बैंकिङ क्षेत्र सुझाव सुधार कार्यदलको प्रतिवेदन

बोक्सी र झाँक्री दुवैको रूप राष्ट्र बैंकले लिएपछि पुँजी बजारमा गम्भीर समस्या आयो


काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले ६ बुँदामा पुँजी बजारका समस्या औंल्याएको छ । कार्यदलले मुख्यगरी ६ बुँदामा बैंकिङ तथा मौद्रिक क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई हस्तक्षेप गर्दा धेरै समस्याहरू देखापरेको कार्यदलको निष्कर्ष छ ।

कार्यदलले बजार विकासको क्रममा पहिले नै स्थापित नियामक निकाय नेपाल राष्ट्र बैंकले सुरुमा विशेष भूमिका निर्वाह गरेको भए तापनि त्यसैका अधारमा अहिले अर्थात् नेप्से स्थापना भएको ३०/३२ वर्षसम्म पनि नियामक सेबोन एक र नेप्सेमा सुरुदेखि नै दुई सञ्चालकको प्रतिनिधित्व गराँउदा ठूलो विचलन र स्वार्थ वाझिने स्थिति देखिएको उल्लेख गरेको छ ।

सेबोनले नेप्सेलाई कारवाही गर्दा नेपाल राष्ट्र बैंकको सञ्चालकलाई कसरी कारवाही गर्ने समस्या देखिन्छ र बोक्सी र झाँक्री दुवै रूप नेपाल राष्ट्र बैंकले लिएपछि गम्भिर समस्या उत्पन्न भएको कार्यदलको सुझाव छ ।

सेबोनको सल्लाह र समन्वयविना हरबखत पुँजीबजारलाई प्रभावित गर्ने नीति ल्याउनु आधारभूत सिद्धान्त र उदारताको विपरीत नीति भएको कार्यदलको भनाइ छ ।

‘बारम्बार कहिले सेयरकर्जाको सीमा र संरचना परिवर्तन, कहिले जोखिम परिवर्तन, कहिले बैंकको पोर्टफोलियो परिवर्तन गरी कुनै न कुनै हिसाबले पुँजीबजारलाई हस्तक्षेप गरिरहनु अपरिपक्व नियमनलाई इङ्गित गर्दछ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘यसरी हस्तक्षेप गरिरहँदा पुँजीबजारको नियामक नै नेपाल राष्ट्र बैंक हो कि जस्तो देखिएको छ । यसबाट नियमन होइन, बैंक र पुँजीबजारमा सुक्ष्म व्यवस्थापन र नियन्त्रण गरेको देखिन्छ जुन दुःखदायी स्थिति हो ।’

कार्यदलको प्रतिवेदनमा सेयर किन्न दिने तर बेच्न नदिने एवं सानोतिनो विषयमा नियामकले डिक्टेट गर्न खोज्दा व्यवस्थापन क्षमता र विज्ञता भएका बैंकमा यस्तो कार्यले बैंक र जनशक्ति दुवैलाई प्रतिकूल असर गरिरहेको भनिएको छ ।

‘एक्काइसौं शताब्दीको केन्द्रीय बैंकले अहिलेसम्म यस्तो किसिमको कार्य गर्दा २०४० साल पूर्वको नियन्त्राणात्मक नीतिको झझल्को दिइरहेको छ,’ कार्यदलको सुझावमा भनिएको छ, ‘बारम्बारको नियमन परिवर्तनले कतिपय लगानीकर्ताका पोर्टफोलियोमा आन कि तान असर गरी आत्महत्यासमेत गरेका अर्थात् सामाजिक द्वन्द्वमा फसेका उदाहरण छन् ।’