
नेपालको अर्थतन्त्र लामो समयको शिथिलतापछि बिस्तारै लयमा फर्किने संकेत देखिइरहेका बेला गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ ले निजी क्षेत्रमा अन्योल पैदा गरिदियो सडकमा देखिएको आक्रोश, तोडफोड र आगजनीले भौतिक क्षति मात्र पुर्याएन, बरु लगानीकर्ताहरूको आत्मविश्वासमा समेत गम्भीर ठेस पुर्याएको छ । विशेषगरी वित्तीय मध्यस्थताको भूमिका निर्वाह गर्ने बैंक तथा वित्तीय संस्थाहरू यतिबेला पर्याप्त तरलता हुँदाहुँदै पनि नयाँ लगानीका लागि उत्साहित देखिँदैनन् । प्रदर्शनका कारण उत्पन्न मनोवैज्ञानिक त्रास र नीतिगत अस्थिरताको संशयले उद्योगी–व्यवसायीहरू ‘पर्ख र हेर’को रणनीतिमा छन् ।
यसै सन्दर्भमा जेनजी विद्रोहले बैंकिङ तथा निजी क्षेत्रमा पारेको प्रत्यक्ष/अप्रत्यक्ष क्षति र आगामी दिनमा निजी क्षेत्रको मनोबल सुदृढ बनाउन सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसँग कुराकानी गरिएको छ ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
जेनजी प्रदर्शनका क्रममा म प्रमुख कार्यकारी अधिकृत रहेको एभरेष्ट बैंकमा पनि क्षति पुगेको थियो । आगजनी, लुटपाट र तोडफोड हुँदा बजार प्रभावित भएका छन् । यसले अप्रत्यक्ष क्षति निकै ठूलो छ । त्योभन्दा पनि ठूलो मनोवैज्ञानिक क्षति भएको छ ।
अर्थतन्त्रमा देखिएको सिथिलतासँगै पछिल्लो ३ वर्षदेखि बैंकिङ क्षेत्रमा क्रमशः सुधार हुँदै गएको थियो । तर, जेनजी मुभमेन्टपछि कर्जा असुली थप प्रभावित भएको छ । क्षमता भएका ऋणीले पनि तिर्न आलटाल गरिरहेका छन्, कर्जाको माग घटेको छ ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
जेनजी प्रदर्शनका क्रममा निजी सम्पत्ति, व्यवसाय लगायतमा भएको लुटपाट तोडफोड र आगजनीका कारण लगानीकर्ता, वित्तीय मध्यस्तताको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने मनोबल कमजोर देखिएको छ।
लगानी गर्नु भन्दा नगर्नु सुरक्षित देखिएर लगानीमा संयमित बनेका छौं । धेरै परियोजनामा लगानी गर्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा छौं ।
जेनजी प्रदर्शनका कारण लगानीको वातावरण कतिको धक्का पुगेको छ ?
केही समययता सुधारोन्मुख देखिएको लगानीको वातावरण जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितता, अन्योल र अस्थिरताले गर्दा निजी क्षेत्रको मनोबल कमजोर देखिएको छ ।
साथै उक्त प्रदर्शनले उत्पन्न गरेको तनाव, तोडफोड आगजनीका कारण विदेशी लगानीकर्ताका लागि व्यवसाय सञ्चालन, नीतिगत स्थिरता र विश्वासनियता माथि शंका पैदा गरेको कारण लगानीका नयाँ योजनाहरु रोकिन पुगेका छन् । जेनजी प्रदर्शन यता निजी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास उल्लेख्य रुपमा घटेको छ ।
जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकार वा सम्बद्ध निकायले संवेदनशील व्यवसायिक क्षेत्रहरुमा थप हिंसात्मक घटना हुन नदिन थप सुरक्षा संयन्त्र परिचालनगरि प्रभावकारी भूमिका निभाएकै कारण छोटो समयमै स्थिति नियन्त्रणमा आउन सहयोग पुगेको थियो ।
