
काठमाडौं । रुसले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनविरुद्ध युद्ध थालेपछि रुसी अर्थतन्त्रमा केही नकारात्मक असर परेको छ । तर, युद्ध लगभग चार वर्षसम्म चलिरहँदा पनि रुसी अर्थतन्त्र धराशायी भएको छैन । यसको कारणका विषयमा चर्चाको कोशिश गरिँदैछ ।
युद्धपछि पश्चिमले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । त्यसपछि विदेशी कम्पनी र लगानीकर्ताहरू रुसबाट बाहिरिएका थिए । आक्रमणलगत्तै सन् २०२२ मै रुसमा प्रत्यक्ष वैदेशिक लगानी ध्वस्त भएको थियो । विश्व बैंकको तथ्यांकअनुसार, त्यतिखेर रुसको पुँजी आप्रवाहमा नकारात्मक असर परेर लगभग ४० अर्ब डलर बराबरको घाटा लागेको थियो ।
त्यो एक वर्षको मात्र कुरा थिएन । ऊर्जा क्षेत्रका बीपी, एक्सोनमोबिल र शेल, अटो क्षेत्रका फोक्सवागन, टोयोटा, निसान र फोर्ड, फास्टफूड कम्पनीहरू म्याकडोनल्ड्स, कोकाकोला र स्टारबक्स, फेशन र रिटेलका ब्रान्ड एच एन्ड एम, जारा, नाइकी, एडिडासका साथ नेटफ्लिक्स र एयरबीएन्डबी जस्ता कम्पनीहरूले रुसमा आफ्ना अपरेशनहरू बन्द गरेका थिए ।
यी बहुराष्ट्रिय कम्पनीहरू रुसबाट बाहिरिँदा, प्रमुख जोइन्ट भेन्चरहरू बन्द हुँदा र सीमापार आर्थिक कारोबार अवरुद्ध हुँदा रुसलाई आफ्नो अर्थतन्त्रलाई आधुनिकीकरण गर्न र विविधतापूर्ण बनाउन कठिनाइ आएको विश्व बैंकको निष्कर्ष छ ।
विदेशी कम्पनी बाहिरिएसँगै पश्चिममा रहेका रुसका सरकारी एवं निजी सम्पत्तिलाई रोक्का गरिँदा पनि रुसलाई आर्थिक क्षति पुगेको छ
तर, अहिले कतिपय पश्चिमी कम्पनीहरू रुसमा फर्केका पनि छन् । पेप्सीले सन् २०२४ मा नोभोबिर्स्क भन्ने ठाउँमा नुनिलो खाजाको कारखाना खोलेको छ । त्यस्तै म्याकडोनल्ड्सले भिकुस्नो ई टोच्का नाम दिएर आउटलेटहरू सञ्चालन गरिरहेको छ । युनिलिभरले रुसमा व्यापार गरिरहेको छ । उसका म्याग्नम भनिने उत्पादनहरू स्थानीय बजारमा पाइन्छन् ।
होटेल चेन मेरियटले पनि नयाँ स्थानीय ब्रान्ड बनाएर सञ्चालन जारी राखेको छ । त्यस्तै दक्षिण कोरियाको गाडी कम्पनी ह्युन्डाई पनि रुसी बजारमा फर्किने तयारी गरिरहेको छ ।
विदेशी कम्पनी बाहिरिएसँगै पश्चिममा रहेका रुसका सरकारी एवं निजी सम्पत्तिलाई रोक्का गरिँदा पनि रुसलाई आर्थिक क्षति पुगेको छ । रुसको ठ्याक्कै कति सम्पत्ति रोक्का भएको छ भनी यकिन विवरण पाइँदैन तर त्यो २०० देखि ३५० अर्ब डलर बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरिएको छ । प्रतिबन्ध र बन्देजका विभिन्न उपायमध्ये सम्पत्ति रोक्का महत्त्वपूर्ण छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार, रुसको सार्वभौम सम्पत्तिमध्ये २६४ अर्ब डलर जी७ मुलुकहरूमा रोक्का भएर बसेका छन् । यसबाहेक रोक्का गरिएको रुसी सम्पत्तिको ठूलो हिस्सा (करिब २२७ अर्ब डलर) बेल्जियमको सिक्योरिटीज डिपोजिटोरी र युरोक्लियर बैंकमा छ । त्यो सबैलाई जोड्दा करिब ५०० अर्ब डलर पुग्न जान्छ ।
