
एजेन्सी । यसै साता क्यालिफोर्नियाबाट मलाई एउटा संक्षिप्त इमेल प्राप्त भयो जसमा लेखिएको थियो– ‘भियतनाम युद्धका दुई पाठहरू १) जित्ने निश्चित उद्देश्य नभई युद्धमा नजानु र २) आफ्नो शत्रुसँग जतिसुकै कम हतियार भए पनि उसको दृढता र साधनस्रोतलाई कहिल्यै कम नआँक्नु ।’
यो इमेल माइक इल्यान्ड नामक व्यक्तिले पठाएका थिए जसको नाम तपाईंले शायद सुन्नुभएको छैन होला । न त फ्य्रांक स्कटन वा फ्य्रांक स्नेपका नामहरू नै तपाईंको कानमा गुञ्जिएका होलान् ।
तर, आफ्नो समयमा उनीहरू अमेरिकी गुप्तचर क्षेत्रका दिग्गज थिए । उनीहरूले भियतनाममा वर्षौं बिताए । त्यहाँ उनीहरूले सत्तालाई सत्य कुरा सुनाउने प्रयास गरे, भियतनामीहरूसँग मिलेर काम गरे र धेरै मानिसहरूको ज्यान जानबाट जोगाउन मद्दत गरे ।
मैले उनीहरूलाई धेरै पहिले भेटेको थिएँ जब म युद्धको बारेमा पुस्तक लेख्दै थिएँ । उनीहरूका पुराना साथीहरूको समूहले अझै पनि मलाई उनीहरूका इमेल कुराकानीहरूमा संलग्न गराउँछन् ।
तपाईंले अपेक्षा गरेझैं उनीहरूलाई लाग्छ– राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वमा जे गरिरहेका छन्, त्यो अत्यन्तै लापरवाह र गैरजिम्मेवार छ । परिणामको वास्ता नगरी राष्ट्रपतीय करियर बनाएका व्यक्तिका लागि समेत यो चरम लापरवाही हो ।
इरानमाथिको यस आक्रमणले मलाई पिट सिगरको पुरानो विरोध गीतको सम्झना गराउँछ, ‘हामी हिलोको बीचमा छौं र मूर्खले अझै अघि बढ्न भन्छ ।’
ट्रम्पको वर्तमान अभियानको बारेमा मलाई डर लाग्ने कुरा के हो भने न त राष्ट्रपतिलाई, न विदेशमन्त्री मार्को रुबियोलाई, न त रक्षामन्त्री पिट हेगसेथलाई नै मध्यपूर्व र त्यहाँका मानिसहरूको बारेमा केही थाहा छ । उनीहरूलाई इजरायलका बेन्जामिन नेतन्याहुले जे भन्छन्, त्यही मात्र थाहा छ ।
ह्वाइट हाउस, राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयबाट दशकौंदेखि यस क्षेत्रको अध्ययन गरेका विज्ञहरूलाई व्यवस्थित रूपमा हटाइएको छ ।
यो अभियान भियतनाम, इराक, अफगानिस्तान वा अमेरिकाले हारेका अन्य कुनै पनि युद्ध जस्तो छैन किनकि ती सबै ठाउँका परिस्थितिहरू फरक थिए । तर, म एउटा साझा कारक देख्छु । अमेरिका आफ्नै राष्ट्रिय स्वार्थका लागि यी दलदलमा फस्यो र जुन जनतालाई बचाउन चाहन्छु भन्यो, उनीहरूप्रति केवल देखावटी चासो मात्र देखायो ।
भियतनाम युद्धको बारेमा मेरो पुस्तकमा मैले उल्लेख गरेको थिएँ कि दुई दशकसम्म ह्वाइट हाउसमा रणनीति र युद्धको विस्तारबारे भएका बैठकहरूमा केवल अमेरिकीहरू मात्र उपस्थित थिए । त्यहाँ कुनै पनि भियतनामी थिएनन् ।
अन्ततः हनोईका क्रूर नेताहरूले युद्ध जिते किनकि उनीहरू भियतनामी थिए जबकि साइगनमा चश्मा लगाएर बस्ने अमेरिकी कठपुतलीहरू आफ्ना देशवासीका नजरमा वास्तविक भियतनामी थिएनन् ।