त्यो बेलाको भयावह स्थिति तत्काल नियन्त्रण होला भन्ने कल्पना सायद कमैले गरेका थिए । तत्पश्चात प्रभावित व्यवसायहरुको नोक्सानी मूल्यांकन तथा राहत र बिमा प्रक्रियामा थप सहजता ल्याउन पनि सरकारले तत्काल प्रयास गरेको कुरा नकार्न सकिँदैन ।
जेनजी आन्दोलनको क्रममा सृजना भएको असामान्य परिस्थितिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित उद्योग, व्यावसाय, प्रतिष्ठान लगायतका ती क्षेत्रहरु पुनः चलायमान हुन सकुन् भन्ने हेतुले ती क्षेत्रहरुमा प्रवाहित कर्जामा राहत, ब्याज छुट र कर्जा पुनर्तालिकिकरण जस्ता सुविधा प्रदान गर्ने खालका व्यवस्था हुनु सराहनीय छन् ।
तर, यी सबै प्रयासका बाबजुद आम व्यवसायीहरुमा थप उत्साह आशा र मनोबल अझै पनि देखिएको छैन । वित्तीय क्षेत्रमा पर्याप्त तरलता, मजबुत बाह्य क्षेत्र, सकारात्मक सरकारी सूचकांक, नियन्त्रित मुद्रास्फीति, उत्साहजनक विप्रेषण हुँदा पनि वास्तविक क्षेत्रले गति लिन नसक्दा यी सबै प्रयासको बाबजुत सबै उद्योगी व्यवसायी अझ पनि पर्ख र हेरको स्थितिमा हुनुहुन्छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
अप्रत्यासित रुपमा घटेको भदौ २३ र २४ को घटनाले निजी क्षेत्रले मात्र होइन समग्र राज्यले नै ठूलो क्षति बेहोर्नुपर्ने स्थिति बन्यो । जेनजी प्रदर्शनका क्रममा थुप्रै सरकारी भवन, प्रशासनिक केन्द्र, अड्डा अदालतका साथै दर्जनौं निजी उद्योग तथा व्यावसायिक प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सवारीसाधन लगायतमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले भौतिक रुपमा ठूलो नोक्सानी पुर्यायो ।
अर्बौं रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुगेको छ । हजारौंका संख्यामा रोजगारी प्रभावित भएका छन् । भौतिक तथा आर्थिक रुपमा भएको यो अतुलनीय क्षतिले राज्यलाई आर्थिक रुपमा धेरै पछाडि धकेलेको मात्र छैन, मानसिक रुपमा उद्योगी व्यवसायीहरुको मनोबलमा समेत भारी गिरावट आएको छ । अनिश्चितता र असुरक्षाका कारण पर्यटकको आगमन घट्दा पर्यटन व्यवसाय थप प्रभावित भएको छ ।
सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?
पछिल्लो केही वर्षदेखि अर्थतन्त्रमा सुस्तता देखिएको थियो । तर, गत आर्थिक वर्षको अन्तिमतिर आउँदा केही सुधार देखिँदा बैंकहरुको रिकभरीमा सुधार र कर्जाको मागमा पनि सुधार देखिन लागेको थियो । केही समययता सुधारोन्मुख देखिएको लगानीको वातावरण जेनजी प्रदर्शले सिर्जित गरेको अनिश्चितता, अन्योल र अस्थिरताले गर्दा निजी क्षेत्रको मनोबल कमजोर देखिएको छ ।
प्रदर्शनका क्रममा तनाव, तोडफोड आगजनीका कारण विदेशी लगानीकर्ताका लागि व्यवसाय संचालन, नीतिगत स्थिरता र विश्वासनियता माथि शंका पैदा गरेको छ । जसले गर्दा लगानीका नयाँ योजनाहरु रोकिन पुगेका छन् । जेनजी प्रदर्शन यता निजी तथा विदेशी लगानीकर्ताको आत्मविश्वास उल्लेख्य रुपमा घटेको छ । यसले लगानीको वातावरणमा गम्भिर धक्का पुग्यो भन्न सकिन्छ । विशेषगरी लगानी र लकगानीकर्ताको सुरक्षामाथि प्रश्न उठेको छ ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको ‘पोस्ट जेनजी स्ट्रेस’ (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?
