मञ्जुश्री फाइनान्सले ६ महिनामा कमायो साढे १३ करोड नाफा


काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५३ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बुधबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको फाइनान्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५२ प्रतिशतले बढेको हो ।

फाइनान्सको कर्जा विस्तारसँगै खुद ब्याज आम्दानी पनि बढेको छ । जसले गर्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) मा भएको वृद्धिका बाबजुद पनि नाफा बढेको हो ।

फाइनान्सको खुद ब्याज आम्दानी ३९ करोड ८० लाख ५५ हजार रुपैयाँबाट बढेर ४५ करोड ३२ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यद्यपि, फाइनान्सको कुल आम्दानी ५३ करोड ६१ लाख ९३ हजार रुपैयाँबाट घटेर ४७ करोड ६० लाख २९ हजार पुगेको छ।

यस्तै फाइनान्सले कर्जा नोक्सानी व्यवस्थाका लागि १० करोड ३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा फाइनान्सले ६ करोड ५२ लाख ७९ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको थियो । फाइनान्सको सञ्चालन नाफा २१ करोड ६१ लाख ६३ हजार रुपैयाँबाट घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३३ पैसाबाट बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ । १३ करोड ५३ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको फाइनान्सको यस अवधिको वितरणयोग्य मुनाफा ८ करोड ५ लाख १६ हजार रुपैयाँ छ । यससँगै फाइनान्सको सञ्चित नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ पुग्दा चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ छ । यस्तै जगेडा कोषमा ७८ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ रहेको फाइनान्सको निक्षेप २२ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको कर्जा १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँबाट बढेर १९ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३९.८९ गुणा छ । त्यस्तै पुँजीकोष अनुपात १२.८१ प्रतिशत र निष्क्रिय कर्जा ३.६४ प्रतिशत पुगेको छ ।