ट्रम्पलाई ग्रीनल्यान्ड हात पार्नबाट रोक्नका लागि अमेरिकी सांसदहरूद्वारा प्रस्ताव पेश


एजेन्सी । अमेरिकी सिनेटरहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई स्वशासित डेनिस टापु ग्रीनल्यान्ड लगायतका नेटो क्षेत्रहरू कब्जा गर्नबाट रोक्ने उद्देश्यले एउटा विधेयक पेश गरेका छन् ।

मंगलबार पेश गरिएको नेटो एकता संरक्षण ऐनले रक्षा मन्त्रालय र विदेश मन्त्रालयलाई अन्य कुनै पनि नेटो सदस्य राष्ट्रको क्षेत्रलाई नाकाबन्दी गर्न, कब्जा गर्न, गाभ्न वा अन्य कुनै पनि तरिकाले नियन्त्रण कायम गर्नका लागि कोष प्रयोग गर्न रोक्नेछ ।

डेमोक्रेट जीन शाहीन र रिपब्लिकन लिसा मुर्कोव्स्कीद्वारा तयार पारिएको यो विधेयक ट्रम्पको बढ्दो अडानका बीच पेश गरिएको हो । त्यसमा उनले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई आवश्यक परे बल प्रयोग गरेर भए पनि वाशिङटनको नियन्त्रणमा ल्याउनुपर्ने बारम्बार जोड दिँदै आएका छन् ।

‘अमेरिकी करदाताहरूको डलर नेटोलाई विखण्डन गर्ने र नेटोप्रति हाम्रा आफ्नै प्रतिबद्धताहरू उल्लंघन गर्ने कार्यका लागि प्रयोग गर्न नसकिने यस द्विपक्षीय कानूनले स्पष्ट पार्छ,’ न्यू ह्याम्पशायर राज्यको प्रतिनिधित्व गर्ने शाहीनले एक विज्ञप्तिमा भनिन् ।

‘यस विधेयकले ग्रीनल्यान्डको बारेमा हालैका अभिव्यक्तिहरूले अमेरिकाको आफ्नै राष्ट्रिय सुरक्षा हितलाई गम्भीर रूपमा कमजोर बनाउँछ र संसदमा द्विपक्षीय विरोधको सामना गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिन्छ,’ सिनेटरले भनिन् ।

अलास्काको प्रतिनिधित्व गर्ने र ट्रम्पको बिरलै आलोचना गर्ने रिपब्लिकनमध्येकी एक मुर्कोव्स्कीले ३२ सदस्यीय नाटो सुरक्षा गठबन्धन विश्वव्यापी शान्ति र स्थिरतालाई कमजोर पार्ने प्रयासहरूका विरुद्ध रक्षाको सबैभन्दा बलियो पंक्ति भएको बताइन् ।

‘अमेरिकाले हाम्रा सहयोगीहरूका विरुद्ध आफ्ना विशाल स्रोतहरू प्रयोग गर्नेछ भन्ने धारणा मात्र पनि गहिरो रूपमा चिन्ताजनक छ र यसलाई संसद्ले कानूनद्वारा पूर्ण रूपमा अस्वीकार गर्नुपर्छ,’ मुर्कोव्स्कीले भनिन् ।

लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी अन्तर्राष्ट्रिय कानून र युद्ध सम्बन्धी कानूनकी विज्ञ जेसिका पिकले संसदमा विधेयकले व्यापक समर्थन पाउने आशा व्यक्त गरिन् ।

‘यस्तो विधेयक पारित भएमा यसले राष्ट्रपतिलाई एकपक्षीय रूपमा काम गर्न र नेटोसँग अमेरिकाको सम्बन्धलाई निरन्तर जोखिम पार्नबाट रोक्नेछ,’ पिकले बताइन् ।

ग्रीनल्यान्डलाई नियन्त्रणमा लिने ट्रम्पको धम्कीले वाशिङटनका युरोपेली सहयोगीहरूलाई सशंकित बनाएको छ र नेटोको अन्त्य हुन सक्ने चेतावनीहरू निम्त्याएको छ । कुनै एक सदस्य विरुद्धको सशस्त्र आक्रमणलाई सबै विरुद्धको आक्रमण मानिने सिद्धान्तमा नेटो आधारित छ ।

विशाल आर्कटिक क्षेत्रको नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण रहेको दाबी गर्ने ट्रम्पले दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै पश्चिमी नेतृत्वको सुरक्षा व्यवस्थाको आधारशिला रहेको यो गठबन्धन विभाजन हुने चिन्तालाई बेवास्ता गरेका छन् ।

अमेरिकाले नियन्त्रणमा नलिए जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजहरूको विशाल भण्डार रहेको ग्रीनल्यान्डलाई चीन वा रुसले नियन्त्रणमा लिने ट्रम्पले दाबी गरेका छन् ।

‘म उनीहरूसँग सम्झौता गर्न चाहन्छु । यो सजिलो छ,’ ट्रम्पले आइतबार उक्त क्षेत्रको आफ्नो योजनाबारे भने, ‘तर जसरी भए पनि हामी ग्रीनल्यान्ड प्राप्त गर्नेछौं ।’

ट्रम्पको भर्त्सना गर्दै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले मंगलबार उक्त क्षेत्रमा कोपेनहेगनको सार्वभौमसत्ताको रक्षामा अहिलेसम्मकै सबैभन्दा सशक्त टिप्पणीहरू व्यक्त गरे ।

‘हामीले अहिले नै अमेरिका र डेनमार्कमध्ये एक रोज्नुपर्यो भने हामी डेनमार्क रोज्छौं,’ निल्सनले कोपेनहेगनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बताए, ‘हामी नेटो रोज्छौं । हामी डेनमार्क अधिराज्य रोज्छौं । हामी युरोपेली संघ रोज्छौं ।’

डेनमार्कका विदेश मामिला मन्त्री लार्स लोके रासमुसेन र ग्रीनल्यान्डकी उनकी समकक्षी भिभियन मोजफेल्डले बढ्दो संकटबारे छलफल गर्न बुधबार वाशिङटन डीसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्ससँग भेट्ने कार्यक्रम छ ।

डेमोक्रेटिक सिनेटर क्रिस कुन्स र रिपब्लिकन सिनेटर थम टिलिस लगायतका अमेरिकी सांसदहरूको द्विपक्षीय प्रतिनिधिमण्डल वार्ताका लागि शुक्रबार डेनमार्क पुग्ने कार्यक्रम छ ।

सर्वेक्षणका अनुसार, ग्रीनल्यान्डका ५७ हजार बासिन्दाहरूमध्ये विशाल बहुमतले उक्त क्षेत्रमा अमेरिकी नियन्त्रणको विरोध गरेका छन् ।

गत वर्ष डेनिस पत्रिका बर्लिन्ग्स्केद्वारा गरिएको एक सर्वेक्षणमा ८५ प्रतिशत बासिन्दाहरूले आफूहरू अमेरिकामा सामेल हुन नचाहने बताएका थिए भने केवल ६ प्रतिशत मात्र यसको पक्षमा थिए ।