल्पनिक तर यथार्थपरक परिवेश देखाइएको छ । त्यहाँ अभाव, अनिश्चितता र सामाजिक पतनले सामान्य जनजीवनलाई आक्रान्त बनाएको छ ।
लेखिकाले समग्र शहर क्रमशः विघटन हुँदै गएको सन्दर्भमा केही पात्रहरूको व्यक्तिगत कथा प्रस्तुत गरेकी छन् । कथा मुख्यतया माँ (आमा) र उनको परिवार तथा बुम्बा नामक एक युवाको वरिपरि घुमेको छ ।
नैतिक अस्पष्टता उपन्यासको सबभन्दा बलियो पक्ष हो । सामान्यतया साहित्यमा नायक र खलनायक स्पष्ट हुन्छन् तर उपन्यासमा कोही कुनै पनि पात्र श्यामश्वेत तरिकाले प्रस्तुत गरिएको छैन । प्रत्येक पात्रमा चारित्रिक कमजोरी पनि छ, कमजोरीबाट माथि उठ्न सक्ने क्षमता पनि छ ।
माँ गरीबगुरुवा र असहायका लागि बनाइएको आश्रयस्थलकी व्यवस्थापक हुन् । त्यहाँ उनी बालबालिकाको हेरचाह गर्छिन् । तर, उनी आश्रयस्थलका लागि आएका दानहरूबाट खानेकुरा र अन्य वस्तुहरू चोर्ने गर्छिन् । चोरेको खानेकुरा उनी बजारमा बेच्ने गर्दिनन् । उनका वृद्ध ससुरा (दादु) र दुई वर्षीया छोरी (मिष्टी) लाई त्यो खानेकुरा उनी उपलब्ध गराउँछिन् ।
अर्कोतर्फ बुम्बा भन्ने पात्र छ । ऊ माँले व्यवस्थापन गरेको आश्रयस्थलमा बस्छ । खाद्यान्नको अभावमा भोकले छटपटिएको बुम्बा माँले चोरी गरेको देखेपछि आफू पनि चोरी गर्ने सोच बनाउँछ । चोर्नका लागि ऊ माँकै घर पुग्छ ।
यी दुई प्रमुख पात्रहरूको गतिविधिले एउटा प्रश्न खडा गर्छ । के भोको मान्छे नैतिक हुन सक्छ ? समाज भोकको संघारमा पुग्दा बाँच्नका लागि गरिने संघर्षले परम्परागत नैतिकतालाई कसरी भत्काउँछ भन्ने यस उपन्यासको मुख्य मर्म हो ।
बढी खानेकुरा थुपार्ने कामले उपन्यासका पात्रहरूलाई आक्रामक बनाएको देखाइएको छ । दादु र शान्तो भन्ने पात्र जम्माखोरीका कारण आक्रोशित बनेर आक्रमणमा उत्रिएको घटनाक्रम देखाएर लेखिकाले मानिसको स्वार्थी प्रवृत्तिमाथि व्यंग्य कसेकी छन् ।
यो उपन्यास वर्गसंघर्षको कथा पनि हो तर त्यसलाई एकदमै सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । यहाँ धनी र गरिबको मात्र लडाइँ छैन । यसमा त गरिब र अझ बढी गरिब बीचको लडाइँ छ ।
धनीहरू नदीको बीचमा बनाइएको ‘फ्लोटिङ हेक्सागन’ नामक विलासी महलमा सुरक्षित छन् । उनीहरूको विलासी जीवनमा कुनै संकट आइपरेको छैन । उनीहरूले कहिलेकाहीँ गरिबहरूलाई गर्ने दान पनि वास्तवमा आफ्नो सामाजिक छवि सुधार्नका लागि गरिएको देखावटी कर्म मात्र हो । धनीहरूले आयोजना गरेको भोज पनि गरिबहरूको ज्यान जाने अशुभ घटनाक्रममा परिणत भएको उपन्यासमा देखाइएको छ ।
