
काठमाडौं । भुजुङ हाइड्रोपावरले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । धितोपत्र निष्कासन तथा बाँडफाँट गर्दा मागभन्दा बढी आवेदन परेमा गोला प्रथाबाट प्रतिव्यक्ति १० कित्ताका दरले ८३ हजार जनालाई पर्नेछ ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराएको थियो ।
जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिसकेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ का बासिन्दाहरूमा बाँडफाँट गरेको छ । बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण सेयर पनि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ । त्यस्तै कम्पनीले २० हजार कित्ता कर्मचारीका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि छुट्याएको छ ।
अब कम्पनीले दोस्रो चरणमा माघ १२ गतेदेखि ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गर्दैछ । यो आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
आयोजनाको इतिहास र लगानीको विवरण
लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा रहेको भुजुङ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको माथिल्लो मिदिम जलविद्युत् आयोजना ‘रन अफ रिभर’ प्रकृतिको आयोजना हो । विद्युत् आयोजना निर्माण कार्य अघि बढाउने उद्देश्यले २०७२ जेठ २ गते कम्पनीको रजिस्ट्रार कार्यालयमा भुजुङ हाइड्रोपावर प्राइभेट कम्पनीको रूपमा दर्ता भएको थियो । २०७८ फागुन ११ गते कम्पनी पब्लिक लिमिटेडमा परिणत भयो ।
कम्पनीले २०७६ भदौ २६ गते विद्युत् उत्पादनको अनुमति पाएको थियो । २०७९ साल साउन १० गते कम्पनीले नेपाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागबाट आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक ३३ केभी विद्युत् प्रसारण लाइन निर्माणको अनुमति पायो । कम्पनीले आयोजना निर्माण गरी व्यावसायिक उत्पादन भने २०८१ वैशाख ६ गतेबाट सुरु गरेको छ ।
सरकारले २०७६ भदौ २६ गते ३५ वर्षका लागि उत्पादन अनुमति दिएको थियो । उत्पादन भएको मिति २०८१ वैशाख ६ गतेदेखि गणना गर्दा यस आयोजनाको अनुमति अवधि अब ३० वर्ष रहेको छ । ‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनाको उत्पादन क्षमता ७.५ मेगावाट रहेको छ ।
तर यो आयोजना ‘रन अफ रिभर’ प्रकृतिको भएकाले नदीको बहाव अनुसार यसको उत्पादन क्षमता निर्भर रहन्छ । बर्खायाममा यसले पूर्ण क्षमता ७.५ मेगावाटमा बिजुली निकाल्छ भने हिउँदमा नदीमा पानी कम हुँदा उत्पादन घट्न सक्छ । आयोजनाको प्रसारण लाइनको लम्बाइ करिब २५.१३ किलोमिटर रहेको छ ।
कम्पनीले यस आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग २०७४ भदौ २९ गते ‘टेक अर पे’ प्रावधानमा आधारित विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार समयमा उत्पादन हुन नसक्दा उत्पादन मिति पटक–पटक संशोधन गरियो । पछिल्लो पटक गरिएको संशोधनमा आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८० साउन १४ गते थियो ।
तर व्यापारिक उत्पादन सुरु गर्न तय गरिएको अन्तिम मितिभन्दा पनि करिब ९ महिना ढिला गरी उत्पादन सुरु भयो । २०८१ वैशाख ६ गतेदेखि मात्रै व्यावसायिक उत्पादन सुरु गरेको हो । त्यसकारण अब कम्पनीले विद्युत् खरिद बिक्री सम्झौता बमोजिम पाउनुपर्ने ८ पटकको मूल्य वृद्धिमध्ये कम्पनीले ७ पटकको मात्र सुविधा प्राप्त गर्ने भएको छ । जस अनुसार सुख्खा यामको समयमा अधिकतम प्रतियुनिट १० रुपैयाँ १६ पैसा र वर्षायामको समयमा प्रतियुनिट ५ रुपैयाँ ९५ पैसा पाउनेछ ।
