भारतको उडिसामा दुर्गा मूर्ति विसर्जनका क्रममा हिंस्रक झडप, कर्फ्यु जारी

196
Shares

एजेन्सी । भारतको उडिसा राज्यमा रहेको कटकमा दुर्गा भवानीको मूर्ति विसर्जनका त्रममा दुई समुदायबीच भएको झडप हिंस्रक भएपछि कर्फ्यु लगाइएको छ ।

दुर्गा मूर्ति विसर्जनका क्रममा आक्रमण गरिएको विरोधमा विश्व हिन्दू परिषद्ले आइतवार साँझ बाइक र्यालीको आयोजना गरेको थियो । त्यसक्रममा थप हिंसा भएपछि ३६ घन्टासम्म कर्फ्यु लगाइएको छ ।

हिंसा प्रभावित क्षेत्रका साथै संवेदनशील क्षेत्रमा कर्फ्यु लगाइएको प्रहरी कमिश्नर एस देव दत्त सिंहले बताए । दंगामा सहभागी सबै व्यक्तिमाथि कडा कारवाही गरिने उनको भनाइ छ ।

शुक्रवार अबेर राति दरगा बजारमा दुर्गा मूर्ति विसर्जनको समयमा केही व्यक्तिले आक्रमण गर्दा चारजना घाइते भएको सिंहको भनाइ छ ।

सीसीटीभी फूटेज हेरेर ६ जना आरोपितहरूको पहिचान गरिएको र तिनलाई शनिवार पक्राउ गरिएको पनि उनले जानकारी दिए । एकजना व्यक्तिको मृत्यु भएको भनी सामाजिक सञ्जालमा आएको हल्लालाई उनले खारेज गरे ।

घटनामा घाइते भएका चारजनाको उपचार चलिरहेको छ ।

शुक्रवार रातिको घटनापछि विश्व हिन्दू परिषद्ले बाइक र्यालीको आयोजना गर्ने प्रस्ताव राखेको थियो । तर, प्रहरीले त्यसको अनुमति दिएन । प्रहरीको निर्देशनलाई बेवास्ता गर्दै हिन्दूवादी प्रदर्शनकारीहरू संवेदनशील क्षेत्रमा पुगे । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । प्रहरीले लाठीचार्ज र रबरको गोली हानेर भीडलाई तितरबितर पारेको थियो ।

उडिसाको गृह मन्त्रालयले आइतवार २४ घन्टाका लागि कटक शहर र वरपरको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ । विश्व हिन्दू परिषद्ले सोमवार १२ घन्टाको बन्दको आयोजना गरेको छ ।