पाल्पामा मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते


तानसेन । पाल्पा रिव्दीकोट गाउँपालिका–१ ख्याहा जोगिथुमबाट मलामी बोकेर रिडी जाँदै गरेको लु १ च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गुल्मीको रिडी–खज्र्याङ सडक खण्ड खोल्टेपानीमा बोलेरो जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा रिव्दीकोट १ ख्याहा जोगिथुमका अन्दाजी ३० वर्षीया टिकाराम कुमाल रहेको वडा अध्यक्ष चिरञ्जी पोखरेलले जानकारी दिए।

कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा ६ जना घाइते रहेको वडा अध्यक्ष पोखरेलले बताए।

जिप सडकदेखि करिब १० मिटर तल खसेको छ। मृतकको शवलाई पोष्टमार्टका लागि गुल्मीको तम्घास पठाइएको वडा अध्यक्ष पोखरेलले बताए।