व्यक्तिगत रुपमा भन्नु पर्दा हामीले त्यति धेरै डर, तनाब र असुरक्षा महसुस त गरेका छैनौं । तर, हाम्रो व्यवसाय ती समस्त व्यवसायी जगत, ग्राहक र सेवाग्राही हरुको मनोबलमा आएको परिवर्तनले प्रत्यक्ष असर बैंकसम्म आइपुग्ने भएका कारण चिन्तित भने अवश्य भएका छौं ।
सम्पूर्ण व्यावसायिक जगतले लगानी वातावरण अस्थिर भएको महसुस गरेको छ । नीतिगत तथा राजनैतिक अस्थिरता बढेको छ, वित्तीय व्यवस्थापन अनिश्चित भएको अवस्थामा व्यवसाय विस्तार, नयाँ लगानी सम्बन्धी दीर्घकालीन रणनीतिक निर्णय गर्दा सोच र पर्खको स्थितिमा भने पक्कै छौं ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
बैंक तथा वित्तीय संस्था लगायत संवेदनशील व्यवसायिक क्षेत्रहरुमा थप हिंसात्मक घटना हुन नदिन जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले थप सुरक्षा संयन्त्र परिचालन गरि प्रभावकारी भूमिका खेल्यो । जसले छोटो समयमै स्थिति नियन्त्रणमा आउन सहयोग पुगेको थियो । जेनजी आन्दोलनको समय स्थिति तत्काल नियन्त्रण होला भन्ने सोचेका थिएनौं ।
तर, सरकारको सुरक्षा संयन्त्रले प्रभावकारी रुपमा काम गर्यो । त्यसपछि प्रभावित व्यवसायहरुको नोक्सानी मुल्यांकन, तथा राहत र बिमा प्रक्रियामा थप सहजता ल्याउन पनि सरकारले तत्काल प्रयास सकारात्मक छन् ।
जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिका कारण प्रत्यक्ष र अप्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यवसाय, प्रतिष्ठान लगायतका क्षेत्रहरु पुनः चलायमान बनाउन कर्जामा राहत, ब्याज छुट, र कर्जा पुनरतालिकिकरण जस्ता सुविधा प्रदान भएको छ । यी प्रयासले पनि आम व्यवसायीहरुमा थप उत्साह आशा र मनोबल अझै पनि देखिन सकेको छैन ।
वित्तीय क्षेत्रमा पर्याप्त तरलता, मजबुत बाह्य क्षेत्र, सकारात्मक सरकारी सुचकांका, नियन्त्रित मुद्रास्फीति, उत्साहजनक विप्रेषण हुँदा पनि वास्तविक क्षेत्रले गति लिन सकेको छैन । यी सबै प्रयासको बाबजुत उद्योगी व्यवसायी अझै पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?
लगानीमैत्री वातावरण सिर्जना गर्नु केबल सरकारको मात्र जिम्मेवारी नभई नियामक, स्थानीय तह वित्तीय क्षेत्र, निजी क्षेत्र र सर्वसाधारण सबैको सामुहिक भूमिका र जिम्मेवारी हो । यो यथार्थ सरोकारवाला सबैले स्वीकार गर्नुपर्छ ।
समग्रमा सरकारको स्पष्ट र स्थिर नीति, व्यावसायिक सुशासन, वित्तीय स्थिरता, श्रम सम्बन्धको समन्वय, स्थानीय समुदायको सहयोग र आम सर्वसाधारणको सकारात्मक दृष्टिकोणले साँचो अर्थमा लगानीमैत्री वातावरण सिर्जना गर्न सकिन्छ ।
नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
लगानी, राजस्व, रोजगारी र सम्पूर्ण सेवाप्रवाहको ठूलो हिस्सा निजी क्षेत्रमा निर्भर छ । हामी जस्तो विकासोन्मुख देशका लागि सोही क्षेत्रमाथि नै आक्रमण र नकारात्मक धारणा बन्नु दुःखदायी कुरा हो ।
निजी क्षेत्रलाई यस्ता प्रदर्शन वा आक्रमणबाट सुरक्षित राख्न सरकार, निजी क्षेत्र स्वयं सम्पूर्ण सरोकारवाला र सर्वसाधारणबाट समेत आ–आफ्नो भूमिका प्रभावकारी एवम् एक आपसमा विश्वासनीय बनाउन अत्यन्तै जरुरी देखिन्छ ।
स्पष्ट र प्रभावकारी नीतिगत व्यवस्था, लागनी मैत्री वातावरण र सुरक्षाको प्रत्याभूति दिने, लगानी आकर्षित गर्ने नीति नियममा स्थिरता र योगदानकर्ताको आत्मसम्मान बढाउने खालका कार्यक्रम ल्याउने सरकारको मुख्य दायित्व हो ।
निजी क्षेत्रले पनि सरकारबाट जारी नीति नियमको इमानदारीपूर्वक पालना गरी गुणस्तरीय एवम् पारदर्शी सेवा प्रवाह गरी सरकार र आम उपभोक्ता र सर्वसाधारणको विश्वास जित्ने सामाजिक सद्भाव राख्ने गरी निजी क्षेत्र नाफामुखी मात्र होइनन् सामाजिक विकासका आधार पनि हुन् भन्ने विश्वास देखाउने गरी काम गर्नु पर्छ ।
त्यस्तै, अन्य सर्वसाधारण र सरोकारवालाले पनि व्यवसायीलाई सत्रुको रुपमामात्र नहेरी साझेदारको रुपमा हेर्ने संस्कृतिको विकास गरी अफवाह, हल्ला र तथ्यहीन सूचनाको भरमा नकारात्मकता दर्साउने खालका प्रवृत्ति रोक्नुपर्छ । यसलाई अन्त्य गर्न सकेमा मात्र यस्ता अवाञ्छित क्रियाकलापबाट निजी क्षेत्रमाथि हुने आक्रमण रोक्न सकिन्छ । यसमा सरकारसँगै सबैले ध्यान दिनुपर्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)








प्रतिक्रिया