नेपालप्रति न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको प्रेम, नेपाली रेस्टुराँमा खाए मःम

119
Shares

एजेन्सी । अमेरिकाको न्युयोर्क शहरका नवनिर्वाचित मेयर जोहरान ममदानीले नेपालीहरूप्रति प्रेम प्रकट गरेका छन् ।

चुनाव जितेपछि ३४ वर्षीय ममदानीले न्युयोर्ककी डेमोक्रेटिक सांसद एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) सँग स्थानीय नेपाली रेस्टुरेन्टमा भेटघाट गरी मःम र आलुदमको स्वाद लिएका छन् ।

ममदानीले एओसीसँग लन्च गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखे, ‘तपाईंहरूको मेयर–इलेक्टको व्यस्त पहिलो दिन । बिहानै अन्तर्वार्ताहरू, ट्रान्जिसन घोषणा र बैठकहरू । यी सबैबारे भोलि थप कुरा गर्नेछु । तर, विशेष आकर्षण थियो ज्याक्सन हाइट्समा रहेको लालीगुराँस बिस्ट्रो । चिली चिकन, तिङमो रोटी र आलु दम ।’

मंगलबार ममदानीको ऐतिहासिक जितको खुशी मनाएकी एओसीले तत्कालै प्रतिक्रिया दिइन्, ‘सँगै बसेर मःम खान र हाम्रो नयाँ मेयरसँग सहकार्य गर्न पाउनु सम्मानको कुरा हो !’

इन्स्टाग्राम पोस्टमा एक प्रयोगकर्ताले लेखे, ‘धन्यवाद, दाइ ! तपाईंले न्यूयोर्कमा हाम्रा नेपाली परिकार, संस्कृतिहरू र धर्महरू पनि प्रवद्र्धन र संरक्षण गर्नुपर्छ ।’

लालीगुराँस रेस्टुरेन्टलाई लालीगुराँस बिस्ट्रो पनि भनेर चिनिन्छ । न्युयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट्समा रहेको एक हिमालयन–नेपाली रेस्टुरेन्ट हो ।