
एजेन्सी । इरानको सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको निकायले निर्णय गरिसकेको केही कट्टरपन्थी सदस्यहरूले बताएका छन् । तर, छानिएका उम्मेदवारको नाम भने खुलाइएको छैन ।
८८ सदस्यीय एसेम्बली अफ एक्सपर्ट्सका एक वरिष्ठ धर्मगुरु आयातोल्लाह अहमद आलम अल–होदालाई अर्ध–सरकारी समाचार एजेन्सी मेहरले उद्धृत गर्दै लेखेअनुसार नेतृत्वका लागि निर्वाचन भइसकेको छ र नेता नियुक्त गरिसकिएको छ ।
एसेम्बली अफ एक्सपर्ट्सले अहिलेसम्म कुनै निर्णय नगरेको भनी देखाउन खोज्ने हल्लाहरू पूर्णतया झूटो भएको उनले बताए ।
अल–होदाले अब निर्णयको घोषणा गर्ने जिम्मेवारी आयातोल्लाह हुसेनी बुशेहरीको नेतृत्वमा रहेको एसेम्बलीको सचिवालयको भएको बताएका छन् ।
अर्धसरकारी समाचार एजेन्सी इस्नाका अनुसार, एसेम्बलीका अर्का सदस्य आयातोल्लाह हैदरीले एसेम्बली अफ एक्सपर्ट्सको बहुमतले अनुमोदन गरेको सर्वश्रेष्ठ विकल्प छानिएको बताएका छन् ।
‘उल्लेखनीय कुरा त के छ भने महान् शैतानले समेत प्रतिनिधिहरूद्वारा छानिएका व्यक्तिको नाम उल्लेख गरिसकेको छ,’ आलेकसिरले थपे ।
इरानी कट्टरपन्थी धर्मगुरुहरूले सामान्यतया अमेरिकालाई महान् शैतान भन्ने गर्छन् । यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च नेता अली खामेनेईका छोरा मोजताबा खामेनेई उत्तराधिकारी बन्नु अस्वीकार्य हुने बताएका थिए ।
आठ दिनअघि इजरायली हवाई आक्रमणमा अली खामेनेई मारिएका थिए ।
यसैबीच इजरायलले नयाँ सर्वोच्च नेतालाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।








प्रतिक्रिया