प्राविधिक रूपमा भन्नुपर्दा रुसले यो पैसा गुमाइसकेको छैन, यसको उपयोग गर्न नपाएको मात्र हो । तर, यस रोक्काले रुसलाई आफ्नो मुद्रा स्थिर बनाउन, विदेशी ऋण बजारमा पहुँच पाउन वा आयात सुनिश्चित गर्न कठिनाइ ल्याएको छ ।
पश्चिमाहरूले सम्पत्ति रोक्कालाई भूराजनीतिक बार्गेनिङ चिपका रूपमा पनि उपयोग गरिरहेका छन् । उनीहरू यी सम्पत्तिको ब्याज वा मुनाफालाई युक्रेनको पुनर्निर्माणमा उपयोग गर्न मिल्छ कि मिल्दैन भनी बहस गरिरहेका छन् ।
गत अक्टोबर महिनामा युरोपेली संघका नेताहरूले रोक्का गरिएका रुसी सम्पत्तिमध्ये १६२ अर्ब डलर युक्रेनलाई ऋणका रूपमा दिने योजनामा सहमति जनाएका थिए ।
युरोपेली संघकी विदेशनीति प्रमुख काया कालासले बेल्जियमलाई रुसी सम्पत्ति युक्रेनलाई दिनका लागि दबाब दिएकी थिइन् । तर, त्यसो गर्दा शान्ति सम्झौतामा नकारात्मक असर पर्न सक्ने भनी बेल्जियमले त्यो रकम दिन चाहेको छैन ।
रुसले बेल्जियमविरुद्ध कुनै पनि अदालतमा मुद्दा दायर गर्नका लागि हिम्मत नगर्ने भन्दै कालासले ब्रसेल्सलाई दबाब दिए पनि बेल्जियमका प्रधानमन्त्री बार्ट डी वेभरले मानेनन् । त्यसरी रुसी पैसा दिँदा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने र त्यसले वित्तीय बजारमा अनिश्चिता एवं डर सिर्जना गर्ने तथा युरो मुद्रालाई पनि असर गर्ने भन्दै कडा पत्र सार्वजनिक गरेका छन् ।
युक्रेनमाथिको आक्रमणपछि रुसको व्यापारिक सम्बन्धमा पनि असर परेको छ । युरोपेली बजारबाट रुसमा हुने निर्यात करिब ६० प्रतिशतले घटेको छ भने युरोपेली संघले गर्ने रुसी वस्तुको आयात पनि नाटकीय रूपमा घटेको छ ।
विशेषगरी युरोपले रुससँग तेल र ग्यास आयात गर्ने गरेकोमा युक्रेन युद्धले त्यसलाई स्वाट्टै घटाइदिएको थियो । हुँदाहुँदा रुसबाट जर्मनी पुग्ने नर्डस्ट्रीम ग्यास पाइपलाइनलाई बम हानेर ध्वस्त समेत पारिएको थियो ।
सन् २०२१ मा रुसले युरोपेली संघलाई आफ्नो ४५ प्रतिशत ग्यास र २७ प्रतिशत तेल बेच्ने गरेको थियो । सन् २०२४ मा आइपुग्दा त्यो घटेर क्रमशः १९ प्रतिशत र ३ प्रतिशतमा पुगेको सेन्टर फर रिसर्च अन इनर्जी एन्ट क्लिन एयर नामक संस्थाले तथ्यांक प्रकाशन गरेको छ । तर, सन् २०२१ पछि रुसबाट ग्यास आयातमा नाटकीय कमी आए पनि रुसको एलएनजी ग्यासको आयात बढेको युरोपेली संघकै तथ्यांकले देखाउँछ । रुसका सबै ग्यासमा सोलोडोलो प्रतिबन्धको अभावमा फ्रान्स, स्पेन र बेल्जियमले एलएनजी ग्यासको आयात बढाएका छन् ।
रुसबाट ग्यास र तेल किन्न छोडेपछि युरोपेली संघले विभिन्न मुलुकबाट आयात गर्न थालेको छ । त्यसमा नर्वे र अमेरिका शीर्ष स्थानमा छन् ।
