
काठमाडौं । बेलायतका राजकुमार एन्ड्रुले यौन अपराधी जेफ्री एप्स्टीनसँग मित्रता कायम गर्दै बालिका तथा किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनको राजकीय उपाधि खोसिएको छ । उनले दरबार पनि छोड्नुपर्ने भएको छ ।
लामो समयदेखि यस विषयमा विवाद चलिरहेको थियो । विशेषगरी एन्ड्रुमाथि बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लगाएकी महिला भर्जिनिया रोबर्ट्स जोफ्रेको पुस्तक प्रकाशन भएपछि बेलायती राजकुमारलाई राजपरिवारबाट बेदखल गर्नका लागि दबाब परेको थियो ।
यही सन्दर्भमा भर्जिनियाको ‘नोबडीज गर्ल: ए मेमोआर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ नामक संस्मरणको समीक्षाको प्रयास गरिएको छ । संस्मरणमा बालिका हुँदादेखि नै किशोरावस्थासम्म भर्जिनियाले बेहोरेको यौन दुर्व्यवहारको दुर्दान्त कथा छ ।
यौन अपराधीहरूको शिकार बनेकी भर्जिनिया पछि पीडितहरूका लागि संघर्ष गर्ने निडर अभियन्तामा रूपान्तरण भएको घटनाक्रम पुस्तकमा समेटिएको छ । केही समयअघि उनले आत्महत्या गरेकी थिइन् । यो पुस्तक उनको मृत्युपछि गत अक्टोबर महिनाको तेस्रो हप्तामा प्रकाशित भएको हो ।
भर्जिनियालाई बालिका हुँदादेखि नै यौनको नमीठो अनुभव भएको थियो । स्वयम् उनका पिताले उनीमाथि दुर्व्यवहार गर्ने गरेका थिए । पिताले आफ्नै छोरीसँग हाडनाता करणी गरेको कुरा पुस्तकमा उल्लेख गरिएको छ । अझ त्यतिले नपुगेर पिताले आफ्ना साथीलाई समेत छोरीको बलात्कार गर्न दिएका थिए । पछि पिता र उनको बलात्कारी साथीले आफूहरूलाई खराब कर्ममा उद्यत गराएको भन्दै उल्टै भर्जिनियालाई दोषी देखाएका थिए । यसरी बाल्यकालमै आफ्ना संरक्षकबाट बलात्कृत भएकी भर्जिनियाको मनोविज्ञानमा नराम्रो असर परेर उनी अन्य यौन शिकारीहरूको चंगुलमा पर्न थालिन् ।
रोन एपिंगर नामक धनाढ्य व्यक्तिले पनि भर्जिनियाको यौन शोषण गरेका थिए । भर्जिनियालाई बालसुधार केन्द्रमा पनि राखियो । त्यहाँको अवस्था निकै खराब थियो र त्यहाँ पर्याप्त हेरचाह पनि हुँदैनथियो । पछि उनी आफ्ना पिताको सिफारिसमा डोनल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो महलमा काम गर्न पुगिन् । त्यहाँ उनको भेट गिलेन म्याक्सवेलसँग भयो । उनी धनाढ्य अपराधी जेफ्री एप्सटीनकी प्रेमिका हुन् । उनैले भर्जिनियालाई एप्सटीनकोमा मसाज गर्न लगिन् । मसाज गराएसँगै एप्सटीनले भर्जिनियासँग बलात्कार गरे । त्यसपछि उनी एप्सटीनको आपराधिक संसारमा फसिन् ।
एप्सटीन र म्याक्सवेलले जानिबुझिकन भर्जिनिया जस्ता जोखिममा परेका किशोरीहरूलाई फसाउने गरेका थिए । गरीब वा घरबारविहीन किशोरीहरूलाई मसाजको तालिम दिने वा करियर अगाडि बढाउनका लागि सहयोग गर्ने वाचासहित एप्सटीन र म्याक्सवेलले यौनधन्धामा लगाउने गरेका थिए ।
