
काठमाडौं । गत कात्तिकमा परेको बेमौसमी वर्षाका कारण सबैभन्दा बढी धानवालीमा क्षति पुगेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार गत् कात्तिक १५ गतेदेखि १७ गतेसम्म परेको बेमौसमी वर्षाका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा गरी २० हजार १ हेक्टरको धानवालीलाई क्षति पुर्याएको छ ।
मन्त्रालयको प्रतिवेदनअनुसार २ अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँबराबरको ७५ हजार ६ सय ७४ मेट्रिक टन धान नष्ट भएको छ । सबैभन्दा बढी कोशी प्रदेशमा र कोशीको झापा जिल्लामा ४ हजार ३ सय ६४ हेक्टरमा लगाइएको धानवालीमा क्षति पुगेको छ ।
कोशी प्रदेशमा १२ हजार ४ सय ३२ हेक्टर, मधेश प्रदेशमा ४ सय १६ हेक्टर, बागमतीमा ६ हजार ६६ हेक्टर, गण्डकीमा १ सय ९१ हेक्टर र लुम्बिनीमा ८ सय ९६ हेक्टरमा लगाइएको धानवाली नष्ट भएको थियो ।
यस्तै बेमौसमी वर्षाका कारण तरकारीवालीतर्फ २२ करोड २३ लाख ८५ हजार रुपैयाँबराबरको ५ सय ८६ हेक्टरको ६ हजार ८ सय ३६ मेट्रिक टन, केरातर्फ १० लाख रुपैयाँबराबरको १३२ मेट्रिक टन, आलुतर्फ १ करोड ९७ लाख ४४ हजार रुपैयाँबराबरको १ हजार ९ सय ४९ मेट्रिक टन, कोदोतर्फ २ लाख २९ हजार रुपैयाँबराबरको ४५ मेट्रिक टन, दलहनतर्फ १३ लाख ८ हजार रुपैयाँबराबरको १६२ मेट्रिक टन र तेलहनतर्फ २८ लाख २० हजार रुपैयाँबराबरको २ मेट्रिक टन नष्ट भएको छ ।
समग्रमा कात्तिकमा परेको बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा २ अर्ब ९१ करोड १६ लाख १० हजार रुपैयाँबराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
यसअघि असोजमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँबराबरको क्षति भएको थियो ।
मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार खाधान्न बाली(धान, मकै, कोदो) र तरकारीवालीहरुतर्फ ३ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, पशुपन्छी तथा माछातर्फ १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ ४ करोड ४५ लाख ९५ हजार तथा बीउ बिजनतर्फ २ करोड ७९ लाख ४४ हजार रुपैयाँबराबरको क्षति भएको छ ।
मन्त्रालयका अनुसार गत् असोजमा परेको वर्षा पश्चात् आएको बाढी र डुवानका कारण सबैभन्दा बढी मधेश प्रदेशमा कृषिजन्य बालीलाई क्षति पुगेको छ ।
उक्त प्रदेशमा २ अर्ब ९८ करोड रुपैयाँबराबरको ९ हजार १ सय ८६ हेक्टर जग्गामा भएको खाद्यान्न, तरकारी, फलफूल, उखुलगायत गरी ९९ हजार ८ सय ३३ मेट्रिक टन क्षति भएको छ । मधेश प्रदेशमा पशुपन्छी तथा माछातर्फ पनि अत्यधिक क्षति भएको छ । १२ करोड ९४ लाख ८२ हजार रुपैयाँबराबरको ३८ हजार गोटा पशुपन्छी तथा माछा नष्ट भएका छन् ।
यस्तै दोश्रोमा कोशी प्रदेशमा ३४ करोड २४ लाख २५ हजार रुपैयाँबराबरको १ हजार ४ सय १४ हेक्टरको ६ हजार २ सय ३५ मेट्रिक टन खाद्यान्न वाली नष्ट भएको छ । त्यो प्रदेशमा पशुपन्छी तथा माछातर्फ भने १ करोड ८० लाख १८ हजार रुपैयाँबराबरको ७ हजार ३ सय गोटा नष्ट भएका थिए ।
यसैगरी बागमती प्रदेशमा १ करोड २४ लाख ६३ हजार रुपैयाँबराबरको ८७ हेक्टरको १ सय ४३ मेट्रिक टन खाद्यान्न बाली क्षति भएको थियो । यो प्रदेशमा १५ लाख ५२ हजार रुपैयाँबराबरको २२३ वटा पशुपन्छी र माछा नष्ट भएको थियो ।
त्यस्तै गण्डकी प्रदेशमा १२ लाख ८० हजार रुपैयाँबराबरको १ हजार हेक्टरको ९ मेट्रिक टन खाद्यान्न क्षति भएको थियो । यो प्रदेशमा १४ करोड ९० लाख ५२ हजार रुपैयाँबराबरको ४५ हजार ६४० वटा पशुपन्छी र माछा नष्ट भएको थियो । पशुपन्छी तथा माछातर्फ सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको छ ।
अघिल्लो वर्ष असोज १० गतेदेखि परेको अविरल वर्षा पश्चात् बाढी र डुवानका कारण पनि कृषि क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याएको थियो ।
त्यो वेला ३ अर्ब ५० करोड रुपैयाँँबराबरको ५८ हजार ४ सय ७६ हेक्टरको धानवाली नष्ट भएको थियो । यस्तै ७० करोड रुपैयाँबराबरको १ हजार ३ सय हेक्टरको अलैंची नष्ट भएको थियो । ३४ करोड रुपैयाँबराबरको ८५ हेक्टरको उखुवाली, १ अर्ब १३ करोड रुपैयाँबराबरको ४५८ हेक्टरमा रहेको पोखरीको माछा, १६ करोड रुपैयाँबराबरको भौतिक पूर्वाधार, २५ पशु गोठ नष्ट भएको थियो ।
यस्तै २२ हेक्टरको फलफूल वगैचा, ४ हजार ७ सय ४३ हेक्टरको तरकारीवाली र दुई वटा कोल्डस्टोरमा क्षति पुगेको थियो ।







प्रतिक्रिया