
काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले आजदेखि आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा दोलखाको बिगु नगरपालिका–८ तथा कालिञ्चोक गाउँपालिका वडा–१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिंदा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा फागुन २७ गते हुनेछ भने ढिलोमा चैत १३ मा हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन बन्द छिटोमा फागुन १७ र ढिलोमा फागुन २७ गते हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।








प्रतिक्रिया