उनीहरूले फ्लोरिडास्थित ३५८ एल ब्रिलो वेमा भव्य महल बनाएर भर्जिनिया लगायतका किशोरीहरूलाई यौनदासीका रूपमा राखेका थिए । शारीरिक मात्र नभई मनोवैज्ञानिक दुर्व्यवहार पनि किशोरीहरूमाथि हुने गरेको थियो ।
भर्जिनियाको पुस्तक पढ्दै गर्दा पाठकलाई फ्रान्सेली लेखक मार्की द सादको उपन्यास ‘जस्टिन’को याद आउँछ । यौन अपराधको बारेमा लेख्ने द सादकै नाममा अंग्रेजी शब्द सेडिजम अर्थात् परपीडन बनेको हो ।
जस्टिन उपन्यासकी प्रमुख पात्र १२ वर्षीया किशोरीलाई मोनास्ट्रीमा तपस्वीहरूले सामूहिक बलात्कार गर्दै यौनदासी बनाएको वीभत्स वर्णन गरिएको छ । त्यसैगरी भर्जिनियालाई एप्सटीन र म्याक्सवेलले स्वयं बलात्कारपछि अरूलाई पनि बलात्कार गर्न दिएको प्रसंगहरूको उल्लेख भएको छ । यौनकर्म गराउनका लागि उनीहरूले भर्जिनियालाई अमेरिकाबाट बाहिर पनि लगेका थिए ।
त्यही क्रममा भर्जिनियाले राजकुमार एन्ड्रुलाई लन्डनमा भेटेकी थिइन् । एन्ड्रुले भर्जिनियासँग यौन सम्बन्ध कायम गर्नु आफ्नो जन्मसिद्ध अधिकार भएको जस्तो बेहोरा देखाएको पुस्तकमा उल्लेख छ । एन्ड्रु र म्याक्सवेलसँग भर्जिनियाले खिचेको तस्बिर (जसमा एन्ड्रुले भर्जिनियाको कम्मरमा हात राखेका छन्) नै पछि गएर एन्ड्रुलाई अभियोजन गर्ने बलियो प्रमाण बन्न पुग्यो ।
नोबडीज गर्लमा शक्ति सन्तुलनको असमानताको झल्को पाइनुका साथै अपराधीहरूले आफूलाई कानूनभन्दा माथि रहेको विश्वास गर्ने गरेको कुराको सटीक उदाहरण प्रस्तुत गरिएको छ ।
एप्सटीनले शक्तिशाली व्यक्तिहरू सम्बन्ध रहेको कुरामा अभिमान गर्ने गरेका थिए । उनले राजनीतिकर्मी, वैज्ञानिक र एन्ड्रु जस्ता राजपरिवारका सदस्य लगायत व्यक्तिहरूको ठूलो सञ्जाल बनाएका थिए । ती व्यक्तिहरूलाई भविष्यमा ब्ल्याकमेल गर्ने उद्देश्यले एप्सटीनले यौनकर्मका तस्बिर र भिडियो बनाएर राखेका थिए ।
यौन सेवा नलिएका शक्तिशाली पुरुषहरूले पनि भर्जिनियामाथि भइरहेको दुर्व्यवहार हेरेर पनि रोक्नका लागि प्रयास नगरेको पुस्तकमा उल्लेख गरिएको छ । शक्तिशाली व्यक्तिहरूले आफूलाई कानूनभन्दा माथि रहेको विश्वास गर्ने गरेको कुरालाई यसले प्रमाणित गर्छ ।
कानूनी र सामाजिक स्तरमा यस पुस्तकले एप्सटीनका गतिविधिहरू सम्भव बनाउन सहयोग गर्ने प्रणालीगत असफलताहरूको आलोचना गरेको छ । भर्जिनियाले कानूनी प्रणालीका झन्झटिला सीमाहरूतर्फ ध्यानाकर्षण गराएकी छन् । जस्तै, हदम्यादको प्रावधानले धेरैजसो पीडितहरूलाई वर्षौंपछि आफूमाथिको दुर्व्यवहारको बारेमा बोल्न तयार भएको अवस्थामा न्यायप्राप्तिमा रोक लगाउन खोजेको थियो ।
एप्सटीनसँग सन् २००८ मा अमेरिकी सरकारले गोप्य रूपमा अभियोजन नगर्ने सहमति गरेर उनी र उनका मतियारहरूलाई फौजदारी दायित्वबाट जोगाएको थियो । यसले भर्जिनियालाई आक्रोशित बनायो र उनले अझ दृढ भएर अन्यायका विरुद्ध लड्ने प्रतिबद्धता गरिन् । सीमापार हुने मानव तस्करीलाई सम्भव बनाउने प्रणालीगत असफलताहरूमा प्रकाश आफ्नो पार्नु अभियानको उद्देश्य रहेको भर्जिनिया लेख्छिन् ।
