
एजेन्सी । मेक्सिकोमा हजारौं मानिसले बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनताका विरुद्ध शनिबार प्रदर्शन गरेका छन् ।
जेनजी युवाहले प्रदर्शनको आयोजना गरेका हुन् तर जुलुसमा सबै उमेर समूहका मानिस सहभागी थिए । विपक्षी दलका बूढा कार्यकर्ताहरू पनि विरोध प्रदर्शनमा आएका थिए ।
मिचोआकान शहरका मेयर कार्लोस मान्जोलाई केही दिनअघि दिनदहाडै गोली हानेर हत्या गरिएको थियो । उनका समर्थकहरू पनि हिजोको विरोध प्रदर्शनमा आएका थिए ।
राजधानी मेक्सिको सिटीमा हूडी लगाएका प्रदर्शनकारीहरूले राष्ट्रपति क्याउडिया शेइनबाउमको सरकारी निवास नजिक पर्खालहरू भत्काएका थिए । दंगा प्रहरीले अश्रूग्यास प्रहार गरेर उनीहरूलाई तितबरबितर बनाएको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १०० जना प्रहरी अधिकृत घाइते भएको मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भास्केजले जानकारी दिए । तीमध्ये ४० जनाले अस्पतालमा उपचार गराइरहेको उनले बताए ।
करिब २० सर्वसाधारण पनि घाइते भएका छन् । अन्य २० जनालाई पक्राउ गरिएको छ । थप २० जनालाई प्रशासनिक कसूरका लागि सजाय सिफारिस गरिएको छ ।
जेनरेशन जेड मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा आफ्नो घोषणापत्र प्रकाशन गरेर यो निष्पक्ष समूह भएको जनायो । हिंसा, भ्रष्टाचार र शक्तिको दुरुपयोगसँग आजित भएका मेक्सिकाली युवाहरूलाई आफ्नो समूहले प्रतिनिधित्व गर्ने उसको भनाइ छ ।
मेक्सिकोकी राष्ट्रपति शेइनबाउमले जेनजी आन्दोलनमा दक्षिणपन्थी दलहरूले घुसपैठ गर्न खोजेको र सामाजिक सञ्जालमा बोट उपयोग गरेर संख्या बढाउन खोजेको आरोप लगाएकी छन् ।
नेपाल लगायत एसिया र अफ्रिकाका जेनजी समूहहरूले असमानता, निरंकुशता र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेका थिए । नेपाल र मादगास्कारबाट जेनजी प्रदर्शनपछि सरकार नै परिवर्तन भएको छ ।








प्रतिक्रिया