बक्यौता नतिरे फागुन २२ गतेदेखि एयर एशियाको उडान बन्द हुने



काठमाडौं । मलेसियन निजी हवाई सेवा प्रदाय एयर एसियाको फागुन २२ गते देखि उडान बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार एयर एसियाले पुस २४ गते गरेको लिखित प्रतिवद्धता अनुसार बाँकी बक्यौता दाखिल नगरेपछि उडान बन्द गरिने निर्णय भएको हो ।

एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै  २० करोड रुपैयाँ तिर्न बाँकी छ । फेब्रुअरी २८ भित्र सबै बाँकी बक्यौता रकम दाखिल गर्ने लिखित प्रतिवद्धता गरेपनि रमक दाखिला नगरेपछि उडान बन्द गरिन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतम बताए ।

प्राधिकरणले कार्यालयलाई तीन मार्च देखि उडान बन्द गराउन सहमति दिएको थियो । तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय थप्दै मार्च ६ बाट उडान बन्द गराउन लागेको गौतमले जानकारी दिए ।

एयर एसियाले पुस २४ गतेपनि १० करोड रुपैयाँ दाखिल गर्ने र बाँकी रकम मासिक तीन करोड रुपैयाँको दरले किस्तामा तिर्दै जाने बताएको थियो ।

तर, फेरी सोही दिन दुई करोड रुपैयाँ बुझाउँदै एयसियाले फेब्रअरी २८ मा बाँकी बक्यौता रकम दाखिला गर्ने गरी लिखित सम्झौता गरेको थियो ।

यसैगरी सञ्चालनमा नरहेका एयरलाइन्सको बक्यौता पनि साढे ११ करोड भन्दा बढी छ ।

सञ्चालनमा नरहेका दुई दर्जन भन्दा बढी एयरलाइन्स कम्पनीले सरकारलाई बुझाउनु पर्ने ११ करोड ३९ लाख ६५ रुपैयाँ बक्यौता रहेको छ ।

सरकारी निकायहरुमा सबैभन्दा बढी विमानस्थल भन्सार कार्यालयको ५३ करोड ९६ लाख रुपैयाँ बक्यौता बाँकी छ ।


क्लिकमान्डु