
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता विरोधी शक्तिहरूकै स्तरमा आणविक परीक्षण गर्न युद्ध मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उद्घोष गरेपछि शीतयुद्धकालीन डर फर्केर आएको छ ।
रुसले आणविक शक्तिबाट चल्ने र आणविक वारहेड समेत राख्न मिल्ने बुरेभेस्तनिक क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरिएको र यसको दायरा असीमित भएको घोषणा गरेपछि ट्रम्पको भनाइ सार्वजनिक भएको हो । उनको यस भनाइले विगत तीन दशकदेखि शक्तिराष्ट्रहरूले कायम गरेको संयम भत्किन थालेको संकेत पाइन्छ । यसलाई प्रतिस्पर्धात्मक भूराजनीतिक अभिव्यक्ति मान्ने कि विश्व आणविक विस्फोटको जोखिममा पर्न लागेको मान्ने विषयमा विश्लेषकहरूले तर्कवितर्क गरिरहेका छन् ।
तर, संसार धेरैजनाले कल्पना गरेभन्दा बढी खतरनाक स्थितिमा पुगेको छ । ट्रम्पका अभिव्यक्तिहरू अमेरिकाका मतदातासमक्ष उनको निर्णायक नेताको छवि निर्माणको प्रयास मात्र नभई अमेरिकाका प्रतिस्पर्धीहरूलाई कठोर सन्देश दिनका लागि आइरहेको हुन सक्छ । तथापि, यस परीक्षणले ल्याउने शृंखलाबद्ध परिणामले अकल्पनीय क्षति गर्नेछ ।
सन् १९९० को दशकयता आणविक हतियार भएका मुलुकहरूले त्यसको परीक्षण गरेका छैनन् । अमेरिकाले पछिल्लोपटक सन् १९९२ मा डिभाइडर नाम दिएर आणविक परीक्षण गरेको थियो । सोभियत संघले सन् १९९० मा त्यस्तो परीक्षण गरेकोमा त्यसको पतनपछि रुसले आणविक परीक्षण गरेकै छैन । सन् १९९१ मा बेलायतले आणविक परीक्षण गरेको थियो भने चीनले सन् १९९६ को जुलाईमा अन्तिमपटक आणविक परीक्षण गरेको थियो । यस सहस्राब्दीमा उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बर महिनामा आणविक परीक्षण गरेको थियो र त्यसका लागि संयुक्त राष्ट्रसंघले उसमाथि कठोर प्रतिबन्ध लगाएको छ ।
तर, ट्रम्पले अहिले आएर आणविक परीक्षणको कुरा झिकेर विश्व व्यवस्थाको सञ्चालनलाई जोखिममा पारेका छन् । उनको यस अभिव्यक्तिले आणविक हतियार भएका मुलुकका युद्धसमर्थकहरूलाई प्रोत्साहन मिलेको छ । आणविक शक्तिसम्पन्न मुलुकहरू आणविक परीक्षण र क्षेप्यास्त्र निर्माणको होडबाजीमा लाग्न थाल्ने सम्भावना बढेको छ ।
यस आणविक प्रतिस्पर्धाले शीतयुद्धको आरम्भिक वर्षहरूको झझल्को दिएको छ । त्यतिखेर अमेरिका र तत्कालीन सोभियत संघले रक्षात्मक प्रयोजनका लागि भनेर आणविक हतियारको परीक्षण गरेका थिए । अर्को पक्षले देखाएको उत्तेजनात्मक व्यवहारको जवाफमा परीक्षण गरेको जिकिर लिने मुलुकले आणविक हतियारबाट हुने ठूलो मानवीय क्षतिलाई समेत अवमूल्यन गर्ने गरेका थिए । तर, त्यतिखेर कूटनीतिले आणविक युद्ध हुनबाट रोकेको थियो ।
तर, अहिले प्रविधि र राजनीतिले कूटनीतिलाई पछि पारिरहेको देखिएको छ । साइबर युद्ध, मिथ्या सूचना दिने अभियान र कमजोर अन्तर्राष्ट्रिय निकायका कारण संकट टार्न कठिन हुन थालेको छ । मुलुकहरूले गोप्य रूपमा के योजना बनाइरहेका छन् भन्ने कुरा थाहा हुन छोडेको छ ।
रुसले बुरेभेस्तनिकको परीक्षण गरेर माथिको कुरालाई पुष्टि गरेको छ । रुसले त्यति खतरनाक हतियार बनाइरहेको कुरा अमेरिकाले थाहै पाएन । यो हतियारको असीमित दायरा र गोप्य रूपमा उडाउन सकिने क्षमताका विषयमा रुसले दाबी गरेको भए पनि विज्ञहरूले त्यसमा शंका व्यक्त गरेका छन् । तर, हतियारको प्राविधिक क्षमता यहाँ असान्दर्भिक छ ।