जर्ज डब्लु बुशले सद्दाम हुसेनविरुद्धको पारिवारिक इख साँध्न अमेरिका र केही सहयोगीहरूलाई इराक युद्धमा होमेका थिए । उनले बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरसँग मिलेर इराकमा विनाशकारी हतियार रहेको र सद्दामले सेप्टेम्बर ११ को आक्रमणलाई समर्थन गरेको झूटो प्रमाणलाई बढाइचढाइ प्रस्तुत गरे ।
३५० अमेरिकी इतिहासकारहरूको हालैको सर्वेक्षणले सन् २००३ को इराक आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो परराष्ट्र नीतिगत गल्तीको रूपमा पहिचान गरेको छ जुन ट्रम्पका केही गल्तीहरूभन्दा अगाडि छ ।
ट्रम्पले त अघिल्ला राष्ट्रपतिहरूले गरेकै कुरा गरिरहेको केही मागा समर्थकहरूले दाबी गर्नेछन् । हो, उनीहरूले पनि आफ्ना सैन्य कदमहरूबारे मतदाताहरूलाई भ्रममा पारेका थिए जसरी ह्वाइट हाउसले आज गरिरहेको छ ।
तर, ती गल्तीबाट पाठ सिक्न विश्वले ठूलो मूल्य चुकाउनुपरेको थियो जसलाई यस प्रशासनले जानाजानी बेवास्ता गरिरहेको छ ।
ट्रम्पले हरेक दिन इरानमा आफ्नो उद्देश्यबारे फरक–फरक कथाहरू सुनाउँछन् । उनी शासन परिवर्तनको कुरा गर्छन् । फेरि उनको ह्वाइट हाउस प्रवक्ताले त्यो प्राथमिकतामा नरहेको बताउँछन् । उनले इरानको आणविक केन्द्रहरू नष्ट गर्ने बताउँछन् जबकि जुन महिनामै उनले एउटै बमवर्षाबाट यो लक्ष्य हासिल गरेको दाबी गरेका थिए ।
उनले अमेरिकी सेनालाई जमिनमा नउतारी इरानका मुल्लाहरूलाई निःशस्त्र पार्ने प्रस्ताव गर्छन् फेरि पछि सेना पठाउन सकिने कुरा गर्छन् ।
मैले माथि उल्लेख गरेको भियतनामका पुराना अनुभवीहरूको समूहका सदस्य स्नेप, जो कुनै समय सीआईएमा थिए, ले अमेरिकाले भियतनामीहरूलाई दिएको धोकाबारे डिसेन्ट इन्टर्भल नामक पुस्तक लेखेका थिए ।
उनले पनि हालै इमेल गर्दै लेखेका छन्, ‘ट्रम्पले युद्ध घोषणा गर्ने सन्दर्भमा कांग्रेसको संवैधानिक भूमिकालाई घोर अपमान गर्नु घृणित कार्य हो । भियतनामले केही सिकाएको छ भने त्यो के हो भने संविधानले तोकेअनुसार दुवै निकाय (कार्यपालिका र व्यवस्थापिका) संलग्न हुनुपर्छ । अन्यथा, तपाईंले बजेट र समर्थनको अभाव भएको विपत्ति मात्र भोग्नुपर्नेछ ।’
विगत १४ महिनामा ट्रम्पको युद्ध र शान्तिको शैलीबारे हामीले के सिकेका छौं भने उनी कहिल्यै स्पष्ट उद्देश्य राख्दैनन् ताकि कसैले उनलाई असफल भएको आरोप लगाउन नसकोस् । यसको सट्टा उनी हरेक बिहान नयाँ कथा बनाउँछन् ताकि उनी आफूले चाहेको बेला विजय घोषणा गरेर बाहिरिन सकून्, चाहे त्यसले सम्बन्धित देशलाई जुनसुकै अवस्थामा छोडोस् ।