यसैका आधारमा कम्पनीले आफ्नो भावी वित्तीय प्रक्षेपणहरू तयार पारेको छ । आयोजनाको कुल लागत १ अर्ब ८० करोड ९५ लाख रहेको छ । जसमा निर्माण अवधिको ब्याज समेत समावेश गरिएको छ । कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८३ हजार रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १६.०९ वर्ष छ ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ४६ लाख ९० हजार खुद नाफा आर्जन गरेको आह्वान पत्रमा देखिएको छ । तर यो समयमा आयोजना निर्माणकै चरणमा रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा कम्पनी ५ करोड ७१ लाख ५१ हजार खुद नोक्सानीमा गएको देखिन्छ । यसबेला आयोजनाको खर्च र अन्य व्यवस्थापनका कारण नोक्सानमा नै रहेको देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड २६ लाख ४२ हजार आम्दानी गरेको आह्वान पत्रमा उल्लेख गरिएको छ । यद्यपि वित्तीय लागत र ह्रासकट्टीका कारण कम्पनी अझै ५ करोड ७ लाख २ हजार खुद नोक्सानमै रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा भने नोक्सानको दरमा केही सुधार आएको छ ।
कम्पनीले आगामी आर्थिक वर्षहरूका लागि सकारात्मक प्रक्षेपण गरेको छ । आयोजनाले २०८१ देखि पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरिसकेकाले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३ करोड २ लाख ८६ हजार खुद नाफा हुने प्रक्षेपण गरेको छ ।
आह्वान पत्रमा उल्लेखित विवरण अनुसार कम्पनीले विगतका वर्षहरूमा आयोजना निर्माणका लागि उल्लेख्य पुँजी परिचालन गरेको देखिन्छ । तर परिचालन गरिएको पुँजी जस्तो आयोजनाले प्रतिफल आर्जन गरेको भने देखिँदैन । भर्खरै व्यावसायिक उत्पादन सुरु गरेको हुनाले कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत् बिक्री हुन बाँकी नै भएकाले कम्पनीको नाफा कस्तो छ भन्ने चालू तथ्याङ्क चालू आर्थिक वर्षको वित्तीय विवरण पश्चात् मात्र यकिन गर्न सकिनेछ ।
कम्पनीमा हाल १ हजार ९६३ जना संस्थापक सेयरधनीहरू छन् । जसमा ऊर्जा, सामाजिक कार्य र व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू आबद्ध छन् ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्र अनुसार कम्पनीमा सबैभन्दा धेरै सेयर हिस्सा प्रबन्ध सञ्चालक माधव राज आचार्यको रहेको छ । उनको कम्पनीमा ५.८ प्रतिशत (४ लाख ६ हजार ३ सय ५० कित्ता) सेयर लगानी रहेको छ । आचार्यसँग जलविद्युत् र निर्माण क्षेत्रमा २१ वर्षभन्दा लामो व्यावसायिक अनुभव रहेको छ ।
त्यसैगरी दोस्रो ठूलो लगानीकर्ताका रूपमा पूर्ण भक्त प्रधानाङ्ग रहेका छन् । उनको कम्पनीमा ३.७५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर लगानी रहेको छ । त्यस्तै अनु खनालको नाममा २.६९ प्रतिशत अर्थात् २ लाख १५ हजार २ सय ५० कित्ता सेयर रहेको छ ।
त्यस्तै अर्का लगानीकर्ता आरजु श्रेष्ठको १ लाख ६५ हजार कित्ता अर्थात् २.०६ प्रतिशत र सौरभ श्रेष्ठको १ लाख ३५ हजार कित्ता अर्थात् १.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यीसँगै अन्य विभिन्न क्षेत्रका अनुभवी व्यवसायीहरूको यस कम्पनीमा लगानी रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।








प्रतिक्रिया