अमेरिकाले आणविक परीक्षण गरेपछि त्यसको शृंखलाबद्ध परिणामहरू देखिनेछन् । रुस, चीन र उत्तर कोरिया पनि परीक्षण गर्नका लागि उत्प्रेरित हुनेछन् । वर्षौंदेखि कूटनीतिक पहलमार्फत रोकिएका परीक्षणहरू फेरि सुरु गर्दा खुला आणविक प्रतिस्पर्धा हुन थाल्नेछ
यस परीक्षणमार्फत रुसले अमेरिकालाई आणविक हतियारमा नवप्रवर्तन गर्न चुनौती दिएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि यो हतियार निवारण (डिटरेन्स) को राम्रो माध्यम हो । यसमार्फत उनले संसारलाई रुसको शक्तिलाई कम नआँक्न सन्देश दिएका छन् ।
रुसले दिएको चुनौतीको जालोमा फसेर ट्रम्पले पेन्टागनलाई आणविक परीक्षण गर्ने निर्देशन दिएका हुन् । तर, यसले सन् १९९२ देखि अमेरिकाले अपनाउँदै आएको नीतिको उल्लंघन गर्नेछ । विगत ३३ वर्षमा अमेरिकाले अत्याधुनिक कम्प्युटर सिमुलेशन र न्युक्लियर चेन रियाक्शन नहुने गरी रासायनिक विस्फोटन गराउने सबक्रिटिकल परीक्षणहरू मात्र गर्दै आइरहेको छ । यी विकल्पहरूले अमेरिकालाई आणविक विस्फोट नगराइकनै विश्वसनीयता कायम गर्न सहयोग गरिरहेका छन् ।
त्यसो त अमेरिकाका ऊर्जामन्त्री क्रिस राइटले परीक्षणका क्रममा आणविक विस्फोट नगरिने र यसमा आणविक हतियारका अन्य अंशहरू संलग्न हुने भनी स्पष्ट पारेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले ननक्रिटिकल परीक्षण गर्ने बताएका छन्।
तर, अमेरिकाले आणविक परीक्षण गरेपछि त्यसको शृंखलाबद्ध परिणामहरू देखिनेछन् । रुस, चीन र उत्तर कोरिया पनि परीक्षण गर्नका लागि उत्प्रेरित हुनेछन् । वर्षौंदेखि कूटनीतिक पहलमार्फत रोकिएका परीक्षणहरू फेरि सुरु गर्दा खुला आणविक प्रतिस्पर्धा हुन थाल्नेछ ।
यस्तो अवस्थामा आणविक खतराका विषयमा प्रकाशित प्रसारित सामग्रीहरूको महत्त्व बढेर जान्छ । पंक्तिकारले हालै नेटफ्लिक्सबाट प्रसारित फिल्म ‘ए हाउस अफ डाइनामाइट’ हेर्ने अवसर पाएको थियो । त्यस फिल्ममा रेडारबाट प्राप्त चेतावनीलाई बेवास्ता गरेर ढिलो सञ्चार हुँदा आइलाग्ने आणविक खतरालाई रोमाञ्चक रूपमा प्रस्तुत गरिएको छ ।
अमेरिकामाथि भएको आणविक हतियारको आक्रमणलाई सामना गर्ने सन्दर्भमा सेनाले प्रिएम्पटिभ स्ट्राइकका लागि राष्ट्रपतिलाई दिएको दबाब, आफ्ना गुप्तचर निकायको सूचनाप्रति राष्ट्रपतिले देखाएको संशय र रुससँगको तनावपूर्ण कूटनीतिक संवादका कारण उत्पन्न स्ट्रेसलाई फिल्मले रोचक तरिकाले देखाएको छ । आणविक हतियार गर्वको विषय भन्दा पनि मानवतालाई नष्ट गर्ने साधन हो भन्ने कटु यथार्थलाई फिल्मको काल्पनिक परिदृश्यले चित्रित गरेको छ ।
उक्त फिल्मको कथा एन्नी जेकबसेनको पुस्तक ‘न्युक्लियर वार: ए सिनारियो’ बाट प्रेरित छ । पत्रकार जेकबसेनले आणविक हतियार विस्फोट भएमा १० वर्षसम्म केही पनि उब्जनी नहुने गरी न्युक्लियर विन्टर आउने, त्यसले विश्वव्यापी खडेरी ल्याएर पाँच अर्ब मानिसको मृत्यु हुने र सभ्यता नै ध्वस्त हुने परिदृश्यको सम्भावनालाई पुस्तकमा औंल्याएकी छन् ।
रुस र चीनको बराबरी गर्नका लागि अमेरिकाले पनि समान स्तरमा आणविक परीक्षण गर्नुपर्छ भनी ट्रम्पले गरेको घोषणाले खतरनाक तथ्यलाई बेवास्ता गरेको देखिन्छ
यो किताब र यससँग प्रेरित फिल्मको चर्चा अपरिहार्य छ किनकि आणविक हतियारका विषयमा सतही चर्चा हुने गरेका छन् । लामो समयदेखि आणविक परीक्षण नगरिएकाले मानिसहरूमा यसको गम्भीरताका विषयमा ज्ञानको अभाव छ । त्यसको साटो व्यापारयुद्ध, आतंकवाद वा जलवायु परिवर्तनले ल्याएको विनाशका विषयहरूको बाक्लो चर्चा भइरहेको छ ।
