उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात-वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

देशका उच्च पहाडी तथा हिमाली भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।