सम्पूर्ण अपडेट

सोमबार सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा मंगलबार सुरुमै उच्च अंकको गिरावट

189
Shares

काठमाडौं । सोमबार लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेर पुरा दिन कारोबार हुन नपाउँदै बन्द भएको सेयर बजारमा मंगलबार भने सुरुवातमै उच्च अंकको गिरावट देखिएको छ ।

मंगलबार कारोबार खुलेको १० मिनेटमै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ५६.६५ अंकले घटेर २८१८.७८ बिन्दुमा कायम भएको छ । समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार भने कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुग्यो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको कारोबार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भयो । समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको थियाे ।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढ्यो । यद्यपि, एक कम्पनीको सेयर मूल्य भने घट्यो ।