‘इक्लिप्सिङ द वेस्ट’ : नयाँ विश्व व्यवस्थामा चीन र भारतको सामर्थ्य वर्णन

56
Shares

काठमाडौं । विश्व व्यवस्था परिवर्तन भएर शक्ति क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ । पूर्वमा पनि चीन र भारत जस्ता विशाल देशहरूले नयाँ व्यवस्थालाई आकार दिनका लागि प्रयास गरिरहेका छन् ।

यही विषयलाई वर्णन गर्दै भिन्स केबलले ‘इक्लिप्सिङ द वेस्ट: चाइना, इन्डिया एन्ड र फोर्जिङ अफ ए न्यु वर्ल्ड’ शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । पुस्तकमा विश्वव्यापी शक्तिमा आइरहेको ठूलो परिवर्तनको तथ्यांकमा आधारित विश्लेषण प्रस्तुत गरिएको छ ।

शेल कम्पनीका पूर्व मुख्य अर्थशास्त्री र बेलायतका वरिष्ठ मन्त्री समेत रहिसकेका केबलले यस विषयमा कर्पोरेट परिदृश्य योजना र राजनीतिक यथार्थवादको अनौठो मिश्रण प्रस्तुत गरेका छन् । पश्चिमी र विशेषगरी अमेरिकी आधिपत्यको युग अन्त्य हुँदैछ र त्यसको ठाउँमा तीनवटा सुपरस्टेटको वर्चस्व भएको विश्वको उदय हुँदैछ भन्ने पुस्तकको केन्द्रीय तर्क छ । तीन सुपरस्टेटहरू अमेरिका, चीन र भारत हुन् ।

लगभग ४०० पृष्ठको पुस्तकमा निहित गहन विश्लेषणले २१औं शताब्दी बुझ्नको लागि मार्गचित्रको रूपमा काम गर्छ । केबलले साधारण हेडलाइनहरू भन्दा माथि उठ्दै एसियाका दुई विशाल राष्ट्रहरूलाई विश्वव्यापी प्रभुत्व कायम गर्नका लागि जिम्मेवार आर्थिक, राजनीतिक र सामाजिक सञ्चालक शक्तिहरूको खोजी गरेका छन् ।

केबलले पुस्तकमा महाशक्ति (सुपरपावर) र सुपरस्टेट बीचको भिन्नता छुट्याएका छन् । महाशक्ति शीतयुद्धकालीन शब्द हो । आणविक हतियार र विश्वव्यापी सैन्य पहुँच भएको मुलुकलाई महाशक्ति भनी परिभाषित गरिएको थियो । तर, सुपरस्टेट विशाल आकार, जनसंख्याको विविधता र प्रभुत्वशाली आर्थिक क्षमताद्वारा परिभाषित हुन्छ ।

चीन र भारत दुवैको जनसंख्या १.४ अर्ब पुगेको छ र उनीहरूले विश्वको कुल जनसंख्याको ३६ प्रतिशत ओगट्छन् । उनीहरू पश्चिमले बेवास्ता गर्न वा घेराबन्दी गर्न नसक्ने स्तरमा पुगेको केबलको तर्क छ । उनीहरूसँग एकीकृत आन्तरिक बजार, आफ्नै मुद्रा र विशाल श्रमशक्ति छ ।

त्यसले उनीहरूलाई अफ्रिका वा युरोपेली संघ जस्ता विभाजित क्षेत्रहरू भन्दा स्वाभाविक रूपमा बढी लाभदायक स्थानमा राख्छ । सन् २०५० सम्ममा अमेरिका सहितका यी सुपरस्टेटहरू विश्व अर्थतन्त्र, वैज्ञानिक खोज र वातावरणीय नीतिका मुख्य संवाहक हुने केबलले उल्लेख गरेका छन् ।

केबलले चीन र भारतको आर्थिक मार्गहरू वर्णन गर्न पश्चिमको प्रसिद्ध नीतिकथा ईसोप्स फेबल्सको रूपक प्रयोग गरेका छन् । चीन खरायो हो र उसले तङ स्याओपिङको सुधारपछि चार दशकसम्म करिब १० प्रतिशतको विस्फोटक वृद्धि हासिल गरेको थियो । ऊ विश्वको कारखाना बन्यो र करोडौं मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्यो ।