भर्जिनियाको जीवनयात्रा चार चरणमा विभाजित छ । संस्मरणलाई पनि भाग १ः छोरी, भाग २ः बन्दी, भाग ३ः उत्तरजीवी (सर्भाइभर) र भाग ४ः योद्धा भनेर विभाजन गरिएको छ ।
पीडा कम गराउनका लागि लठ्याउने पदार्थ खाएर निष्क्रिय बसेकी पीडितबाट आफ्नो पीडाको कथा संसारलाई सुनाउन सक्ने हिम्मतिली योद्धामा परिणत भएको भर्जिनियाको जीवनयात्रा आत्मबोध र परिवारप्रतिको समर्पणबाट प्रेरित छ ।
एप्सटीन र म्याक्सवेलले उनलाई आफ्ना लागि बच्चा जन्माउने साधनको रूपमा प्रयोग गर्न खोजेको थाहा पाएपछि भर्जिनियाको जीवनमा निर्णायक मोड आएको थियो । त्यसरी बच्चा पाएको भए उनी सदाका लागि एप्सटीनको दासी भएर बस्नुपर्ने हुन्थ्यो । त्यसपछि उनले थाइल्यान्ड भाग्ने योजना बनाइन् ।
मसाज तालिम लिने बहानामा थाइल्यान्ड पुगेकी भर्जिनियाले रोबी जोफ्रीलाई भेटेपछि स्वतन्त्रताको जीवन सुरु गरिन् । इटालियन मूलका अस्ट्रेलियाली रोबीसँगको प्रेममा परी थाइल्यान्डमा विवाह गरेकी भर्जिनिया अस्ट्रेलियामा बस्न थालेकी थिइन् ।
पति रोबीसँग दुईवटा छोरापछि एली नाम गरेकी छोरी जन्माएकी भर्जिनियाले छोरीलाई आफूले भोगेको पीडाबाट जोगाउनका लागि योद्धा बन्ने निर्णय लिइन् । छोरीको आमा बनेपछि मातृत्व प्रवृत्ति हावी भएर भर्जिनियालाई मौनता र निष्क्रियता त्याग्न प्रेरित गरेको थियो । आफूलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारबाट कसैले वञ्चित गर्न नसक्ने भनी उनले प्रण गरिन् ।
तर, यो वाचा पूरा गर्नका लागि साहसको ठूलो आवश्यकता थियो । सार्वजनिक गवाही दिनु, शक्तिशाली अपराधीहरूको पहिचान गर्नु र बारम्बार आफ्ना दुःखद स्मृतिहरू दोहोर्याएर बयान दिनु उनका लागि निकै कठिन काम थियो । उनले कठोर संघर्षबाट पाएको आन्तरिक शक्ति उपयोग गरी आफूमाथि दुव्र्यवहार भएका स्थानहरू (जस्तै, लुभ्र संग्रहालयको कोठा) को पुनः भ्रमण गरिन् । उनको आत्मकथा नै उनको रूपान्तरणको प्रतिफल हो किनकि उनले लामो मौनतापछि आफ्नो आवाज फिर्ता पाएकी हुन् ।
भर्जिनियाको दृढता उनको बाल्यकालदेखि नै देखिन्छ । ‘म पनि बलियो थिएँ, नत्र भने म अहिले यहाँ हुने थिइनँ,’ उनी लेख्छिन् । शक्तिशालीसँगको डर, आतंक र हीन भावनासँग जुधिरहन सक्नु वास्तविक दृढता हो ।
यो दृढता हासिल गर्नका लागि परिवारको साथ अपरिहार्य हुन्छ । उनका पति रोबी जोफ्रे शक्तिशाली उपचारको स्रोत भएको पुस्तकले स्पष्ट पार्छ । रोबीले भर्जिनियालाई स्वार्थरहित प्रेम र सुरक्षाको अनुभूति दिएका थिए । त्यस्तो प्रेम उनले बाल्यकालपछि कहिल्यै पाएकी थिइनन् ।
