ग्राहकसँग लिने शुल्क सार्वजनिक गरेर मात्रै सेवा दिन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

182
Shares

काठमाडौं । ग्राहकसँग लिने शुल्क सार्वजनिक गरेर मात्रै सेवा प्रदान गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई नेपाल दूरसंचार प्राधिकरणले निर्देशन जारी गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गरेर ग्राहकलाई सेवा दिइरहेका सबै इन्टरनेट सेवा प्रदायकहरूलाई ट्यारिफ (सेवा शुल्क तथा दर) प्राधिकरणबाट स्वीकृत गराएर मात्रै सेवा विक्री गर्न निर्देशन दिएको हो ।

सेवाप्रदायकले मनोमानी शुल्क लिएको र ग्राहकलाई थाहा नभएके गुनासो बढेपछि प्राधिकरणले निर्देशन जारी गरेको हो ।
इन्टरनेट ९ईमेलसहित० अनुमतिपत्र सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकहरूसँग लिने सेवाको शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट स्वीकृत हुनुपर्ने कानुनी प्रावधान छ ।

यस्तो प्रावधान अनुसार इन्टरनेट सेवाप्रदायकले सेवाको शुल्क तथा महसुल दर अनिवार्यरुपमा स्वीकृत गराउनुपर्ने र त्यसको मितिको समेत जानकारी दिनुपर्ने गरी प्राधिकरणले सूचना जारी गरेको छ ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘सबै इन्टरनेट (ईमेलसहित) अनुमतिपत्र सेवा प्रदायकहरूले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम शुल्क तथा महसुलदर स्वीकृत गराएर मात्र लागू गराउनु हुन तथा आम उपभोक्ताले समेत स्वीकृत भएको महसुल दर अनुसारको शुल्क तथा महसुलदर मात्र भुक्तानी गर्नु हुन सबैलाई जानकारी गराइन्छ ।’