
एजेन्सी । एनभिडिया कम्पनीलाई चीनमा नयाँ र स्तर घटाइएको संस्करणको एआई चिप बेच्न अनुमति नदिने भनी ह्वाइट हाउसले अन्य संघीय निकायहरूलाई जानकारी दिएको छ ।
यो समाचार द इन्फर्मेशन नामक मिडियाले बिहीबार तीन स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको हो ।
\रिपोर्टका अनुसार, एनभिडियाले केही चिनियाँ ग्राहकहरूलाई उक्त चिपका नमूना पहिले नै उपलब्ध गराइसकेको छ ।
उक्त चिपको नाम बी३०ए हो । विशेषगरी धेरै चिपहरू ठूला क्लस्टरमा जोडिँदा यसलाई लार्ज ल्यांग्वेज मोडलको प्रशिक्षणका लागि उपयोग गर्न सकिन्छ । रिपोर्टका अनुसार, धेरै चिनियाँ कम्पनीहरूलाई यस्तो क्षमताको आवश्यकता छ ।
एनभिडियाका एक प्रवक्ताले रोयटर्सलाई बताएअनुसार, हामीसँग चीनको अत्यधिक प्रतिस्पर्धात्मक डेटा सेन्टर बजारमा अहिले कुनै पनि हिस्सा छैन र त्यसलाई हाम्रो व्यापारिक अनुमानमा पनि समावेश गरेका छैनौं ।
एनभिडिया अहिले बी३०ए चिपको डिजाइनमा फेरबदल गर्नका लागि काम गर्दैछ र अमेरिकी प्रशासनले आफ्नो निर्णयमा पुनर्विचार गर्ने भनी द इन्फर्मेशनले लेखेको छ । यो जानकारी कम्पनीका दुई कर्मचारीहरूलाई उद्धृत गर्दै दिइएको हो ।
क्यालिफोर्नियामा रहेको एनभिडिया कम्पनी अहिले चीनमा नियामक कठिनाइको सामना गरिरहेको छ ।
रोयटर्सका अनुसार, चीन सरकारले हालै नयाँ निर्देशन जारी गरेको छ । त्यसअनुसार, कुनै पनि नयाँ डेटा सेन्टर परियोजनाले सरकारी लगानी पाएको छ भने केवल स्वदेशमै विकसित चिपहरू मात्र प्रयोग गर्नुपर्नेछ ।
३० प्रतिशत भन्दा कम निर्माण कार्य सम्पन्न भएको डेटा सेन्टरहरूले पहिले नै जडान गरिएका विदेशी चिपहरू हटाउनुपर्ने वा विदेशी चिप किन्ने योजना रद्द गर्नुपर्ने नियम बनाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।
अर्कोतर्फ, धेरै अगाडि बढिसकेका परियोजनाहरूको समीक्षा केस बाई केसका आधारमा गरिनेछ ।
यस निर्देशनले वास्तवमै एनभिडियालाई र यसको एआई चिपहरूलाई चीनको ठूलो लाभदायक बजारबाट बाहिर धकेलेको छ ।
अमेरिकी निर्यात नियन्त्रण अन्तर्गत परे पनि ग्रे मार्केट (अनौपचारिक माध्यम) मार्फत चीनमा पाइँदै आएका उन्नत मोडलहरू पनि त्यसमा समावेश छन् ।







प्रतिक्रिया