लुकाइएको श्रीराम ब्राण्डको ६ हजार ३७७ ग्यास भेटियो, सरकारले गर्यो ३ लाख जरिवाना


काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ललितपुरस्थित हरिसिद्धिमा एक ग्यास कम्पनीको मुख्य गोदाममा छापा मारेर ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागका प्रवक्ता तथा निर्देशक नरहरी तिवारीका अनुसार बजारमा खाना पकाउने ग्यासको हाहाकार भइरहँदा श्रीराम ग्यास उद्योगको हरिसिद्धिस्थित मुख्य गोदाममा लुकाएर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान भरिएको सिलिण्डर फेला पारिएको छ ।

सर्वसाधारणले ग्यास साट्न जाँदा छैन भनेर फर्काउने गोदामका सञ्चालनले ठूलो परिणाममा भरिएको सिलिण्डर फेला पारेका थिए । तिवारीका अनुसार आम उपभोक्ताबाट प्राप्त भएको सूचनाको आधारमा छापा मारिएको थियो ।

बजारमा ग्यासको हाहाकार भइरहेको अवस्थामा अनावश्यक रुपमा लुकाएर भण्डारण गरेको अभियोगमा उपभोक्ता संरक्षण ऐनअनुसार गोदाम सञ्चालकबाट अधिकतम ३ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

विभागले उक्त सिलिण्डर आफ्नो नियन्त्रणमा लिएको छ । विभागले उक्त सिलिण्डर नेपाल आयल निगममार्फत बितरण गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ ।