ट्रम्पका अर्बपति साथीहरू भेनेजुएलामा अर्बौं डलर कमाउने दाउमा


एजेन्सी । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि वाल स्ट्रिटका विश्लेषकहरूले यसको सबैभन्दा ठूलो विजेताको रूपमा पल सिंगरलाई घोषणा गर्न ढिलाइ गरेनन् ।

६.७ अर्ब डलर कुल सम्पत्ति भएका हेज फन्ड व्यवस्थापक सिंगर विश्वभरका डिस्ट्रेस्ड एसेट (संकटग्रस्त सम्पत्ति) मा लगानी गर्नका लागि प्रसिद्ध छन् । सिंगरको एलियट कम्पनीद्वारा समर्थित ह्युस्टनस्थित स्टार्टअप एम्बर इनर्जीले हालै अमेरिकी संघीय अदालतको लिलामीमा भेनेजुएलाको तेल कम्पनी सिट्गो खरिद गर्ने अधिकार प्राप्त गरेको छ ।

लुइजियाना, टेक्सस र इलिनोइमा तीनवटा रिफाइनरी र ४ हजार ग्यास स्टेशनहरूको वितरण सञ्जाल भएको यो कम्पनी ५.९ अर्ब डलरमा किन्ने सम्झौता भएको छ । यसलाई धेरैले अत्यन्तै सस्तो मूल्य मानेका छन् ।

ट्रम्पका समर्थक र उनको टोलीलाई आर्थिक सहयोग गर्ने सिंगर वास्तवमै सबैभन्दा ठूलो विजेता हुन सक्छन् । तर, सिट्गो सम्झौताबाट लाभ उठाउने वाल स्ट्रिटका दिग्गज उनी एक्लै भने होइनन् ।

फोर्ब्सले यस सम्झौतामा संलग्न धेरै व्यक्तिहरूसँग कुरा गरेको छ । एलियट र एम्बरको बोलपत्रलाई समर्थन गर्ने अन्य ठूला खेलाडीहरू पनि रहेको उसले थाहा पाएको छ । उनीहरूले यसबाट ठूलो नाफा कमाउनेछन् ।

यस सम्झौताका बारेमा जानकार एक व्यक्तिका अनुसार, एलियटले कुल पुँजीको एक तिहाइ लगानी गरिरहेको छ र वाल स्ट्रिटका हस्तीहरूको एउटा समूहको नेतृत्व गरिरहेको छ । यस समूहमा अर्बपति हावर्ड मार्क्स र ब्रुस कार्शको नेतृत्वमा रहेको लस एन्जलसस्थित ओकट्री क्यापिटल म्यानेजमेन्ट पनि सामेल छ ।

साथै, ४३ अर्ब डलरको सम्पत्ति व्यवस्थापन गर्ने हेज फन्ड सिल्भर पोइन्ट क्यापिटल पनि यस कन्सोर्टियमको हिस्सा हो ।

कनेक्टिकटमा रहेको यो कम्पनी गोल्डम्यान स्याक्सका पूर्व साझेदार एड मुले र रोबर्ट ओ’सियाले स्थापना गरेका हुन् ।

अर्का अर्बपति ट्रम्प समर्थक मार्क रोवानको नेतृत्वमा रहेको अपोलो ग्लोबल म्यानेजमेन्टले यस सम्झौताको ऋण वित्तपोषण (डेट फाइनान्सिङ) को नेतृत्व गरिरहेको छ । रोवानलाई केही समयका लागि ट्रेजरी सेक्रेटरीको उम्मेदवारको रूपमा पनि विचार गरिएको थियो ।

अदालती कागजातहरूका अनुसार, यसमा एम्बरले ३.८ अर्ब डलरको फर्स्ट–लिन ऋण लिनेछ र २.८५ अर्ब डलरको कन्भर्टिबल नोट जारी गर्नेछ ।

यसका साथै, एम्बर कम्पनी स्थापना गर्न मद्दत गर्ने ऊर्जा क्षेत्रका दिग्गजहरू पनि यसमा संलग्न छन् । एम्बरका अध्यक्ष जेफ स्टिभन्स र सीईओ ग्रेग गफ हुन् । उनीहरूसँग रिफाइनिङ क्षेत्रको लामो अनुभव छ ।

उनीहरूले यसअघि वेस्टर्न रिफाइनिङ र एन्डेभर जस्ता कम्पनीहरू अर्बौं डलरमा बिक्री गरिसकेका छन् । गफ र स्टिभन्सले एलियटको ऊर्जा टोलीसँग मिलेर यसअघि म्याराथन पेट्रोलियमविरुद्ध पनि काम गरेका थिए ।

