
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० शाखा कार्यालय समायोजन हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ बैसाख १ गतेदेखि आफ्ना १० वटा शाखा कार्यालयलाई नजिकैका अन्य शाखामा समायोजन गर्ने भएको हो ।
बैंकले बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूलाई गाभी नजिकैको शाखाबाट एकीकृत कारोबार सुरु गर्नेछ ।
बैंकले बागमती प्रदेशअन्तर्गत बागबजार शाखा पुतलीसडकमा, गौशला शाखा बत्तिसपुतलिमा, कपुरधारामा रहेको ठमेल शाखामा, पाटन शाखा लगनखेलमा, कुलेश्वरमा रहेको शाखा कालीमाटीमा, तथा भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखा वडा नम्बर ३ मा समायोजन गर्ने जानकारी दिएको छ ।
त्यस्तै मधेश प्रदेशअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा, कोशी प्रदेशअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको शाखा वडा नम्बर ७ मा गाभिएको छ ।
गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा तथा पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ मा रहेको तालचोक शाखामा गाभिने छ ।
बैंकले शाखा गाभिएपछि साविकको शाखाबाट कारोबार गर्दै आएका ग्राहकहरूलाई अब नयाँ शाखाहरूबाट सेवा लिन अनुरोध गरेको छ। यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा समेत मागेको छ ।








प्रतिक्रिया