युक्रेन शान्ति प्रस्तावमा छलफल: भाँजो हाल्न युरोपेलीको भरमग्दूर प्रयास

336
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन युद्ध रोक्नका लागि रुसीहरूसँगको समन्वयमा अघि सारेको २८ बुँदे शान्ति प्रस्तावमाथि छलफल जारी छ ।

त्यस प्रस्तावले रुसका प्रायः सबै माग पूरा गर्ने र युक्रेनको सार्वभौमसत्तामा आघात गर्ने भन्दै युरोपेलीहरूले त्यसमा आपत्ति जनाएका छन् । उनीहरूले त्यस शान्ति प्रस्तावको काउन्टरमा अर्को प्रस्ताव ल्याएका छन् तर त्यसको पूर्णपाठ सार्वजनिक भएको छैन ।

युक्रेनी र युरोपेलीहरूको आपत्तिपछि गत सप्ताहान्तमा स्विटजरल्यान्डको जिनेभामा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र युक्रेनका प्रमुख सम्झौताकार आन्द्री येरमाकबीच भएको बैठकपछि ट्रम्पको शान्ति प्रस्तावका बुँदाहरूलाई घटाएर १९ मा झारिएको छ । विशेषगरी, उक्त प्रस्तावमा निहित युक्रेनी भूभाग र नेटोमा जोडिने युक्रेनको आकांक्षाको विषयलाई युद्धविरामपछि सम्झौता गरिने गरी अन्य विषयमा अघि बढ्न खोजिएको हो ।

थ्यांक्सगिभिङ (२७ नोभेम्बर) सम्ममा उक्त शान्ति प्रस्तावमा सहमति जनाउनका लागि ट्रम्पले युक्रेनलाई चेतावनी दिएको भए पनि पछि त्यसमा लचिलो हुँदै शान्ति सम्झौताको कठोर डेडलाइन तोक्न नमिल्ने बताएका छन् ।

उनले यसै साता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने सम्भावना रहेको भनिए पनि शान्ति प्रक्रियाको ठोस निष्कर्ष ननिस्कुन्जेल भेटघाट गर्न मानेका छैनन् । बरू उनले आफ्ना विशेषदूत स्टिभ विट्कोफ र ज्वाईं ज्यारेड कुशनरलाई रुसी अधिकारीहरूसँग कुराकानी गर्नका लागि अर्को साता मस्को पठाउने भएका छन् ।

राजनीतिक भन्दा पनि व्यापारिक पृष्ठभूमि रहेका यी दुई व्यक्तिलाई पठाएर ट्रम्पले शान्ति सम्झौतापछि रुससँग व्यापार गर्न चाहेको स्पष्ट सन्देश दिएका छन् ।

यसैबीच अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले केही दिनअघि यूएईको अबुधाबीमा युक्रेनी सेनाका गुप्तचर प्रमुख किरिलो बुदानोभ र रुसी अधिकारीहरूसँग कुराकानी गरेका छन् । ड्रिस्कोलले युक्रेनको राजधानी किएभमा फेरि वार्ता गर्ने कार्यक्रम छ।

शान्ति प्रक्रिया अहिलेको स्थितिमा आइपुग्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विदेशनीति सहयोगी युरी उशाकोभ र ट्रम्पका विशेषदूत विट्कोफको प्रमुख भूमिका छ । उनीहरूले गत अक्टोबर १४ मा फोनमा गरेको कुराकानीअघि नै सकारात्मक माहोल बनेको देखिन्छ ।

उनीहरूको संवादको पाठ ब्लूमबर्ग सञ्चारमाध्यमले केही दिनअघि सार्वजनिक गरेको थियो । त्यसमा विट्कोफले उशाकोभलाई ट्रम्पसँगका छलफलमा आशावादी स्वर राख्न आग्रह गरेका थिए । त्यसको अर्थ हुन्छ, विट्कोफ र उशाकोभले त्यतिखेरसम्म २८ बुँदे शान्ति प्रस्तावको खाका तयार गरिसकेका थिए ।

ट्रम्प र पुटिनबीच सुमधुर सम्बन्ध रहेकाले नै यो सम्भव भएको हो । गत अगस्ट १५ मा पुटिन र ट्रम्पबीच अलास्कामा भएको शिखर सम्मेलनपछि शान्ति प्रक्रिया अघि बढेको हो ।

हुन त पुटिनका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले तत्कालै शान्ति सम्झौता भइहाल्ला भनी अपेक्षा गर्न नमिल्ने बताएका छन् । त्यसका बावजूद शान्ति प्रस्तावको पछिल्लो मस्यौदालाई रुसले सकारात्मक रूपमा लिएको र कतिपय बुँदाहरूमा थप काम गर्नुपर्ने आवश्यकता अनुभव गरेको उशाकोभको भनाइ छ ।