जीवनको वास्तविक संघर्ष त बुम्बा जस्ता युवाहरूले गरिरहेका छन् । उनीहरू दुईछाक हातमुख जोर्नका लागि शहरमा संघर्ष गरिरहेका छन् । गाउँको दरिद्र जीवनबाट उम्केर शहरमा आउँदा पनि संघर्षले बुम्बालाई पिछा छोड्दैन । माँ जस्ता मध्यमवर्गीय मानिसहरू चाहिँ विदेश पलायन भएर जीवनको भयावह यथार्थबाट उम्कन चाहन्छन् ।
उपन्यासमा माँको अमेरिका जाने सपना र त्यसलाई साकार पार्नका लागि उनले गर्नुपरेको संघर्ष प्रमुख घटनाका रूपमा रहेको छ । माँको परिवार कोलकातामा अब बाँच्न नसकिने निष्कर्षमा पुगेको हुन्छ । माँका पति अमेरिकाको मिशिगनमा काम गर्छन् र आफ्नो परिवारलाई जलवायु शरणार्थीको भिसामा ल्याउन खोजिरहेका हुन्छन् ।
दादुलाई अमेरिका जानु भनेको आफ्नो पहिचान गुमाउनु हो जस्तो लाग्छ । कोलकातामा उनी पत्रिकामा लेखहरू लेख्ने सम्मानित व्यक्ति हुन् । तर, अमेरिकामा उनी एक अपरिचित वृद्ध मात्र हुनेछन् । दादुको मनमा उठेको भाव आप्रवासीहरूले महसुस गर्ने भित्री द्वन्द्वलाई उजागर गर्छ । आप्रवासीहरूका लागि आफ्नो थातथलो छोड्नु एक प्रकारको उद्धार हो कि स्वत्वको विनाश हो ? पाठकको मनमा यस्तो प्रश्न उठ्छ ।
माँको घरमा गएर चोरी गर्ने क्रममा बुम्बाले माँ, दादु र मिष्टीको भिसा लागेको पासपोर्ट पनि लगिदिन्छ । त्यो पासपोर्ट फिर्ता पाउनका लागि माँले गरेको दुःखले उपन्यासलाई गति दिन्छ ।
प्रहरी चौकीमा माँको पीडाप्रति प्रहरीले देखाएको उदासीनताले राज्यको असफलतालाई उजागर गर्छ । प्रहरी अधिकृतहरू जनताको सुरक्षा गर्न छाडेर मोबाइलमा गेम खेलेर बस्छन् र उनीहरूलाई सर्वसाधारणको पासपोर्ट र खाद्यान्नको कुनै चिन्ता छैन । उनीहरू उल्टो नागरिकहरूलाई नै शंकाको दृष्टिले हेर्छन् ।
पासपोर्ट हराएपछि पुनः भिसा लिने प्रक्रिया बुझ्नका लागि अमेरिकी दूतावास जाँदा त्यहाँकी कर्मचारीले माँ र दादुको मानवीय पुकारलाई बेवास्ता गर्दै नियमको डन्डा देखाउँछिन् । तर, दादु लेखक भएको थाहा पाएपछि बदनामीको डरले उनी उपाय पनि सुझाउँछिन् । जे होस्, सिस्टमको नजरमा आम मानिसहरू कागजात र तथ्यांक मात्र बन्न पुगेको कुरालाई उपन्यासले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
माँ र दादुले हराएको पासपोर्ट खोज्नका लागि गरेको प्रयासमा शहरको गल्लीहरूमा घुम्दा मानवीय संवेदनशीलता मर्न थालेको अनुभव गर्छन् । शहरमा मानिसहरू एक–अर्काप्रति अविश्वास गर्न थालेका छन् । कोही पनि कसैलाई मद्दत गर्न चाहँदैन किनकि सबैलाई आफू लुटिने र मरिने डर छ । दादु पुरानो शहरको आत्मीयतालाई सम्झेर भावुक हुन्छन् भने माँँका लागि शहरप्रति निःस्पृह भाव छ ।
उपन्यासभरि बाढी, खडेरी, रोगव्याधि र तापमान वृद्धिको अप्रत्यक्ष तर निरन्तर उपस्थिति छ । त्यसले कोलकातालाई कठोर स्थानमा परिणत गरिरहेको छ । कोलकाताको गर्मीका कारण नै मानिसहरू बढी आक्रामक भएको अनुभूति हुन्छ । वास्तवमा यो उपन्यास ‘लघु–आक्रामकता’हरूको शृंखला नै हो ।