तर, अहिले यो खरायोको गति घट्दै गएको केबलले उल्लेख गरेका छन् । चीनले पुँजीवादको संकट (घरजग्गा व्यवसायका कारण आएको आर्थिक मन्दी) र साम्यवादको संकट (राज्यको कठोर नियन्त्रणले गर्दा नवीनताको दमन) को सामना गरिरहेको छ । काम गर्ने उमेरका मानिसको संख्या घट्दै गएको र पूर्वाधार लगानीमा प्रतिफल घट्दै गएकोले चीनको तीव्र वृद्धिको समय अब सकिएको छ ।

केबलका अनुसार, भारत कछुवा हो । विकासपथमा उसको यात्रा ढिलो गरी सुरु भयो । सन् १९९१ मा भारतले गरेको आर्थिक सुधार चीनको भन्दा एक दशक ढिलो गरी आयो । उसको आर्थिक वृद्धि सुस्त रह्यो । तैपनि कछुवा अहिले छिटो दौडिरहेको केबलको तर्क छ ।

भारतसँग जनसांख्यिकीय लाभ (डेमोग्राफिक डिभिडेन्ड) अर्थात् युवा र बढ्दो जनसंख्या छ । साथै, सेवा क्षेत्र र सूचना प्रविधिमा तुलनात्मक लाभ छ । केबल भारतप्रति सावधानीपूर्वक आशावादी छन् । तर, उनले भारतको एउटा ठूलो कमजोरी पहिचान गरेका छन् ।

त्यो कमजोरी रोजगारी बिनाको वृद्धि हो । चीनको विपरीत भारतले आफ्नो अदक्ष जनशक्तिलाई रोजगारी दिन ठूलो उत्पादन क्षेत्र विकास गर्न सकेको छैन । त्यसले गर्दा लाखौं मानिस ग्रामीण कृषिका साथै अनौपचारिक श्रममा सीमित छन् ।

पुस्तकको महत्त्वपूर्ण भाग यी दुई ठूला देशहरूको राजनीतिक संरचनाहरूको तुलना गर्नमा केन्द्रित छ । केबलले अरू पश्चिमा विश्लेषक जस्तो राम्रो लोकतन्त्र (भारत) विरुद्ध नराम्रो तानाशाही (चीन) को सपाट चित्रण गरेका छैनन् । त्यसको साटो उनले दुवै देशलाई राज्य पुँजीवाद (स्टेट क्यापिटलिजम) उपयोग गर्ने मुलुकका रूपमा चित्रण गरेका छन् । यस मोडलमा शक्तिशाली राज्यले ठूलो निजी क्षेत्रमा भारी हस्तक्षेप गर्छ ।

लेखकले सी जिनपिङ र नरेन्द्र मोदीको विश्लेषणमा उदेकलाग्दो समानता देखाएका छन् । दुवै शक्तिशाली नेता हुन् जसले आफूमा शक्ति केन्द्रित गरेका छन् र व्यक्तिगत पूजाको संस्कृति निर्माण गरेका छन् ।

चीनमा सीले व्यापक राष्ट्रिय सुरक्षातर्फ कदम चालेका छन् । त्यहाँ आर्थिक दक्षता भन्दा पार्टीको नियन्त्रणलाई प्राथमिकता दिइएको छ । उनको साझा समृद्धि एजेन्डाले ज्याक मा जस्ता प्रविधि अर्बपतिहरूलाई नियन्त्रणमा लिएको छ जसले नाफा भन्दा राजनीतिक वफादारी महत्त्वपूर्ण रहेको सन्देश दिएको छ ।

भारतमा मोदीले न्यायपालिका र सञ्चारमाध्यम जस्ता स्वतन्त्र संस्थाहरूको स्वायत्ततालाई क्षयीकरण गरिरहेका छन् । केबलले हिन्दुत्वको वैचारिक ग्लुलाई हाइलाइट गरेका छन् । उनका अनुसार, त्यसले राष्ट्रिय पहिचानको भावना त दिन्छ तर भारतको धर्मनिरपेक्ष र बहुलवादी परम्परालाई जोखिममा पार्छ ।