युरोपले भारत, चीन र टर्कीबाट डिजेल र अन्य प्रशोधित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । ती देशहरूले रुसबाट सस्तो मूल्यमा पाएको कच्चा तेललाई प्रशोधन गरेर युरोपेली बजारमा पठाउने गरेका छन् । युरोपलाई रुसबाट सिधै तेल किन्नु र यसरी पछाडिको ढोकाबाट प्रशोधित तेल किन्नुले चर्को मूल्य तिर्न बाध्य बनाएको छ
सन् २०२५ को दोस्रो त्रैमासमा युरोपेली संघलाई पाइपलाइनमार्फत ग्यास उपलब्ध गराउने सबभन्दा ठूलो स्रोत नर्वे थियो । त्यसबाहेक अल्जेरिया, बेलायत, अजरबैजान र लिबियाले पनि युरोपेली संघलाई पाइपलाइन ग्यास उपलब्ध गराइरहेका छन् । त्यसबाहेक युरोपेली संघलाई एलएनजी ग्यास आपूर्ति गर्ने सबभन्दा ठूलो स्रोत अमेरिका हो ।
सन् २०२४ मा युरोपेली संघले गरेको कुल एलएनजी आयातमध्ये करिब ४५ प्रतिशत अमेरिकाबाटै आएको थियो । त्यसबाहेक कतार, अल्जेरिया र नाइजेरियाबाट पनि एलएनजी आपूर्ति हुने गरेको छ ।
तेलको कुरा गर्दा नर्वे, अमेरिका र कजाकस्तानबाट युरोपेली संघले कच्चा तेल आयात गरिरहेको छ । त्यस्तै मध्यपूर्व र पश्चिम अफ्रिकाबाट पनि कच्चा तेल आयात भइरहेको छ । प्रशोधित तेलको कुरा गर्दा, युरोपले भारत, चीन र टर्कीबाट डिजेल र अन्य प्रशोधित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । ती देशहरूले रुसबाट सस्तो मूल्यमा पाएको कच्चा तेललाई प्रशोधन गरेर युरोपेली बजारमा पठाउने गरेका छन् । युरोपलाई रुसबाट सिधै तेल किन्नु र यसरी पछाडिको ढोकाबाट प्रशोधित तेल किन्नुले चर्को मूल्य तिर्न बाध्य बनाएको छ ।
पश्चिमले लगाएको तमाम प्रतिबन्ध र बन्देजका बावजूद रुसी अर्थतन्त्रलाई ऊर्जा निर्यातले धराशायी हुनबाट जोगाएको हो । अहिले पनि रुस संसारभरि तेल, प्राकृतिक ग्यास, कोइला र प्रशोधित उत्पादनको प्रमुख विश्वव्यापी आपूर्तिकर्ता हो । रुसले युक्रेनमाथि आक्रमण गर्दा संसारभरि ऊर्जाको मूल्यमा वृद्धि भएको थियो । त्यसले गर्दा प्रतिबन्धको बावजूद रुसलाई विशाल लाभ प्राप्त भयो । हुँदाहुँदा अमेरिकाले समेत रुससँग कारोबार जारी राखेको छ । सन् २०२५ मा अमेरिकाले रुसबाट ५ अर्ब डलर बराबरको फर्टिलाइजर, प्लाटिनम र रेडियोएक्टिभ सामग्रीहरू आयात गरेको ग्लोबल ट्रेड एल्गोरिदमिक इन्टेलिजेन्स सेन्टरको तथ्यांकले देखाउँछ ।
सन् २०२२ मा पश्चिमी मुलुकहरूले समुद्रको बाटो हुँदै आउने रुसी कच्चा तेलमा आयात प्रतिबन्ध लगाउनुका साथै तेलको अधिकतम मूल्य (प्राइस क्याप) तोकेर उसको आम्दानीमा प्रहार गर्न खोजेका थिए । तर चीन, भारत, टर्की र मध्यपूर्व एवं उत्तरी अफ्रिकाका मुलुकहरूले रुसी तेल किनिदिए । रुसले ती मुलुकहरूलाई छुट मूल्यमा तेल उपलब्ध गराएर विशाल आम्दानी गर्न पाएको थियो ।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ट क्लिन एयरको पछिल्लो तथ्यांकअनुसार, अक्टोबर महिनामा चीनले रुसबाट ५.