कथा पढ्दै जाँदा बोङ जून होले निर्देशन गरेको प्रख्यात दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’को याद आउँछ । फिल्ममा वर्गसंघर्षको डाइकोटोमी स्पष्ट रूपमा देखाइएको छ भने यस उपन्यासमा चाहिँ त्यसलाई ‘शेड अफ ग्रे’ मा प्रस्तुत गरिएको छ । उपन्यासको त्रासद अन्त्यका लागि बुनिएका घटनाक्रमहरू मर्मस्पर्शी छन् ।
प्रत्येक पात्रको विस्तृत पृष्ठभूमि प्रस्तुत गरी लेखिकाले उनीहरूको क्रियाकलापलाई जस्टिफाई गरेकी छन् । पात्र निर्माणमा यस्तो गहनताले गर्दा तिनको विश्वसनीयता कायम भएको छ । मजुमदारले दक्ष रूपमा परिस्थितिको चित्रण गरेकाले पाठकलाई त्रुटिपूर्ण पात्रहरूसँग रिस उठ्नुको साटो उनीहरूप्रति गहिरो सहानुभूति जाग्न थाल्छ ।
कथाको सबभन्दा ठूलो शक्ति पात्रहरूको मनमा चलिरहेको विचारहरूमा देखिन्छ । तेस्रो–पुरुषको नजरबाट लेखिए पनि कथाले पात्रहरूको मनभित्रको द्वन्द्वलाई सीधै पाठकसम्म पुर्याउँछ । विशेषगरी, माँको अन्तिम आत्मचिन्तन र दादुको आफ्नो विगतको सम्झना पढ्दा लाग्छ पाठकलाई उनीहरूको दिमागभित्रै विचरण गरिरहेको अनुभूति हुन्छ ।
संवादहरू पनि एकदमै स्वाभाविक छन् । विशेषगरी, मिष्टीले फ्लावरफ्लावर (काउली) का लागि गरेको जिद्दीले भयानक अभावको बीचमा पनि एउटा अबोध बाल्यकालको मिठासलाई बचाएर राखेको छ ।
मेघा मजुमदारको लेखनशैली काव्यात्मक र संवेदनशील छ । उनको भाषाले पाठकलाई पाँचै इन्द्रियहरूमार्फत कोलकाताको अनुभव गराउँछ । फोहोरको डंगुर, गाडीहरूको चर्को कोलाहल, गर्मीको राप र पसिनाको दुर्गन्धलाई उनले सटीक रूपमा वर्णन गरेकाले पाठक त्यो गर्मी र छटपटी आफैंले महसुस गर्न सक्छ । यसले जलवायु संकटको स्थितिमा वातावरणको वर्णनलाई जीवन्त बनाउँछ ।
उपन्यासले जम्मा एक साताको घटनाक्रमलाई प्रस्तुत गरेको छ । एक सामान्य दिनका साना–साना घटनाहरूलाई सिनेमाको दृश्य जस्तै गरी देखाइएको छ । प्रत्येक खण्डमा तनावले नयाँ मोड लिन्छ ।
हराएका पासपोर्टहरू खोज्नका लागि गरिएको प्रयासमार्फत मानवीयताको पतनको कथा बताउन सक्नु लेखिकाको प्रशंसनीय शक्ति हो । सम्पूर्ण समाज भोक र अभावको चपेटामा पर्दा मानवीयता कायम रहन्छ कि रहँदैन ? यस प्रश्नले पाठकलाई सोच्न बाध्य बनाउँछ ।
माँ र बुम्बा दुवैजना एउटै प्रणालीका शिकार हुन् । बुम्बाले चोरी गर्दा ऊ अपराधी ठहरिन्छ तर माँले चोरी गर्दा त्यो ममता बन्छ । यही दोहोरो मापदण्ड र मानवीय द्वन्द्वलाई लेखिकाले अत्यन्तै सूक्ष्मता र कलात्मकताका साथ प्रस्तुत गरेकी छन् ।
उपन्यासको शैली सरल छ तर यसले बोकेको दार्शनिक गहिराइले पाठकको मनमा लामो समयसम्म प्रभाव पार्छ ।








प्रतिक्रिया