ट्रम्पको पछिल्लो कदमअघि नै सिट्गोका लागि एम्बरको विजयी बोलपत्र विवादास्पद थियो । १० वर्षको अदालती र लामो लिलामी प्रक्रियापछि डेलावेयरका अमेरिकी जिल्ला न्यायाधीश लियोनार्ड स्टार्कले एम्बरको पक्षमा फैसला सुनाएका थिए जबकि यसको बोलपत्र अर्को प्रतिद्वन्द्वीको तुलनामा २ अर्ब डलर कम थियो ।

एम्बरको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी क्यानेडियन खानी कम्पनी गोल्ड रिजर्भको नेतृत्वमा रहेको समूह थियो । गोल्ड रिजर्भका कार्यकारी उपाध्यक्ष पल रिभेट अझै पनि आफ्नो ८ अर्ब डलरको बोलपत्र अस्वीकृत भएकोमा रुष्ट छन् । ‘सिट्गो किन कम बोलपत्र लगाउनेलाई दिइयो ?’ उनले प्रश्न गरे ।

न्यायाधीशले एम्बरको पक्षमा फैसला सुनाउँदै एम्बरले सम्झौता पूरा गर्ने सम्भावना बढी भएको तर्क दिएका थिए । गोल्ड रिजर्भले भने यस लिलामी प्रक्रियामा स्वार्थको द्वन्द्व रहेको आरोप लगाएको छ । उसले यसै हप्ता पुनरावेदन अदालतमा अन्तिम प्रयासस्वरूप उजुरी दर्ता गर्दैछ ।

विशेष कुरा के छ भने ५.९ अर्ब डलरको यो रकम भेनेजुएला वा यसको सरकारी तेल कम्पनी पीडीभीएसएले पाउने छैनन् । यो सबै रकम भेनेजुएलाबाट पीडित भएका दर्जनौं कम्पनी र लगानीकर्ताहरूको दाबी भुक्तानी गर्न प्रयोग गरिनेछ ।

यसमा कोनोकोफिलिप्सले १.४ अर्ब डलर, रुसोरोले ४० करोड डलर नगद र ६५ करोड डलर ऋणको रूपमा र टेनोर क्यापिटल म्यानेजमेन्टले १ अर्ब डलरभन्दा बढी पाउनेछन् ।

एलियटसँग समस्याग्रस्त देशहरूको ऋण असुलीको गहिरो अनुभव छ । ८१ वर्षीय सिंगरले सन् २००१ को आर्थिक संकटपछि अर्जेन्टिनाको संकटग्रस्त ऋण किनेका थिए र एक दशकभन्दा लामो कानुनी लडाइँपछि सन् २०१६ मा ठूलो नाफासहित असुल गरेका थिए । ओकट्री क्यापिटलसँग पनि भेनेजुएलामा काम गरेको अनुभव छ ।

एम्बरका सीईओ ग्रेग गफ सिट्गोका प्लान्टहरूलाई छुट्याउन चाहँदैनन् बरु ती प्लान्टहरूमा लगानी गरेर सुधार गर्न चाहन्छन् । सिट्गोका रिफाइनरीहरूले दैनिक ८ लाख ब्यारल तेल प्रशोधन गर्ने क्षमता राख्छन् । ट्रम्पले भेनेजुएलाको कच्चा तेल आयात पुनः सुरु गर्न चाहेकाले सिट्गोको मूल्य भविष्यमा अझ बढ्न सक्छ ।

विश्लेषकहरूले सिट्गोको वास्तविक मूल्य ११ देखि १८ अर्ब डलरको बीचमा हुन सक्ने अनुमान गरेका छन् । एम्बरले ५.९ अर्ब डलर मात्र तिरेको हुनाले यो निकै नाफामूलक सम्झौता देखिन्छ । गफको टोलीले सिट्गोको सञ्चालनमा सुधार ल्याउन सकेमा यसको मूल्यमा थप अर्बौं डलर थपिनेछ ।

सम्झौता अझै पूर्ण रूपमा टुंगिएको छैन । त्यसैले एम्बर र एलियटले आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

भेनेजुएलाकी नयाँ राष्ट्रपति डेल्सी रोड्रिगेजले हालैका महिनाहरूमा भेनेजुएलाले सिट्गोको जबर्जस्ती बिक्रीलाई मान्यता नदिने बताएकी छन् ।

तर, लामो समयदेखि आफ्नो पैसाको पर्खाइमा रहेका रुसोरो माइनिङ जस्ता कम्पनीहरूका लागि भने यो ठूलो राहतको विषय बनेको छ । सन् २०११ मा ह्युगो चाभेजले उनीहरूको सुनखानी जफत गरेदेखि उनीहरू न्यायको पर्खाइमा थिए ।