रोबीले आफूलाई थिचोमिचो गर्नेहरूलाई ध्वस्त पार्ने व्यक्ति (बुली ब्याशर) को रूपमा वर्णन गर्थे । उनले भर्जिनियाको अतीतका भयानक विवरणहरू सुनेर द्रवित हुँदै उनलाई अटुट साथ दिए र निरन्तर उनलाई ढाडस दिइरहे । उनले भर्जिनियालाई भावनामा नियन्त्रण गर्न सिकाए र सम्बन्धको सुमधुर पक्ष पनि प्रस्तुत गरे ।
भर्जिनियाको मनोवैज्ञानिक उपचार प्रक्रिया कठिन थियो । सुरक्षाको वातावरणले पनि उनलाई कहिलेकाहीँ उल्टो प्रभाव पारिदिन्थ्यो । आघातका सम्झनाहरू मनमा बाढीझैं आएर पीडा दिन्थे । त्यसपछि उनले व्यावसायिक थेरापिस्ट जुडिथ लाइटफुटको सहयोग लिइन् । जुडिथले उनलाई पीटीएसडी र हीन भावनाको सामना गर्न सिकाइन् । भर्जिनियाले विगतमा जबर्जस्ती गराइएका लज्जास्पद कामहरूका लागि (जस्तै, यौ अपराधीको मनोरञ्जनका लागि अरू किशोरीहरू ल्याइलिने काम) आफैंलाई माफ गर्न सिकिन् ।
उनले प्रतीकात्मक रूपमा आत्मनियन्त्रण फिर्ता लिनका लागि दुःस्वप्नहरूलाई कागजमा लेखेर जलाउने विधि अपनाइन् । त्यसो गर्दा उनको मनमस्तिष्कबाट अपराधीहरूको प्रभुत्व हट्न मद्दत पुगेको थियो ।
असाधारण व्यक्तिगत प्रगति र सार्वजनिक सफलताका बावजुद भर्जिनियाले गम्भीर स्वास्थ्य संकटहरू भोग्नुपरेको थियो । मेनिन्जाइटिस, गर्दन भाँचिएको स्थिति, फाइब्रोमायल्जिया र अन्ततः मानसिक स्वास्थ्य बिग्रँदै गएर सन् २०२२ मा आत्महत्याको प्रयाससम्म पुग्दा उनले बेहोरेको पीडाले पाठकलाई उद्वेलित गराउँछ ।
उनले यी अनुभवहरूलाई आफ्नो न्यायको यात्रामा निरन्तर आघात सम्झनुपरेको भावनात्मक थकानसँग जोडेकी छन् । अन्ततोगत्वा आफ्ना छोराछोरी र पतिको प्रेमले उनलाई फेरि उठ्न प्रेरित गरेको थियो । उनले व्यक्तिगत स्वास्थ्य र परिवारमा केन्द्रित रही सन्तुलित जीवन बाँच्ने संकल्प गरिन् ।
भर्जिनियाको संस्मरण अन्य पीडितहरूका लागि प्रेरणाको स्रोतका रूपमा रहेको छ । उनीहरूले यो पुस्तकको अध्ययन गरी आफूलाई एक्लो नरहेको अनुभव गर्न सक्छन् । भर्जिनियालेसर्भाइभर सिस्टर्स र यौन दुव्र्यवहारका सबै पीडितहरूलाई आफ्नो पुस्तक समर्पण गरेकी छन् ।
आफ्ना तमाम कमजोरी र आत्महानिका क्षणहरू समेत उल्लेख गर्दै सम्पूर्ण जीवनकथा बताएर भर्जिनियाले पीडितको अनुभवबाट लज्जाको कलंक मेट्ने प्रयास गरेकी छन् । यौन आघात अपराध हो र यो लुकाएर राख्नुपर्ने कुरा होइन भनी उनले पुस्तकमा देखाएकी छन् ।
भर्जिनियाको संघर्षले कानूनमा परिवर्तनका लागि महत्त्वपूर्ण गति समेत दिएको छ । उदाहरणका लागि, न्युयोर्कमा देवानी मुद्दा दर्ता गर्नका लागि समयसीमा अर्थात् लुकब्याक विन्डो बढाउने कानूनहरू भर्जिनिया र अन्य उत्तरजीवीहरूकै पहलमा सम्भव भएको हो ।
