
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पहिलो त्रैमासको तुलनामा बैंकहरुको कर्जा रिकभरी केही सुधार भएको बैंकहरुले बताएका छन् । पुस महिनाको अन्तिम दिन बुधबार साँझसम्मको अवस्था हेर्दा असोजको तुलनामा ‘रिकभरी’ मा सुधार भएको बैंकरहरुले बताएका हुन् ।
गत असारमा रिकभरीमा जुन सकारात्मक अवस्था देखिएको थियो त्यस अनुसार सुधार हुन भने नसकेको बैंकहरुले बताएका छन् ।
‘असार साउनमा आर्थिक गतिविधिसँगै रिकभरीमा पनि राम्रो सुधार देखिएको थियो । जेनजी मुभमेन्टपछि त्यो लय बिग्रिएको छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘केही पुरानो समस्यामा भएको ऋण सेटल भएको छ भने राम्रो भएको ऋण पनि बिग्रिरहेको देखिन्छ । आर्थिक गतिविधिले नै बजारको अवस्था कस्तो छ भन्ने देखाउँछ । रिकभरीमा पनि अवस्था त्यस्तै छ ।’
गत आर्थिक वर्षको दोस्रो त्रैमास र चालु आर्थिक वर्षकै प्रथम त्रैमासको तुलनामा भने सकारात्मक देखिएको ती बैंकरले बताए । असोजको बक्यौता ब्याज घट्दो अवस्थामा रहेको अर्का एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बताए । ‘धेरै कर्जा नोक्सानी व्यवस्था गरिसकेका छौं । अब रिकभरीमा केन्द्रित हुनपर्ने बेलामा जेनजी मुभमेन्टले केही समस्या भयो । तर, अब सुधार हुन समय लागे पनि थप खराब हुने अवस्था छैन । क्रमिक सुधार हुने चरणमा नै देखिन्छ।’
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा रिकभरीमा जुन निराशाजनक अवस्था थियो अहिले त्यस्तो नदेखिएको ती बैंकरले बताए । जेन जी मुभमेन्टपछि र असोजको बाढी पहिरोपछि नेपाल राष्ट्र बैंकले कतिपय कर्जामा पुनरसंरचना पुनरतालिकिकरणको सुविधा दिएको र जेनजी मुभमेन्टपछि गठन भएको सरकारको तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री र सहरी विकासमन्त्री कुलमान घिसिङले धेरै रुग्ण आयोजनाको ठेक्का सम्झौता तोडेकोले त्यसको दायित्व पनि बैंकहरुमा थपिने अवस्था छ । यसले बैंकहरुको रिकभरीको अवस्था पुसमा भन्दा पनि चैतमा झनै राम्रोसँग देखिने बैंकरहरु बताउँछन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली अर्थतन्त्रमा नै कुनै सुधार नदेखिँदा बैंकहरुको रिकभरी र सम्पत्तिको गुणस्तार सुधार हुने अवस्था नभएको बताउँछन् । ‘केही राम्रो र केही नराम्रो भन्ने हो । जेनजी मुभमेन्टअघि असार र साउनमा जुन लय र सुधार देखिएको थियो अहिले त्यस्तो सकारात्मक अवस्था छैन,’ उनले भने, ‘त्रिशुली जलविद्युत आयोजनाको काउन्टर ग्यारेन्टीको १ अर्ब रुपैयाँ हालै मात्रै आएकाले नबिल बैंकको वित्तीय विवरण राम्रो देखिने अवस्था छ । तर, रिकभरीमा सुधार हुने अवस्था देखिँदैन ।’
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला रिकभरी धेरै सकारात्मक भए पनि असोजको तुलनामा केही राम्रो भएको बताउँछन् । बक्यौता ब्याज केही असुल भएको र गत वर्षको दोस्रो त्रैमास र यही आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा केही सकारात्मक देखिएको बताउँछन् । सबै बैंकिङ क्षेत्रको अवस्था कस्तो छ भन्न नसकिए पनि माछापुच्छ्रे बैंकको भने बक्यौता ब्याज असुलीमा असोजको तुलनामा केही सकारात्मक देखिएको बताए ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल पनि ठूलो रकम प्रोभिजन गरिसकेको हुँदा अब विस्तारै सुधार देखिन लागेको बताउँछन् । बैंकको बक्यौता ब्याज असुलीमा असोजको भन्दा केही सकारात्मक प्रभाव देखिएको उनले बताए ।








प्रतिक्रिया