ग्यास सिलिन्डर लुकाउने बिक्रेताबाट ५० हजार जरिवाना


कास्की । कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका-६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि सो कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, स्थानीय जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका पाँच ग्यास डिलरको अनुगमन गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिवाना गरिएको बताए।

अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्नसमेत निर्देशन दिएको छ।

प्रशासनको अग्रसरतामा आजै बसेको सरोकारवालाको समन्वय बैठकले एलपी ग्यासको बिक्रीवितरणलाई व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ।

प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्रीवितरण गर्न र बोतल वा जर्किनमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्नसमेत आग्रह गरेको छ।

प्रशासनले ज्येष्ठ नागरिक, पूर्ण रूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन विक्रेतालाई आग्रह गरेको छ।