विदेशीले नेपालमा क्युआरबाट गर्छन् मासिक ४० करोड भुक्तानी, भारतीयले रेस्टुरेन्टमा तिर्ने सर्वाधिक

364
Shares

काठमाडौं । नेपालमा क्रसबोर्डर क्युआर भुक्तानी सुरु भएको १ वर्षमा मासिक ४० करोड रुपैयाँभन्दा माथिको भुक्तानी डिजिटल माध्यमबाट भुक्तानी हुने गरेको छ ।

अन्तरदेशीय भुक्तानीमध्ये नेपाल राष्ट्र बैंकले अहिलेसम्म विदेशीहरुले नपालमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने (क्रसबोर्डर क्युआर एक्वारिङ) मात्रै व्यवस्था गरेको छ । जसअनुसार विदेशीले नेपालमा क्युआरमार्फत् मासिक ४० करोड रुपैयाँभन्दा बढीको भुक्तानी गर्ने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विदेशीले नेपालमा क्यूआरमार्फत् भुक्तानी गर्न थाले पनि नेपालीहरुले अन्य देशमा क्यूआरमा भुक्तानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छैन ।

पछिल्लो समय नेपालको भारतसँगको सीमावर्ती सहरहरु तथा काठमाडौं र पोखरा लगायतका क्षेत्रमा विदेशीले क्युआरमार्फत गर्ने भुक्तानी उल्लेख्य रुपमा बढेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको २ महिनामै विदेशीले नेपालमा क्युआरमार्फत् करिब ७७ करोड रुपैयाँ बराबरको भुक्तानी गरेका छन् ।

साउनमा ३७ करोड ३० लाख र भदौमा ३७ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी गरेको राष्ट्र बैंकको तथ्यांक छ । साउनमा १ लाख ३३ हजार वटा कारोबार र भदौमा १ लाख ३५ हजार वटा कारोबारमा उक्त भुक्तानी भएको हो ।

साउन भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनपछि सीमा नाकामा भएको कडाइले भदौमा अझै बढीको क्युआर भुक्तानी हुने अपेक्षा भए पनि हुन नसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

नेपालमा आउने क्रसबोर्डर क्युआरमध्ये ९० प्रतिशतभन्दा धेरै भारतको युनिफाइड पेमेन्ट सिस्टम (युपीआई) को च्यानलमार्फत् आउने गरेको राष्ट्र बैंकका तथा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले बताए । यसबाहेक चीनको अलिपे र विच्याट मार्फत् पनि क्रसबोर्डर क्युआर भुक्तानी हुने गरेको छ । अलिपे चीन मात्रै नभएर करिब १० मुलुकमा सञ्चालनमा रहेकाले अलिपे मार्फत हुने भुक्तानी चिनियाँले मात्रै गरेको भने नहुने उनले बताए ।

भुगोलको रुपमा हेर्दा सबैभन्दा धेरै बाग्मती प्रदेश र त्यसपछि गण्डकी प्रदेशमा क्रसबोर्डर क्युआर एक्वारिङ भएको देखिएको उनले बताए । काठमाडौं र पोखरा लगायका सहरमा भारतीय पर्यटक धेरै आउने भएकाले पनि बाग्मती र गण्डकी प्रदेशमा क्रसबोर्डर क्युआर भुक्तानी बढी देखिएको हो ।

विदेशीले नेपामला क्युआर मार्फत गर्ने क्रसबोर्डर भुक्तानीमा सबैभन्दा धेरै होटेल तथा रेष्टुरेन्टमा देखिएको प्रवक्ता पण्डित बताउँछन् । अधिकांश हिस्सा होटल रेस्टुरेन्टकै देखिएको उनले बताए ।

२०८१ साउनयता २०८२ असारमै मात्रै ४४ करोड ७० लाख रुपैयाँको क्रसबोर्डर भुक्तानी भएको छ । त्यस्तै २०८२ जेठमा ४० करोड ३० लाख रुपैयाँ र वैशाखमा २९ करोड ७० लाख रुपैयाँको क्युआर भुक्तानी गरेका छन् ।

२०८१ फागुनमा २० करोड ५० लाख र चैतमा २५ करोड २० लाख रुपैयाँ क्रसबोर्डर क्युआर एक्वायरिङ भएको राष्ट्र बैंकले जनाएको छ । गत पुसमा ३१ करोड ४० लाख र माघमा २६ करोड रुपैयाँ बराबर विदेशीले नेपालमा क्युआर मार्फत भुक्तानी गरेका थिए ।