शक्तिशाली प्रतिवादीहरूको डरलाई सामना गर्दै उनले निरन्तर कानूनी लडाइँ लडिन् । प्रतिवादीहरूले चरित्रहत्या गर्ने, इन्टरनेट ट्रोल लगाएर सामाजिक सञ्जालमा सताउने, रातिराति घरअगाडि गाडी पठाएर मूल ढोकामा बत्ती बालेर तर्साउने लगायतका काम गरेका थिए । कानूनी लडाइँमा डेभिड बोइस र सिग्रिड मककली जस्ता कानूनव्यवसायीहरूले उनलाई भरपूर साथ दिए । उनीहरूको अथक प्रयासले गर्दा राजकुमार एन्ड्रु र गिलेन म्याक्सवेलजस्ता अपराधीहरू कसुरदार ठहर भए । म्याक्सवेललाई २० वर्षको जेल सजाय सुनाइयो र उनी अहिले पनि कारागारमा छिन् । जेफ्री एप्सटीनले जेलमै सन् २०१९ मा आत्महत्या गरेका थिए यद्यपि कतिपयले हत्या भएको हुन सक्ने बताएका छन् ।
एप्सटीनले पीडित बनाएका महिलाहरूको समूह सर्भाइभर सिस्टर्सको गठन व्यक्तिगत डरलाई सामूहिक शक्तिमा रूपान्तरण गर्ने उम्दा प्रयास हो । यस्तो समूहमार्फत भर्जिनियाले पीडितहरूलाई एक हुन आग्रह गर्दै सँगै लड्दा सधैं बलियो भइने सन्देश दिएकी छन् ।
अदालती लडाइँसँगै भर्जिनियाले ‘स्पीक आउट, एक्ट, रिक्लेम’ (सोर) नामक गैरनाफामूलक संस्था पनि स्थापना गरिन् । यसले राजकुमार एन्ड्रु जस्ता पीडकहरूबाट प्राप्त क्षतिपूर्ति रकम मानव तस्करीका पीडितहरूको मुद्दा लड्न, पीडितहरूलाई सुरक्षा दिन र तस्करी रोकथाममा काम गर्ने संस्थाहरूलाई वितरण गर्ने प्रणाली बनाएको छ । यस संस्थामार्फत भर्जिनियाको व्यक्तिगत संघर्ष दीर्घकालीन समाजसेवामा रूपान्तरण भएको छ ।
भर्जिनिया रोबर्ट्स जोफ्रेको संस्मरण यौन शोषणको दीर्घकालीन विनाशकारी प्रभाव र त्यसविरुद्ध लड्नका लागि जुटाइएको अद्भुत साहसको जीवित प्रमाण हो । आतंकवादी समूह आईसिसको कब्जामा परी यौनदासी बन्न बाध्य महिला नादिया मुरादको पुस्तक ‘द लास्ट गर्ल: माई स्टोरी अफ क्याप्टिभिटी, एन्ड माई फाइट अगेन्स्ट दी इस्लामिक स्टेट’ पछिको सशक्त पुस्तक भर्जिनियाको नोबडीज गर्ल नै भएको समीक्षकको निष्कर्ष छ ।
धेरै अपेक्षा गरेविपरीत पुस्तकमा डोनल्ड ट्रम्पका बारेमा नकारात्मक चित्रण छैन । ट्रम्पले भर्जिनियासँग एकपटक कुराकानी हुँदा आत्मीयता नै देखाएको उल्लेख छ ।
एप्सटीन फाइल्समा ट्रम्पको पनि नाम छ भनी अमेरिकाका विवाद भइरहेको सन्दर्भमा भर्जिनियाको हकमा चाहिँ ट्रम्प यौन दुराचारी देखिँदैनन् । तर, एप्सटीनसँग उनको सम्बन्ध रहेकाले उनले भर्जिनियाबाहेकका अन्य किशोरीमाथि दुर्व्यवहार गरेका हुन सक्छन् । ट्रम्प प्रशासनले एप्सटीन फाइल्स सार्वजनिक नगरेर थप शंका जन्माएको छ ।
नेपालमा पनि सशस्त्र द्वन्द्वको समयमा भएका यौन हिंसाका जघन्य घटनाहरूमा पीडितले न्याय पाएका छैनन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विशिष्ट इकाइ बनाएर द्वन्द्वकालीन यौन हिंसाका घटनाको छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस गर्ने भनिएको भए पनि हालसम्म आयोगले काम गरेको छैन । पीडितहलाई न्यायका दिलाउनका लागि भर्जिनिया र सर्भाइभर सिस्टर्सहरूले गरेको संघर्षले नेपालका यौनहिंसाका पीडितहरूलाई पनि न्यायको लडाइँमा हौसला दिन सक्छ ।







प्रतिक्रिया