केबलको आलोचना सन्तुलित छ । चीनको तानाशाहीले पूर्वाधार निर्माणमा निर्मम निर्णय क्षमता प्रदान गरेको जबकि भारतको अव्यवस्थित लोकतन्त्र धेरैजसो अवस्थामा नीतिगत पक्षाघातमा परिणत भएको उनी स्वीकार गर्छन् । तर, सी र मोदी दुवैले शक्तिशाली नेताबाट हुने गल्ती गर्ने जोखिम छ । जस्तै, मोदीले अचानक लिएको डिमोनिटाइजेशको निर्णय र सीको जिरो कोभिड नीतिबाट अव्यवस्थित किसिमको बहिर्गमनले मानवीय पीडा निम्त्याएको थियो ।

केबलले भविष्यको विश्वव्यापी द्वन्द्वको जोखिमलाई व्याख्या गर्न दुईवटा अवधारणाहरू पुस्तकमा उल्लेख गरेका छन् । पहिलो हो थुसिडाइड्स ट्य्राप । अमेरिकी राजनीतिशास्त्री ग्राहम एलिसनद्वारा प्रतिपादित यस अवधारणाले उदीयमान शक्ति (चीन) ले ह्रास हुँदै गरेको शक्ति (अमेरिका) लाई विस्थापित गर्ने स्थिति आउँदा हुने द्वन्द्वको जोखिमलाई वर्णन गर्छ ।

अमेरिकामा चीनलाई दबाएर राख्ने विषयमा दुवै दलबीच राजनीतिक सहमति बनेको छ । त्यसले गर्दा चिप युद्ध, व्यापार प्रतिबन्ध र नयाँ शीतयुद्धको मानसिकता निम्त्याएको केबलले पुस्तकमा उल्लेख गरेका छन् ।

दोस्रो अवधारणा किन्डलबर्गर ट्य्राप हो । यस विषयमा केबलले अलि बढी चिन्ता व्यक्त गरेका छन् । मार्सल प्लानका योजनाकार किन्डलबर्गरको नाममा राखिएको यस पासोले त्यस्तो अवस्थालाई वर्णन गर्छ जहाँ ह्रास हुँदै गरेको शक्ति (अमेरिका) अब स्थिर व्यापार प्रणाली वा जलवायु नेतृत्व जस्ता विश्वव्यापी सार्वजनिक वस्तु (ग्लोबल पब्लिक गूड्स) प्रदान गर्न इच्छुक छैन र उदीयमान शक्ति (चीन) अझै त्यो जिम्मेवारी लिन तयार छैन ।

यसको परिणामस्वरूप नेतृत्वको शून्यता छाउँछ । विश्व हाल यही पासोमा अड्किएको केबलको तर्क छ । अहिले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था भत्किरहेको छ किनभने अमेरिका र चीन दुवै यसप्रति पूर्ण रूपमा प्रतिबद्ध छैनन् ।

चीन र भारतले विविध क्षेत्रमा चाल्ने कदमहरूले पृथ्वीको भविष्य निर्धारण गर्ने केबल लेख्छन् । विशेषगरी केबलले तीनवटा क्षेत्रहरूको पहिचान गरेका छन् ः जलवायु परिवर्तन, आर्थिक व्यवस्था र साझा सुरक्षा ।

जलवायुका विषयमा केबल यथार्थवादी छन् । चीन र भारत विश्वको सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशहरू हुन् तर उनीहरू नवीकरणीय प्रविधिमा पनि विश्वका अग्रणी हुन् । चीनले विश्वको ६५ प्रतिशत सौर्य क्षमता उत्पादन गर्छ ।

केबलले उत्सर्जनको बारेमा पश्चिमी देशहरूले दिने अर्ती उपदेशलाई पाखण्डको संज्ञा दिएका छन् किनकि वायुमण्डलमा रहेको ऐतिहासिक कार्बनको ठूलो हिस्साका लागि पश्चिम नै जिम्मेवार छ । जलवायु परिवर्तनको कुनै पनि समाधानमा एसियाली सुपरस्टेटहरूको विकासको आवश्यकतालाई सम्मान गर्ने ठूलो सम्झौता हुनुपर्छ भनी उनी तर्क गर्छन् ।

सुरक्षा विषयमा केबलले चीन र भारतलाई फ्रेनिमिज (साथी र शत्रु दुवै) को रूपमा वर्णन गर्नुभएको छ । उनीहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको सुधार गर्न र अमेरिकी प्रतिबन्धहरूबाट बच्न विश्व अर्थतन्त्रलाई डिडलराइज (डलरको प्रयोग घटाउने) गर्न चाहन्छन् ।