तर, अन्तर्राष्ट्रिय राजनीतिमा आणविक परीक्षणको चर्चा चल्न थालेपछि त्यसले ल्याउने विनाश कति दूरगामी हुन्छ भन्ने विषयमा विश्वभरका मानिस सचेत हुनु जरूरी छ ।
आधुनिक हतियारमा भएका वारहेडहरूको विनाशकारी शक्ति अकल्पनीय छ । जम्मा एउटा आणविक वारहेडले पनि अनेकौं शहरहरूलाई ध्वस्त बनाइदिन सक्छ । त्यसले पुस्तौंपुस्तासम्म रोगव्याधि ल्याइदिन्छ ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा अणुबम प्रहार गर्दा त्यहाँका निवासीहरूको नाति पुस्तासम्मलाई क्यान्सर लागेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसैले रुस र चीनको बराबरी गर्नका लागि अमेरिकाले पनि समान स्तरमा आणविक परीक्षण गर्नुपर्छ भनी ट्रम्पले गरेको घोषणाले खतरनाक तथ्यलाई बेवास्ता गरेको देखिन्छ । त्यो के भने, कुनै पनि देशले आणविक युद्ध जित्न सक्दैन । यसमा संसारकै हार हुन्छ ।
जति धेरैपटक आणविक शक्तिहरूले परीक्षण र तैनाथी गर्छन्, त्यति नै तिनीहरूको प्रणाली जटिल बन्दै जान्छ । प्राविधिक गल्ती वा गलत बुझाइको जोखिम अझ बढी हुन्छ । इतिहासले यस विषयमा डरलाग्दा पाठहरू पढाएको छ ।
सन् १९८३ मा स्टानिस्लाभ पेत्रोभ नामक एक सोभियत अधिकारीले सम्भावित आणविक युद्ध रोक्न सफलता पाएका थिए । त्यतिखेर अमेरिकाबाट भएको भनिएको क्षेप्यास्त्र आक्रमणको सूचना वास्तवमा कम्प्युटरको गल्ती थियो भनी उनले बुझेका थिए र सोभियतलाई प्रत्याक्रमण गर्नबाट रोकेका थिए ।
शीतयुद्धको समयमा यस्ता घटनाहरू भइरहन्थे । आजको समयमा द्रुत गतिका हतियार, स्वचालित रक्षा प्रणाली र साइबर कमजोरीहरूका कारण त्यस्तै गलत चेतावनीले सोच्नका लागि अझै कम समय दिन सक्छ ।
विश्व अहिले एउटा दोबाटोमा उभिएको छ । एउटा बाटो भिडन्ततर्फ जान्छ भने अर्को संयम र सहकार्यतर्फ । आणविक हतियारलाई शक्तिप्रदर्शनको साधनको रूपमा हेरिन्छ कि डिटरेन्सको माध्यमका रूपमा मात्र लिएर अन्य कुरामा ध्यान दिइन्छ भन्ने कुराले निकट भविष्यलाई निर्धारण गर्नेछ
यस पृष्ठभूमिमा अमेरिकाले रुसको नक्कल गर्नु भन्दा पनि संयम देखाएर नेतृत्व गर्नु जरूरी छ । विस्फोटक परीक्षणमाथि लगाइएको रोक कायम राख्नु, आणविक परीक्षण प्रतिबन्ध सन्धि अन्तर्गत जाँच प्रणाली बलियो बनाउनु र गलत निर्णयको जोखिम घटाउनका लागि मस्को र बेइजिङसँग प्रत्यक्ष संवाद पुनः सुरु गर्नु वाञ्छनीय छ । यी कदमहरू साना देखिन सक्छन् तर तिनीहरूले अनियन्त्रित तनावको अवसर आउन दिँदैनन् । शक्तिराष्ट्रहरूले धम्की दिँदै हिँड्ने भन्दा पनि विपत रोक्ने नियमहरूलाई दृढतापूर्वक पालना गर्नुपर्छ ।
यसलाई शीतयुद्धको पुनरागमन भन्न मिल्छ त ? यो शीतयुद्ध नै त हैन होला । तर, यसको प्रतिध्वनि सुन्न थालिएको छ । प्रतिस्पर्धाको भाषामा, परीक्षणको धम्कीमा र हतियार नियन्त्रणका नियमहरूको क्षयीकरणमा शीतयुद्धका प्रतिध्वनिहरू सुनिएकोमा ती अझै ठूलो हुने कि होइनन् भन्ने कुरा नेताहरूका निर्णयमा निर्भर छ ।
विश्व अहिले एउटा दोबाटोमा उभिएको छ । एउटा बाटो भिडन्ततर्फ जान्छ भने अर्को संयम र सहकार्यतर्फ । आणविक हतियारलाई शक्तिप्रदर्शनको साधनको रूपमा हेरिन्छ कि डिटरेन्सको माध्यमका रूपमा मात्र लिएर अन्य कुरामा ध्यान दिइन्छ भन्ने कुराले निकट भविष्यलाई निर्धारण गर्नेछ ।







प्रतिक्रिया