८ अर्ब युरो बराबरको जीवाश्म इन्धन खरिद गरेको छ । त्यसमध्ये कच्चा तेल ६३ प्रतिशत, कोइला १२ प्रतिशत, पाइपलाइन ग्यास ११ प्रतिशत, एलएनजी ७ प्रतिशत र तेल उत्पादनहरू ६ प्रतिशत छन् । त्यस्तै भारतले अक्टोबर महिनामा ३.१ अर्ब युरो बराबरको रुसी जीवाश्म इन्धन खरिद गरेको छ । त्यसमध्ये कच्चा तेल ८१ प्रतिशत, कोइला ११ प्रतिशत र तेल उत्पादनहरू ७ प्रतिशत रहेका छन् । उता टर्कीले अक्टोबरमा २.७ अर्ब युरो बराबरको आयात गरेको थियो । युरोपेली संघले यस अवधिमा १.१ अर्ब युरो बराबरको रुसी जीवाश्म इन्धन किनेको छ । समग्रमा सन् २०२२ देखि २०२५ सम्ममा रुसले तेल र ग्यासबाट करिब १० खर्ब डलरभन्दा बढीको आम्दानी गरेको अनुमान गरिन्छ ।
ऊर्जा निर्यातबाट भएको आम्दानीको बलमा रुसले सरकारी खर्च धान्न सकिरहेको छ । उसलाई युक्रेनमा युद्ध लम्ब्याइरहन पनि यही आम्दानीले सहयोग गरेको छ । त्यसैलाई विचार गरेर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी तेल किन्ने मुलुकहरूमाथि सेकेन्डरी स्यांक्सन लगाउने धम्की दिएका छन् । तर, भारतलाई २५ प्रतिशत दण्डात्मक भन्सार शुल्क लगाएबाहेक ट्रम्पले आफ्नो धम्कीको खासै कार्यान्वयन गरेका छैनन् । अझ, शान्ति सम्झौतालाई निष्कर्षमा पुर्याएर उनी रुससँग पुनः व्यापार थाल्न र रुसलाई जोडेर जी८लाई ब्युँताउन चाहन्छन् ।
माथि चर्चा गरिएका विषयलाई छोटकरीमा भन्नुपर्दा, युक्रेन युद्धपछि रुसले बेहोरेको नोक्सानी र त्यसको प्रभावबारे दुईवटा कुरा स्पष्ट हुन्छ । पहिलो, आँकडामा हेर्दा रुसले आक्रमणलगत्तै सयौं अर्ब डलर गुमायो । विदेशी बैंकमा रहेको उसको पैसा फ्रिज भयो, विदेशी लगानी रोकियो र व्यापार घट्यो । त्यसले रुसलाई विश्वको व्यापार सञ्जालबाट अलग्यायो ।
दोस्रो, ऊर्जा (तेल–ग्यास) बेचेर आएको पैसाले यो नोक्सानी केही घटायो । धेरै पश्चिमी विश्लेषकले सोचेको भन्दा बढी पैसा रुसी बजेटमा आयो र मुद्रा सन्तुलनमा रह्यो । अमेरिकाका पूर्ववर्ती राष्ट्रपति जो बाइडनले रुसी मुद्रा रुबललाई रबल (ढुंगामाटो) बनाइदिने धम्की दिएको भए पनि युक्रेन आक्रमणको अघिल्लो दिन २०२२ फेब्रुअरी २३ मा १ अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ८१.२० रहेकोमा सन् २०२५ को डिसेम्बर १ मा त्यो मूल्य ७७.७२ रहेको छ । अर्थात्, पश्चिमको आर्थिक प्रतिबन्धका बावजूद रुसी रुबल कमजोर भएको छैन । उसको विदेशी मुद्रा सञ्चिति पनि राम्रै छ । सेन्ट्रल बैंक अफ द रसियन फेडरेशनको तथ्यांकअनुसार, हाल रुससँग ७२९.१ अर्ब अमेरिकी डलर छ ।
रुसको सम्पूर्ण अर्थतन्त्र तत्काले खरानी हुने अवस्था छैन । सरकारसँग अझै पनि मनग्गे पैसा छ, तेल र ग्यासबाट कमाइ भइरहेकै छ, पूँजी नियन्त्रण र आयात प्रतिस्थापनले ठूलो संकट रोकेको छ अनि चीन र भारतजस्ता देशसँग व्यापार बढेको छ