तर, उनीहरू २१ सय माइल लामो विवादित सिमानाद्वारा विभाजित छन् । सन् २०२० मा भएको गलवान उपत्यकाको झडपमा सैनिकहरू पूर्व सहमति अनुसार र आणविक तनाव बढ्न नदिन लट्ठी र ढुंगाका साथ लडेका थिए । त्यसबाट चिसिएको सम्बन्ध अहिले केही न्यानो बन्दै गएको छ । यो तातो शान्तिको उदाहरण हो ।

दुवै देशले हाल (रुस र पश्चिम दुवैसँग सम्बन्ध कायम राख्दै) बहुसंलग्नताको नीति अंगीकार गरिरहेको भए पनि सिमाना वा ताइवानमा हुने एउटा सानो गल्तीले विश्वव्यापी विपत्ति निम्त्याउन सक्ने केबलले पुस्तकमा चेतावनी दिएका छन् ।

आफ्ना अन्तिम अध्यायहरूमा केबलले नयाँ संसार कसरी विकसित हुन सक्छ भन्ने विषयमा तीनवटा परिदृश्यहरू प्रस्तुत गरेका छन् । पहिलो परिदृश्यमा विश्वव्यापी पश्चिमको हैकम रहनेछ । यसमा अमेरिकाले चीनलाई रोक्न आफ्ना लोकतान्त्रिक सहयोगीहरूलाई (जसमा हिचकिचाइरहेको भारत पनि समावेश छ) सफलतापूर्वक एकजुट गर्छ । केबलले यसलाई असम्भव ठानेका छन् किनकि धेरैजसो ग्लोबल साउथका देशहरू कुनै एक पक्ष रोज्न अस्वीकार गर्छन् ।

दोस्रो परिदृश्यमा लेनदेनमा आधारित, प्रभाव क्षेत्रहरूमा विभाजित र टुक्रिएको बहुध्रुवीय विश्व छ । यस परिदृश्यमा विश्वव्यापी नियमहरूलाई बेवास्ता गरिन्छ, संरक्षणवाद बढ्छ र जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्याहरूलाई बेवास्ता गरिन्छ । केबलले यसलाई सबैभन्दा सम्भावित तर निकै खतरनाक बाटोको रूपमा हेरेका छन् ।

तेस्रो परिदृश्यमा विपत्तिबाट बहुपक्षीयतातर्फको यात्रा छ । कुनै ठूलो विश्वव्यापी झट्का, शायद कुनै भयानक जलवायु घटना वा सीमित दायराको आणविक द्वन्द्व, ले यी तीन सुपरस्टेटहरूलाई बाँच्नको लागि एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने महसुस गराउँछ । यो लेखकको आशावादिता हो । तर, यस्तो आशाको आधार झिनो रहेको उनी स्वीकार गर्छन् ।

पुस्तकमा नेपालको पनि संक्षिप्त चर्चा गरिएको छ । एसियाका दुई महाशक्तिको बीचमा रहेको नेपालले चिन्तित हुँदै तटस्थताको नीति अँगालिरहेको केबल लेख्छन् । भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने, सूक्ष्म व्यवस्थापनको प्रयास गर्ने र दबाबमूलक नाकाबन्दी गर्ने काम गरेर नेपालीहरूलाई चिढ्याएको पुस्तकमा उल्लेख गरिएको छ ।

भारतप्रतिको नेपाली संशयलाई चीनले आफ्नो उपस्थिति बढाउने माध्यमका रूपमा लिइरहेको र नेपालका कम्युनिस्ट पार्टीहरूसँग सम्बन्ध गहिरो बनाएको केबल लेख्छन् । चीनले नेपाललाई सैन्य उपकरण उपलब्ध गराएर तथा संयुक्त सैन्य अभ्यास गरेर उल्लेख्य उपस्थिति बढाएको छ ।

बीआरआई परियोजनाका साथै सन् २०१९ मा सी चिनपिङको भ्रमणसँगै चीनको व्यापार मार्गमा नेपालको पहुँच बढेको उनी लेख्छन् । तर, भारतले नेपालमा चीनको उपस्थितिलाई आफूमाथिको सुरक्षा जोखिमका रूपमा हेर्ने गरेको उनले उल्लेख गरेका छन् । उनले यसमा थप विश्लेषण गरेको भए हुन्थ्यो जस्तो पाठकलाई लाग्छ ।