उनले पदभार ग्रहण गर्दा युक्रेनमा शान्ति ल्याउने वाचा गरेका थिए तर पछि उनले महसुस गरे कि यसको एक मात्र उपाय भोलोदिमिर जेलेन्स्कीलाई भ्लादिमिर पुटिनसामु आत्मसमर्पण गर्न दबाब दिनु हो । ट्रम्पको इरानप्रतिको मूर्खताका कारण युक्रेनी नागरिकले ठूलो मूल्य चुकाउनुपर्नेछ किनकि अमेरिकी गोलाबारुद मध्यपूर्वमा खर्च भइरहेको छ ।
अन्यत्र, ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाएको हल्ला फैलाएर सञ्चारमाध्यममा हेडलाइन बनाए तर अहिले उनी भेनेजुएलाका जनतालाई मदुरोका उस्तै क्रूर सहयोगीहरूको दयामा छोडेर सन्तुष्ट देखिएका छन् ।
उनको यस पछिल्लो अभियानबाट एउटा स्थिर र शान्त इरान बन्ने सम्भावना सबैभन्दा कम छ । सबैभन्दा बढी सम्भावना भनेको अराजकता र इरानी जनताको थप दुःख हो ।
इस्लामिक कट्टरपन्थी बाहेक कसैले पनि धेरै मानिसको हत्या गर्ने सर्वोच्च नेता अली खामेनीको मृत्युमा आँसु बगाउँदैनन् । तर ट्रम्पले पोकर खेल्न बसेको मान्छेले जस्तो लापरवाहीका साथ ठूलो युद्धमा हाम फाल्नु र तास कसरी पर्छ हेरौंला भन्दै काँध उचाल्नु कुनै पनि राष्ट्रपतिका लागि अशोभनीय कुरा हो ।
लिन्डन जोन्सनले भियतनामका बारेमा भयानक निर्णयहरू गरे तर उनी एक गम्भीर व्यक्ति थिए जसले केही राम्रा कामहरू पनि गरे भन्नेमा कसैलाई शंका छैन । ट्रम्प भने सतही छन् र केवल आफ्नो घमण्डबाट निर्देशित छन् । उनले गरेका कार्यका पीडितहरूप्रति कुनै करुणा छैन ।
ट्रम्पको युद्धबाट आफूले चाहेको सबै कुरा पाउने एक मात्र व्यक्ति नेतन्याहु हुन् । अमेरिकालाई इरान विरुद्धको युद्धमा सामेल गराउनु उनको जीवनभरको चाहना थियो । आगामी हप्ता वा महिनामा जेसुकै भए पनि नेतन्याहुले सम्भवतः आगामी इजरायली निर्वाचन जित्नेछन् ।
यसले उनलाई लामो समयदेखिको भ्रष्टाचारको आरोपबाट बचाउनेछ र उनको अर्को इच्छा पूरा गर्न शक्ति दिनेछ । वेस्ट बैंकलाई इजरायलमा गाभ्ने र ग्रेटर इजरायल’ बनाउने उनको इच्छा हो ।
यो काम बिस्तारै भइरहेको छ जसलाई पश्चिमले वास्ता गरेको देखिँदैन । ती प्यालेस्टिनीहरूको के होला जसलाई नेतन्याहुको इजरायलभित्र कहिल्यै राजनीतिक वा नागरिक अधिकार दिइने छैन । त्यो कसैलाई थाहा छैन ।
विश्वका धेरैजसो मानिसहरू ट्रम्प र उनका मानिसहरूको अज्ञानताबाट त्रसित छन् ।
उनीहरू खोप कार्यक्रमहरू रद्द गर्छन्, भोकमरीमा परेकाहरूलाई दिइने खाद्यान्न सहयोग रोक्छन्, जलवायु परिवर्तनलाई अस्वीकार गर्छन्, विश्व व्यवस्थाका आधारस्तम्भहरू भत्काउँछन् र सत्यलाई लत्याउँछन् ।
अहिले उनीहरू युद्धको खेल खेलिरहेका छन् जुन खेलको बारेमा उनीहरूलाई भियतनाम र अन्य ठाउँमा वास्तविक युद्ध लडेकाहरूभन्दा धेरै कम ज्ञान छ । उनीहरूको यस लापरवाहीका लागि सम्पूर्ण विश्व र विशेषगरी इरानका जनताले ठूलो मूल्य चुकाउनुपर्नेछ ।








प्रतिक्रिया