अमेजन वेब सर्भिसेज बन्द हुँदा केही समयका लागि इन्टरनेट अवरुद्ध, कसरी भयो यस्तो ?

49
Shares

एजेन्सी । सोमबार अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) बन्द हुँदा इन्टरनेट केही समयका लागि अवरुद्ध भएको छ । त्यसक्रममा कतिपय एप, वेबसाइट र अनलाइन सामग्रीहरू चलेका थिएनन् । यसले विश्वभरि लाखौं मानिसलाई प्रभावित गरेको थियो । पछि इन्टरनेट सेवा सुचारु गरियो ।

इन्टरनेटको एक हिस्सालाई सञ्चालन गर्ने क्लाउड सिस्टम घन्टौंसम्म बन्द हुँदा आधुनिक जीवन कसरी इन्टरनेट पूर्वाधारमा निर्भर रहेछ भन्ने कुरा उजागर भयो । बैंकिङ एप, एयरलाइन्स, स्मार्ट होम डिभाइसेज र गेमिङ प्ल्याटफर्महरू यसैमा निर्भर छन् ।

सोमवार दिउँसो १ बजेतिर अमेजनको क्लाउड सर्भिसमा समस्या देखियो । यसका कतिपय प्रणालीहरूले काम गर्न छोडे । त्यसले गर्दा कतिपय लोकप्रिय एप र वेबसाइटहरू अवरुद्ध भए ।

भर्जिनियामा रहेको एडब्ल्यूएसको प्रमुख डेटा सेन्टरमा समस्या देखिएको थियो । विभिन्न कम्प्युटर कार्यक्रमहरूलाई जोड्ने एपीआईमा प्राविधिक अप्डेट गर्दा समस्या देखिएको हो । अनेकौं अन्लाइन प्ल्याटफर्महरूको महत्त्वपूर्ण डेटा तथा प्रयोगकर्ताहरूको सूचना भण्डारण गर्ने प्रमुख क्लाउड डेटाबेस सर्भिस डाइनामोडीबीको एपीआई अद्यावधिक गरिएको थियो ।

अप्डेट गर्ने क्रममा भएको त्रुटिले डोमेन नेम सिस्टम (डीएनएस) लाई असर पारेकाले समस्या आएको देखिन्छ । डीएनएसले एपहरूलाई सही सर्भर एड्रेस खोज्न सहयोग गर्छ । डीएनएस इन्टरनेटको फोनबुक जस्तै हुन्छ । यसले वेबसाइटको नामलाई संख्यामा आधारित आईपी एड्रेसमा परिणत गरिदिन्छ । त्यसैमार्फत कम्प्युटरहरू सर्भरसँग जोडिन्छन् ।

डीएनएसमा समस्या आएकाले एपहरूले डाइनामोडीबीको एपीआईका लागि आईपी एड्रेस नै फेला पारेनन् र इन्टरनेटमा जोडिन पाएनन् ।

डाइनामोडीबी बन्द भएपछि अन्य एडब्ल्यूएस सर्भिसहरूले काम गर्न छोडे । समग्रमा ११३ सर्भिसहरूलाई यसले असर गरिदियो । करिब ४ बजेसम्ममा एडब्ल्यूएस सामान्य अवस्थामा फर्किसकेको भनी अमेजनले जानकारी दियो । तर, ब्याकलग भएर बसेका मेसेजलाई प्रोसेस गर्न केही घन्टा लाग्ने उसले जनायो ।

प्रयोगकर्ताको रिपोर्टमा आधारित रही इन्टरनेट अवरुद्ध भएको घटनाको निगरानी गर्ने डाउनडिटेक्टर नामक वेबसाइटले पछिसम्म पनि ओपनएआई, ईएसपीएन र एप्पल म्युजिक जस्ता प्ल्याटफर्ममा समस्याहरू देखिएको जनाएको थियो ।
क्लाउड के हो त ? कम्प्युटर वा अन्य भौतिक भण्डारण डिभाइसको साटो इन्टरनेटमा डेटा वा प्रोग्रामहरू भण्डार र उपयोग गर्ने प्रणालीलाई क्लाउड भनिन्छ ।

मानिसले कुनै कुरा क्लाउडमा छ भन्दा त्यो तपाईंको निजी डिभाइसमा नभई अमेजन, गुगल वा माइक्रोसफ्ट जस्ता कम्पनीको स्वामित्वमा रहेका डेटा सेन्टरमा (सर्भर भनिने) शक्तिशाली कम्प्युटरहरूमा छ भनी बुझ्नुपर्छ ।

एडब्ल्यूएसले कम्पनीहरूलाई कम्प्युटिङ पावर र भण्डारण भाडामा लिन अनुमति दिन्छ । वेबसाइट, एप र अन्य अन्लाइन सर्भिस सञ्चालन गर्ने प्रविधि पनि यसले उपलब्ध गराउँछ ।

डाइनामोडीबी एडब्ल्यूएसको प्रमुख सेवा हो । यस डेटाबेसमा कम्पनीहरूले ग्राहकको रेकर्ड जस्ता महत्त्वपूर्ण सूचना भण्डारण गर्छन् । सोमबार ग्राहकहरूले डाइनामोडीबी डेटामा पहुँच नपाएको भनी अमेजनले जनाएको थियो ।