पश्चिमा विश्लेषकहरू तत्कालका लागि रुसी अर्थतन्त्र सम्हालिएको भए पनि दीर्घकालीन रूपमा उसलाई ठूलो क्षति हुने सम्भावना रहेको बताउँछन् । भर्फास्सुङ्सब्लग नामक जर्मन थिंकट्यांकका अनुसार, प्रतिबन्ध निरन्तर कायम रहेमा प्रविधि, आधुनिक यन्त्र, सफ्टवेयर र विदेशी विशेषज्ञसँगको सम्पर्क टुट्नाले रुसको विकासलाई एक दशकसम्म कमजोर बनाउन सक्छ।
रुसको सरकारी तथ्यांकले सन् २०२२ पछि केही आर्थिक वृद्धि भएको देखाएको छ । युद्ध अर्थतन्त्रअन्तर्गत सेनामा ठूलो खर्च गरेको, कतिपय सामानहरू आफैं बनाउन थालेको र ऊर्जाबाट भएको राम्रो कमाइले अर्थतन्त्रलाई मद्दत गरेको रुसको भनाइ छ । तर, स्वतन्त्र र अन्तर्राष्ट्रिय संस्थाहरूले वास्तविक वृद्धि कम भएको, महँगी बढेको, लगानी घटेको र ऊर्जाबाहेकका क्षेत्रको उत्पादकत्व खस्किएको बताएका छन् ।
ब्याजदर बढाएर र डलरबाहेक सुन तथा अन्य मुद्रा जम्मा गरेर रुसको केन्द्रीय बैंकले स्थिरता कायम गर्ने प्रयास गरिरहेको छ । कुल गार्हस्थ्य उत्पादनको अंक राम्रो देखिए पनि धेरै परिवारको आम्दानी र जीवनस्तर महँगीले गर्दा घटेको बताइएको छ । तैपनि अर्थतन्त्र चलायमान छ ।
तर, पश्चिमले भने जस्तो गरी आर्थिक प्रतिबन्ध थप बढाएमा रुस भविष्यमा धराशायी होला त ? त्यसको सम्भावना देखिँदैन । रुसको सम्पूर्ण अर्थतन्त्र तत्काले खरानी हुने अवस्था छैन । सरकारसँग अझै पनि मनग्गे पैसा छ, तेल र ग्यासबाट कमाइ भइरहेकै छ, पूँजी नियन्त्रण र आयात प्रतिस्थापनले ठूलो संकट रोकेको छ अनि चीन र भारतजस्ता देशसँग व्यापार बढेको छ । तर, ध्वस्त नहुनु र राम्रोसँग चल्नु फरक कुरा हुन् । पश्चिमी प्रविधिमा प्रतिबन्ध, जनसंख्यामा आइरहेको कमी, युद्धमा भइरहेको व्यापक खर्च आदिले दीर्घकालमा रुसी अर्थतन्त्रलाई कमजोर बनाउने सम्भावना छ ।
रुसले यही स्थितिलाई लामो समयसम्म कायम राख्न सक्छ त ? एकदेखि तीन वर्षसम्म त सक्छ किनभने अहिलेको रुससँग पैसाको जोहो राम्रै छ । तर, अबको पाँचदेखि १० वर्षमा प्रतिबन्ध हटेन र पश्चिमी प्रविधि तथा लगानी भित्रिएन भने बिस्तारै उत्पादकत्व र जीवनस्तर घट्दै जान्छ । तैपनि चीन र भारतजस्ता देशसँग सम्बन्ध गहिरिँदै जाँदा, रुसले आफैं शिक्षा र पूर्वाधारमा लगानी बढाउँदा र तेलको मूल्य राम्रै रहँदा कम वृद्धि भए पनि अर्थतन्त्र चलायमान रहन्छ ।
युद्ध लम्बिँदै गयो र रुसलाई थप अलग्याउनका लागि पश्चिमले सफलता पायो भने रुसी अर्थतन्त्रमा समस्या आउनेछ । शान्ति आयो वा पश्चिमी प्रतिबन्ध घट्यो भने सुधारको बाटो खुल्छ ।
युद्धका कारण युक्रेनलाई करिब १७५ अर्ब डलरको नोक्सानी भएको कीभ स्कूल अफ इकोनोमिक्सले अनुमान गरेको छ । त्यो गत फेब्रुअरीमा गरिएको आकलन हो र हालसम्म पनि युद्ध भइरहेकाले क्षतिको मात्रा थप बढेको छ
