
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले समस्या समाधानको लागि अग्रसरता लिएको छ । गभर्नर डा. विश्वनाथ पौडेलेको अग्रसरतामा नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बैंकरहरु समेत राखेर समस्या समाधानको लागि छलफल भइरहेको छ ।
गभर्नर पौडेलले आईजीपी कार्की, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाली वित्तीय संस्था संघका पदाधिकारीलाई बोलाएर छलफल गरिरहेको राष्ट्र बैंक स्रोतले बताएको छ । दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका नाममा देशभरी बैंकका कर्मचारीहरुलाई धम्की दिने तथा धितो लिलाम प्रक्रियामा अवरोध गर्ने तथा ऋण असुलीमा जाने बैंकका कर्मचारीहरुलाई आक्रमण गर्ने र आक्रमण गर्न उक्साउने जस्ता गतिविधि भइरहेका छन् ।
कतिपय ठाउँमा बैंकका शाखा कार्यालयमा पुगेर कर्मचारीहरुलाई धम्की दिने, कर्मचारीलाई फिल्डमा जान अवरोध गर्ने जस्ता समस्या भएपछि गभर्नर पौडेलले चासो दिँदै कर्मचारीले सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन आईजीपी र बैंकरलाई सँगै राखेर छलफल गरेका हुन् । ११ बजेपछि सुरु भएको छलफल चलिरेहको स्रोतले बतायो ।
यही साता अर्थमन्त्री रामेश्वर खनालले पनि अर्थसचिव, गृहसचिव र नेपाल बैंकर्स संघका प्रतिनीधिलाई सँगै राखेर बैंकका कर्मचारीमाथि भएको आत्रमणका बारेमा तथा सुरक्षाको प्रत्याभुति कसरी गराउने भनेर छलफल गरेका थिए । छलफलमा सरकारको तर्फबाट बैंकरलाई संगठित रुपमा भएका यस्ता गतिविधिलाई सकेसम्म छलफलबाट समाधान गर्ने र छलफलबाट सहमति नभएमा कानुनी कारवाहीमा जाने प्रतिबद्धता जनाएका थिए ।
दुर्गा प्रसाई समूहबाट देवी संग्रौलाले पूर्वदेखि पश्चिमसम्म ऋण नतिर्नेहरुलाई उक्साउँदै बैंकका कर्मचारी र धितो मूल्यांकन गर्ने भ्यालुएटरलाई आक्रमण गर्न उक्साइरहेका छन् । यस्तै ऋण असुलीका क्रममा धितो लिलाम र गैर बैंकिङ सम्पत्ति बिक्री गर्न स्थानीय निकायलाई उक्साउने जस्त गतिविधि उक्त समूहले गरिरहेको छ ।
छलफलमा केन्द्रीय बैंकका गभर्नरसहित डेपुटी गभर्नर तथा नियमन र सुपरीवेक्षण विभागका प्रमुखहरू सहभागी छन् ।








प्रतिक्रिया