केबलको लेखनशैली अत्यन्त सरल र स्पष्ट छ । उनले कुल कारक उत्पादकता (टोटल फ्याक्टर प्रोडक्टिभिटी – टीएफपी) र क्रय शक्ति समानता (पर्चेजिङ पावर पेरिटी – पीपीपी) जस्ता जटिल आर्थिक सिद्धान्तहरूलाई सामान्य पाठकले बुझ्ने गरी व्याख्या गरेका छन् ।

उनले पश्चिम–समर्थक वा पूर्व–समर्थक कुनै पनि किसिमको पक्ष नलिने भनी लिएको अडान सराहनीय छ । अमेरिकाले संरक्षणवाद अँगालेको, चीनले दमनकारी निगरानी राज्य सञ्चालन गरेको र भारतले आसेपासे पुँजीवादलाई प्रश्रय दिएकोमा केबलले समान रूपले आलोचना गरेका छन् ।

तर, केबल वर्तमान प्रवृत्तिहरूमा धेरै भर परेको र त्यो छिट्टै परिवर्तन हुन सक्ने देखिन्छ । उदाहरणका लागि, उनले भारतमा सन् २०२४ मा भएको लोकसभा चुनावको परिणाम र चीनमा डीपसीकको चर्चा गरेका छन् जसले पुस्तकलाई अद्यावधिक बनाउँछ । तर, त्यसो गर्दा उनले अर्को महामारी वा अचानक हुन सक्ने आन्तरिक क्रान्ति जस्ता ब्ल्याक स्वान घटनाहरूले यी सुपरस्टेटहरूको उदयलाई रोक्न सक्छ भन्ने विषयमा समुचित आकलन नगरेको देखिन्छ ।

यसका साथै लेखकले चीनका लागि मध्यम आयको पासो (मिडल इन्कम ट्य्राप) को पहिचान गरे पनि भारत कम–दक्षताको पासो (लो स्किल ट्य्राप) मा पर्न सक्ने सम्भावनाको बारेमा अझ गहिरो विश्लेषण गर्न सक्थे । भारतले आफ्नो विशाल युवा जनसंख्यालाई डिजिटल अर्थतन्त्रको माग अनुसार शिक्षित गर्न सकेन भने जनसांख्यिकीय लाभ सजिलै सामाजिक अशान्तिले परिभाषित जनसांख्यिकीय विपत्तिमा परिणत हुन सक्छ ।

एसियाली शताब्दी अब भविष्यवाणी मात्र नभई वास्तविकता बनिसकेको ‘इक्लिप्सिङ द वेस्ट’ को अन्तिम निचोड हो । एंग्लो–स्याक्सन प्रभुत्वको २०० वर्ष लामो युग अन्त्य हुँदैछ । पश्चिमीहरूका लागि केबलले प्रबुद्ध यथार्थवाद (इन्लाइटन्ड रियलिजम) अँगाल्न सन्देश दिएका छन् । पश्चिमले अब बाँकी विश्वलाई आफ्ना शर्तहरू लाद्न नसक्ने कुरा स्वीकार गर्नुपर्छ भन्ने केबलको तर्क दमदार छ ।

अब पश्चिमले दुई नयाँ विशाल शक्तिहरू चीन र भारतसँग सहअस्तित्वको तरिका खोज्नुपर्छ । यी दुई सुपरस्टेटले पश्चिमको मूल्यमान्यता साझा गर्दैनन् ।

अमेरिका, चीन र भारत जस्ता सुपरस्टेटहरूले युद्धको थुसिडाइड्स पासो र बेवास्ताको किन्डलवर्गर पासोबाट बच्न सक्छन् कि सक्दैनन् भन्ने कुराले नै २१औं शताब्दीको भाग्य निर्धारण गर्नेछ ।

केबलले पुस्तकमा गम्भीर, उत्कृष्ट र अत्यावश्यक मार्गदर्शन प्रदान गरेका छन् जसले नयाँ विश्वलाई आकार दिने फ्रेनेमी सम्बन्धलाई बुझ्न मद्दत गर्छ ।