पश्चिमको र रुसको तथ्यांकले बेग्लाबेग्लै कथा भन्छन् । दुवै पक्षले आफ्नो कुरा माथि पार्नका लागि तथ्यांकलाई तोडमोड समेत गर्छन् । तर, दुवैलाई सँगै राखेर अध्ययन गर्दा सही तस्वीर आउँछ । युक्रेनमाथिको आक्रमणले रुसलाई ठूलो आर्थिक क्षति भयो तर ऊर्जा बेचेर उसले त्यसको भरपाइ गरिरहेको छ ।
यस युद्धले युक्रेनलाई गरेको क्षतिको कुरा गर्नुपर्दा, उसको कुल गार्हस्थ्य उत्पादन करिब २०० अर्ब रहेकोमा युद्धका कारण त्यो २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेनको पुनर्निर्माणका लागि करिब ४८६ अर्ब डलर लाग्ने राष्ट्रसंघको पूर्वानुमान छ । त्यो भनेको युक्रेनको कुल गार्हस्थ्य उत्पादनको करिब साढे दुई गुणा बढी रकम हो ।
युद्धका कारण युक्रेनलाई करिब १७५ अर्ब डलरको नोक्सानी भएको कीभ स्कूल अफ इकोनोमिक्सले अनुमान गरेको छ । त्यो गत फेब्रुअरीमा गरिएको आकलन हो र हालसम्म पनि युद्ध भइरहेकाले क्षतिको मात्रा थप बढेको छ । युक्रेनका भवन र पूर्वाधारहरूमा पुगेको क्षतिलाई यसमा मूल्यांकन गरिएको हो । हाउजिङ क्षेत्रमा करिब ६० अर्ब डलर, यातायात पूर्वाधारमा करिब ३८.५ अर्ब डलर, ऊर्जा क्षेत्रमा करिब १४.६ अर्ब डलरको क्षति भएको अनुमान छ । त्यसैगरी उद्योग, वाणिज्य, कृषि, शिक्षा तथा स्वास्थ्य सेवामा पनि अर्बौं डलरको क्षति भएको छ ।
युद्धले पारेको वातावरणीय क्षति पनि विशाल छ । इन्धन भण्डारहरूमा क्षेप्यास्त्र प्रहार हुँदा निस्केको प्रदूषण तथा जलवायुसँग सम्बन्धित अन्य क्षति ४२ अर्ब डलरभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । उता रुसी पूर्वाधारमा पनि युक्रेनले थोरबहुत क्षति गराएको छ । विशेषगरी रुसको ऊर्जा क्षेत्र (प्रशोधन केन्द्र) मा युक्रेनी आक्रमणका कारण कम्तीमा ७१.४ करोड डलर बराबरको क्षति पुगेको रसिया म्याटर्स नामक वेबसाइटले जानकारी दिएको छ ।
रुस र युक्रेनले हतियारमा गरेको खर्चको छुट्टै हिसाब गर्नुपर्ने हुन्छ । गत जुलाई महिनामा रुसका राष्ट्रपति पुटिनले अल–रसिया पिपुल्स फ्रन्ट नामक गठबन्धनद्वारा मस्कोमा आयोजित एक कार्यक्रममा करिब २ अर्ब डलर बराबरको सैन्य उपकरण नष्ट भएको जानकारी दिएका थिए । त्यसपछि पनि रुसले लगातार आक्रमण जारी राखेकाले थप रकम खर्च भइसकेको छ ।
युक्रेनले हतियारमा गरेको खर्चको यकिन विवरण नभेटिए पनि गत फेब्रुअरीमा बीबीसीले प्रकाशन गरेको सामग्रीमा पश्चिमी मुलुकहरूले युक्रेनलाई २५० अर्ब बराबरको सैन्य, मानवीय र आर्थिक सहायता उपलब्ध गराएको उल्लेख छ । त्यो रकम सबै खर्च भइसकेको छ ।
पश्चिमले दिएका हतियारहरू युद्धमा धमाधम नष्ट भएपछि युक्रेनले थप हतियारको माग गरिरहेको छ । कुर्स्क क्षेत्रमा भएको लडाइँमा मात्र युक्रेनले नेटोको २.७ अर्ब डलर बराबरको हतियार नष्ट गरेको नेटोका महासचिव मार्क रट्टले जानकारी दिएका छन् । मानवीय र आर्थिक सहायताको रकम पनि युक्रेनी अधिकारीहरूले भ्रष्टाचार गरेर सिध्याएको आरोप छ।







प्रतिक्रिया