
काठमाडौं । आज शुक्रबार अपरान्हदेखि नेपालमा पश्चिमबाट वर्षा गराउने प्रणाली प्रवेश गर्ने गर्दैछ ।
यो प्रणालीको प्रभावले दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्चपहाडी तथा हिमालीक्षेत्रमा मध्यमवर्षा तथा हिमपात हुने सम्भावना छ।
त्यसैगरी बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमी गतिविधिका कारण साँझतिर केही वर्षा हुनसक्छ। साँझ ढल्दै जाँदा धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रित भई मध्यम वर्षा हुने अनुमान छ।
काठमाडौं उपत्यकामा पनि साँझ हल्कादेखि मध्यमवर्षाको सम्भावना छ र राती पनि केहिबेर वर्षा हुनेछ । विशेषगरी मण्डनदेउपुर–नगरकोट क्षेत्रमा केही बढी वर्षा हुनसक्छ (तर बाढी–पहिरोको जोखिम न्यून छ)।
आज राति करिब ११ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भागमा ४–५ घण्टासम्म वर्षा हुनसक्ने सम्भावना छ।
सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा अपेक्षाकृत बढी वर्षा हुनेहुँदा नदीको सतह केही बढ्नसक्ने र सामान्य भूक्षय वा सानो पहिरो जान सक्ने देखिन्छ।
यसै समयमा कपिलवस्तु र रुपन्देही आसपासक्षेत्रमा पनि २–४ घण्टा भारी वर्षा हुन सक्छ। शनिबार बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्नेछ । जसले मेची–कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा २–४ घण्टा भारी वर्षा गराउन सक्छ।
शुक्रबार साँझदेखि शनिबार अपरान्हसम्म पश्चिमबाट पूर्वतर्फ सर्ने यस प्रणालीले देशभर वर्षा गराउनेछ। अधिकांश स्थानमा वर्षा सामान्य रहने भएकाले धेरै आत्तिनुपर्ने अवस्था छैन, तर ‘सामान्य हावाहुरी’ कुनै पनि समय आउनसक्ने भएका ले सावधानी आवश्यक छ।
शुक्रबार अपरान्हदेखि शनिबार बिहानसम्म पहाडी राजमार्ग तथा हिमाली क्षेत्रमा सकेसम्म पदयात्रा नगरेको राम्रो हुने मौसमबिद्को सुझाव छ ।









प्रतिक्रिया