
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपालबाट भारतमा निर्यात हुने वस्तुमा लगाइएको बीआईएस प्रमाणिकरण प्रक्रियालाई थप सहज र सरल बनाउन भारतीय राजदुत नविन श्रीवास्तवसँग आग्रह गरेका छन् ।
भारतीय राजदूत श्रीवास्तवसँग भेंटवार्ता गर्दै उद्योगमन्त्री सिन्हाले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री सिन्हाले स्टीलजन्य वस्तुको निर्यातमा पूर्ववत् सहजीकरण गर्न तथा सेफगार्ड ड्युटी नलगाउन र जुटजन्य वस्तुको निर्यातमा एण्टी डम्पिङ ड्युटी नलगाउने बिषयमा पनि सहजीकरण गरिदिन राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् ।
यसका साथै बिद्यमान नेपाल भारत पारवहन सन्धी २०२३ को संशोधनका लागि नेपालको तर्फबाट भारत सरकारलाई पठाइएका लेटर एफ एक्सचेन्जहरुलाई निष्कर्षमा पुरयाउन र नेपाल भारत व्यापार सन्धी २००९ को पुनरावलोकन प्रक्रिया अघि बढाउने बिषयमा पनि सहजकिरणका लागि अवश्यक पहल गरिदिन मन्त्री सिन्हाले आग्रह गरेका छन् ।
मन्त्री सिन्हाले वर्तमान बिषम परिस्थितिमा समेत आपूर्ति श्रृखला सुचारु राख्न भारतले खेलेको भूमिकाप्रति राजदूत श्रीवास्तवलाई आभार व्यक्त गरेका थिए ।







प्रतिक्रिया