सेबोन र नेप्से सञ्चालकमा राष्ट्र बैंकबाट प्रतिनिधित्व रहने व्यवस्था स्वार्थ बाझिने किसिमको भयो


काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व रहने व्यवस्था स्वार्थ बाझिने किसिमको रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८२ का अनुसार सेबोन र नेप्से सञ्चालकमा राष्ट्र बैंकबाट प्रतिनिधित्व रहने व्यवस्था स्वार्थ बाझिने किसिमको रहेको हो ।

‘नेपाल राष्ट्र बैंकले नेप्सेमा दुई सञ्चालकको प्रतिनिधित्व सुरुदेखि गराइरहेको छ । यसको सेयर संरचना ३४ प्रतिशतबाट १० प्रतिशतमा घटाइएको साथै नियामक सेबोनको अतिरिक्त बजार सञ्चालकमा पनि प्रतिनिधित्व (अहिले पनि दुई जना) गराइरहेको छ,’ कार्यदलको सुझावमा भनिएको छ, ‘यसमा स्वार्थ बाझिन्छ किनकि यसको मुख्य नियामक सेबोनको स्थापना वर्ष २०५० देखि नै सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेको छ र पुँजीबजार र मुद्राबजारबीच समन्वय गर्न यो प्रतिनिधित्व आवश्यक छ ।’

कार्यदलले सुरुमा बजार राम्रो विकास नभइसकेको अवस्थामा नेप्सेमा प्रतिनिधित्व हुनु उचित नै भएतापनि अब बजार विकास भैसकेको अवस्थामा नेप्सेमा प्रतिनिधित्व उचित नभएको जनाएको छ ।

‘सेबोन र नेप्से स्थापना भएको ३२ वर्षपश्चात् पुँजीबजारमा व्यापक परिमाणात्मक र गुणात्मक वृद्धि भई जिडिपीसँग उल्लेख्य अनुपातमा पुगिसक्दा पनि बजार सञ्चालकमा प्रतिनिधित्व गराइरहनु स्वार्थ बाझिने तथा नियामक र उदारीकरणको आधारभूत सिद्धान्त विपरीत छ ( नियामक र नियमन गरिने दुवै संस्थामा प्रतिनिधित्व गराउँदा),’ कार्यदलको सुझावमा भनिएको छ ।

‘नेप्सेको सञ्चालक समितिलाई सेबोनले कारवाही गर्नु पर्दा कसरी गर्ने ? आफै बोक्सी आफै धामीको रूपमा गर्न मिल्छ (स्वार्थ बाझिने भनेको यही हो),’ प्रतिवेदनमा भनिएको छ, ‘ वित्तीय क्षेत्रको अगुवा र सशक्त रहेको केन्द्रीय बैंकले नै यस्तो स्वार्थ बाझिने नमिल्दो काम गरिरहँदा वित्तीय क्षेत्रमा नै विचलन आइरहेको छ र आँउछ ।’

Skip This