यी सबै घटनाक्रम विकसित हुँदै गर्दा युक्रेन युद्ध अन्त्य हुने दिशामा अघि बढिरहेको संकेत पाइन्छ । तर, यसमा भाँजो हाल्नका लागि युरोपेलीहरूले भरमग्दूर प्रयास गरिरहेका छन् । आफूलाई शान्ति प्रक्रियाबाट किनारीकृत गरिने डरले गर्दा उनीहरूले यस्तो काम गरिरहेको देखिन्छ ।

हुन त दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा भएको सबभन्दा विनाशक युद्धमा युरोप महत्त्वपूर्ण सरोकारवाला हो तर उसले शान्तिका लागि रचनात्मक भूमिका खेलिरहेको देखिएको छैन । आफैं जान्ने भएर उनीहरूले अमेरिकी प्रस्तावमा संशोधन गरेको बताइएको छ । विशेषगरी बेलायत, फ्रान्स र जर्मनीले यसमा अग्रणी भूमिका खेलिरहेका छन् ।

उनीहरूको यही अवरोधक कदमलाई बुझेर अमेरिकाका विदेशमन्त्री रुबियोले युरोपेली मस्यौदाको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । त्यसमाथि उनले जिनेभा पुगेको बेलामा युरोपेली संघकी विदेश मामिला अधिकारी काया कालासलाई भेट्न अस्वीकार गरेका छन् ।

अमेरिकाको शान्ति प्रस्तावमा नेटोका विषयमा स्पष्ट उल्लेख छ किनकि रुसको प्रमुख सुरक्षा चिन्ता नै त्यही भएकाले त्यसलाई सम्बोधन गरे मात्र सार्थक शान्ति प्रक्रिया अघि बढ्न सक्छ

इस्टोनियाकी पूर्वप्रधानमन्त्री कालास उग्र रुसविरोधी व्यक्ति हुन् । उनी रुससँग कुनै सम्झौता नगरी युद्ध जारी राखेर मस्कोलाई कमजोर बनाउनुपर्ने मान्यता बोक्छिन् ।

युरोपले गरेको संशोधन समेटिएको पाठ सार्वजनिक नहुँदा यकिनका साथ विश्लेषण गर्न कठिन छ । तर, विगतमा युरोपले राख्दै आएको अडानलाई विचार गर्दा युरोपेलीहरू युक्रेनलाई भविष्यमा नेटोको सदस्य बनाउन लागिपरेको देखिन्छ ।

अमेरिकाको शान्ति प्रस्तावमा नेटोका विषयमा स्पष्ट उल्लेख छ किनकि रुसको प्रमुख सुरक्षा चिन्ता नै त्यही भएकाले त्यसलाई सम्बोधन गरे मात्र सार्थक शान्ति प्रक्रिया अघि बढ्न सक्छ ।

प्रस्तावमा रुसले छिमेकी मुलुकहरूमा आक्रमण नगर्ने र नेटो पनि थप विस्तार नहुने उल्लेख छ । त्यसका साथै युक्रेनले नेटोको सदस्य नबन्ने भनी आफ्नो संविधानमा उल्लेख गर्ने भनी शान्ति प्रस्तावमा लेखिएको छ । हुन पनि युरोपको सुरक्षा संरचनामा नेटो र रुसको अवस्थितिका विषयमा स्पष्ट पारे मात्र युद्ध अन्त्य हुने बाटो खुल्नेछ । आखिर, नेटोको आक्रामक विस्तारका साथै युक्रेनलाई नेटोमा जोड्ने प्रयासले गर्दा नै त्यसलाई रोक्न रुसले युक्रेनमाथि आक्रमण गर्नुपरेको हो ।

तर, युरोपको शान्ति प्रस्तावमा यी बुँदाहरूलाई हटाइएको बुझिन्छ । नेटोको थप विस्तार नहुने सिद्धान्तलाई पूरै हटाइएको देखिन्छ भने युक्रेनलाई नेटोको सदस्य बनाउनका लागि अहिले सर्वसम्मति नरहेको भनिएको बुझिन्छ । त्यसको अर्थ हुन्छ, भविष्यमा युक्रेनलाई नेटोमा जोड्न पनि सकिन्छ ।

रुसले यही नहोस् भनेर युद्ध सुरु गरेको हो । युक्रेनलाई भविष्यमा नेटोमा जोड्नका लागि खुला छोड्ने शर्तमा गरिएको युद्धविरामले रुसको अभीष्ट पूरा हुँदैन ।

सन् २००८ मा रोमानियाको राजधानी बुखारेस्टमा भएको नेटो शिखर सम्मेलनले युक्रेनलाई नेटो सदस्य बनाउनका लागि पहल गर्ने भनेपछि रुसले त्यसलाई रोक्नका लागि विभिन्न कदम चाल्दै आएको छ । अहिले फेरि त्यही कुरालाई दोहोर्याएर युरोपले शान्ति प्रस्तावलाई रुस आफैंले परित्याग गरिदेओस् भन्ने आशय राखेको देखिन्छ।

