रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो, रास्वपाले बोलायो सचिबालय बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति अन्तत भाँडिएको छ ।

आज दिउसोसम्म भएको दुई पक्षीय बीचको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिएका छन ।

कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको नयाँ प्रस्ताव अघि सारेपछि एकता भंग भएको रास्वपा स्रोतले जानकारी दियो ।

‘वरिष्ठ उपसभापति माग भयो। पूर्वसहमतिबाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आयो। महामन्त्री पनि हुनुपर्यो भन्ने प्रस्ताव आयो । यसमा सहमति नभएपछि एकता भंग भयो,’ ती नेताले भने।

तीन नेताका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।

ऊर्जामन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए ।

राजीनामा दिनेक्रममा उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेकोलगायत सम्बोधन गरेका थिए ।

यसैबीच रास्वपाले पार्टीको आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।

बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् ।

स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाले शीर्ष छलफल गर्न लागेको हो ।