नेकपाले निष्काशन गर्यो हरिबोलसहित सात नेता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित बागी उम्मेदवारी दर्ता गरेका सात नेतालाई कारबाही गरेको छ ।

नेकपाले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको हो ।

नेकपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको छ ।’

निष्काशन हुनेहरूमा गजुरेलसहित महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह राजकुमारी साह, जिवछ साह रहेका छन् ।

दाहालले सिन्धुली– २ मा नेकपा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए ।

गजुरेल दाहालको समर्थनमा बसेका थिए । उनीहरूलाई सहमतिमा आउन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका थिए । प्रचण्डको आग्रह नमानेका उनीहरू पार्टीबाट निकालिएका हुन् ।

त्यस्तै, कुलप्रसादले दाङ– १ का नेकपाका उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।