युरोपले संशोधन गरेको प्रस्तावलाई रुसले कुनै हालतमा नमानेपछि युरोपले शान्ति ल्याउन रुसले नै अवरोध गरिरहेको भनी आरोप लगाउन पाउँछ । त्यसपछि युक्रेन युद्ध जारी राख्ने अवसर प्राप्त हुन्छ । युद्ध लम्बिरहेमा हतियार कम्पनीहरूलाई नाफा भइरहन्छ र त्यसको केही भाग युरोपका अभिजात वर्गले पनि पाइरहन्छन् । त्यसैले उनीहरू ट्रम्पको शान्ति प्रस्तावको विरुद्ध छन् ।

त्यससँगै ट्रम्पको शान्ति प्रस्तावमा नेटो र रुसको संवादमा अमेरिकाले मध्यस्थताको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ, अमेरिका अब नेटोको भारी बिसाएर युरोपेलीहरूलाई त्यो जिम्मेवारी सुम्पिन चाहन्छ । तर, अमेरिका जस्तो महाशक्तिको छत्रछायाँ नपाएमा नेटोको अस्तित्व नै संकटमा पर्छ । युरोपेलीहरूसँग नेटोलाई धान्ने क्षमता छैन । त्यसैले युक्रेनको सार्वभौमसत्ताको प्रतिरक्षाको बहानामा युद्ध लम्बिइरहोस् र नेटोको सान्दर्भिकता कायम रहोस् भन्ने युरोपेलीहरूको सोच देखिन्छ । त्यसैले त उनीहरू अमेरिकी प्रस्तावमा युक्रेनलाई सुरक्षा प्रत्याभूति गरिने भन्ने अमूर्त प्रावधानको साटो युक्रेनलाई नेटोको धारा ५ कै जस्तो सुरक्षा दिलाउनुपर्ने अडान राखिरहेका छन् ।

ट्रम्पले युरोपेली र युक्रेनीहरूलाई बेवास्ता गरेर अघि बढेमा मात्र शान्ति प्रस्ताव कार्यान्वयन हुनेछ । नत्र युक्रेनको असैन्यीकरण र गैरनाजीकरण गर्ने तथा डोनबास क्षेत्र पूर्ण रूपमा रुसको नियन्त्रणमा ल्याउने अभीष्ट पूरा नहुन्जेल युद्ध जारी रहनेछ

युरोपेलीहरूको यो रणनीतिक भूलले युक्रेन र युरोपमा कहिल्यै शान्ति आउँदैन । ट्रम्पको शान्ति प्रस्तावमा कैयौं समस्याग्रस्त प्रावधान होलान् तर त्यसले शान्तिका लागि वातावरण तयार गरेको छ । रुसलाई समेत आपत्तिजनक लाग्ने प्रावधानहरू उक्त प्रस्तावमा छन् तर रुसले त्यस विषयमा कुरा गर्न सकिने बताइरहेको छ ।

हुन त अमेरिकामै पनि शान्ति नचाहने पक्षहरू सक्रिय रहेको देखिन्छ । विट्कोफ र उशाकोभको फोन कल मिडियामा लीक गराउने काम कुनै अमेरिकी अधिकारीकै हुन सक्ने आशंका गरिएको छ (रुसले चाहिँ यो काम युक्रेनीहरूले गरेको हुन सक्ने भनेको छ) ।

विशेषगरी पूर्ववर्ती बाइडन प्रशासनसँग वफादार रहेका कुनै अधिकारीले शान्ति प्रक्रियालाई भंग गराउन सूचना चुहाएका हुन सक्छन् । यो लीकपछि अमेरिकी सांसदहरूले विट्कोफलाई हटाउनुपर्ने माग समेत गरेका छन् तर ट्रम्पले विट्कोफको प्रतिरक्षा गरिरहेका छन् ।

तथापि, शान्ति प्रक्रिया भंग गराउन युरोपेलीहरू नै जोडतोडका साथ लागिरहेका छन् । जेलेन्स्कीले ट्रम्पसँगको वार्तामा युरोपेली सहयोगीहरू पनि उपस्थित हुनुपर्ने बताएर शान्ति प्रक्रियाको सुखद अवतरणका विषयमा आशंका उत्पन्न गराएका छन् । ट्रम्पले युरोपेली र युक्रेनीहरूलाई बेवास्ता गरेर अघि बढेमा मात्र शान्ति प्रस्ताव कार्यान्वयन हुनेछ । नत्र युक्रेनको असैन्यीकरण र गैरनाजीकरण गर्ने तथा डोनबास क्षेत्र पूर्ण रूपमा रुसको नियन्त्रणमा ल्याउने अभीष्ट पूरा नहुन्जेल युद्ध जारी रहनेछ ।