एडब्ल्यूएस संसारको सबभन्दा ठूलो क्लाउड सर्भिस प्रोभाइडर हो ।

क्लाउड बन्द हुनु दुर्लभ घटना हैन । तर, धेरै कम्पनीहरू यी सेवामा दिनदिनै निर्भर रहँदा यिनलाई सबैले ध्यान दिन थालेका हुन् ।

‘यसको असर विभिन्न क्षेत्रका मानिसमा परेको छ,’ स्कोप मार्केट्सका प्रमुख बजार विश्लेषक जोशुआ माहोनीले अलजजीरालाई बताए । ‘तर, यस्ता घटनाहरू प्रायः प्रविधि कम्पनीहरूसँगै आउने गर्छन् । मुख्य कुरा भनेको तिनीहरूले समस्या छिट्टै समाधान गर्न सकून् र यसले धेरै खर्च नहोस्,’ उनले भने ।

उनका अनुसार, अमेजन यो घटनाबाट सहजै पुनरुत्थान गर्न सक्नेछ ।

‘यो तुलनात्मक रूपमा नियन्त्रणमा रहेको अवस्था हो,’ माहोनीले भने । ‘अमेजन वेब सर्भिसेजले मात्र विश्व बजारको ३० प्रतिशत भाग ओगटेको छ । तिनका प्रयोगकर्ताहरूले अचानक सेवा त्याग्ने छैनन् । तिनका व्यवसायहरू गहिरो रूपमा जरा गाडेका छन् ।’

डाउनडिटेक्टरका अनुसार, यस अवरोधले स्न्यापच्याट, पिनटेरेस्ट र एपल टीभीसहित दर्जनौं वेबसाइटहरूलाई असर ग‍र्यो ।
अन्य सञ्चार एपहरू ह्वाट्सयाप, सिग्नल, जुम र स्ल्याक समेत प्रभावित भए । गेमिङ सेवा रोब्लक्स, फोर्टनाइट, एक्सबक्स पनि डाउन भए । साथै, स्टारबक्स जस्ता व्यवसायहरूमा पनि समस्या देखा प‍र्यो । एट्सीले पनि समस्या अनुभव ग‍र्यो ।

अमेरिकामा आर्थिक लेनदेनमा उपयोग गरिने एपहरू, विशेषगरी भेन्मो, पनि ठप्प भए ।

केही प्रयोगकर्ताहरूका अनुसार, तिनका ढोकाका घण्टी र एलेक्सा स्पिकरहरूले काम गर्न छोडे । अन्यले भने अमेजनको वेबसाइटमा जान वा किन्डलमा पुस्तक डाउनलोड गर्न सकेनन् ।

भाषा सिकाउने एप डुओलिंगो र रचनात्मक उपकरण क्यान्भाले पनि आफ्ना वेबसाइटमा त्रुटि रिपोर्ट गरे। समाचार एजेन्सी एसोसिएटेड प्रेस, द न्युयोर्क टाइम्स, द वालस्ट्रीट जर्नल समेत प्रभावित भए ।

बैंकहरू, क्रिप्टोकरेन्सी एक्सचेन्ज कोइनबेस, एआई कम्पनी पर्प्लेक्सिटीका साथै अमेरिकी एयरलाइन्स डेल्टा र युनाइटेडले पनि समस्या रिपोर्ट गरे ।

एडब्ल्यूएस डाउन भएपछि त्यसको असर अमेजनका उपकरणहरूमा मात्र परेन । एडब्ल्यूएसलाई भण्डारण, डाटाबेस वा वेब होस्टिङका लागि प्रयोग गर्ने हजारौं अन्य कम्पनीका प्रणालीहरू पनि बन्द भए । एडब्ल्यूएसको भरमा आफ्ना प्रणालीका महत्त्वपूर्ण भाग चलाउने कम्पनीहरू पनि यसमा पर्छन् ।

‘यस्ता हेडलाइनहरू देख्दा सबैको पहिलो सोच हुन्छ — ‘के यो कुनै साइबर आक्रमण हो ? के यो कुनै सैनिक वा गुप्तचर गतिविधिको नतिजा हो ?’ तर यस अवस्थामा त्यस्तो कुनै आक्रमण होइन,’ साइबर सुरक्षा कम्पनी स्काइथका प्रमुख कार्यकारी ब्रायसन बोर्टले अल जजीरालाई बताए ।

‘वास्तवमा अधिकांश समय यस्तो हुँदैन । प्रायः यो मानवीय गल्तीका कारण हुन्छ,’ उनले थपे ।

एडब्ल्यूएसले सेवा अवरुद्ध भएको कुरा स्वीकार गर्दै इन्जिनियरहरू तुरुन्तै समस्या समाधानमा लागिहालेको बतायो ।

उसका अनुसार, सेवा पुनः सुचारु गराउन धेरैवटा समानान्तर प्रयासहरू गरिएको थियो । मुख्य समस्या पूर्ण रूपमा समाधान भए पनि केही प्रयोगकर्ताहरूले प्रणालीहरू पुनःसञ्चालन भइरहेका बेला ढिलाइको सामना गरे ।

कम्पनीले घटनाको विस्तृत विवरण सहितको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

अलजजीरामा प्रकाशित एलिजाबेथ मेलिमोपुलुस र मोहम्मद ए हुसेनको एक्सप्लेनरको अनुवाद