यूएईले नेपालीलाई भिजिट भिसा नदिने, प्याकेज नबेच्न ट्राभल एजेन्सीलाई अनौपचारिक सर्कुलर


भिजिट भिसाको नाममा अवैध काम भएको भन्दै संसदमा भएको विराेधका कारण यूएई सरकारले गत जनावरीदेखि नै कडाइ गर्दै आएको थियो । जसका कारण वार्षिक ४० हजार जनासम्मम जाने गरेको यूएईमा यो वर्ष १० हजारको हारहारीमा मात्रै नेपाली भिजिट भिसाबाट घुम्न जाने अनुमान भएकोमा अब त्याे पनि बन्द हुने आकलन गर्न थालिएको छ ।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन अनौपचारिक रुपमा रोकेको छ । सोमबारदेखि नै यूएईले नेपालीलाई भिजिट भिसा दिन रोकेपछि त्यहाँको ट्राभल एजेन्सीले नेपाली ट्राभल तथा टुर व्यवसायीलाई प्याकेज बिक्री नगर्न सर्कुलर जारी गरेको छ ।

नेपालबाट टूर प्याकेज बिक्री गरिरहेको एक ट्राभल एजेन्सीका अनुसार सोमबारदेखि नेपाली नागरिकलाई भिसा सेवा निलम्बन गरेको जानकारी सर्कुलरमार्फत गराएको छ ।

अर्को सूचना नआएसम्मको लागि नेपाली नागरिकहरुलाई सबै प्रकारका भिसा दिने काम रोकिएको उल्लेख छ । अर्को सूचना जारी नभएसम्मको लागि नेपाली नागरिकलाई कुनै पनि भिसा थप नगर्न र थपको आवेदन नदिन समेत आग्रह गरेको छ ।

यूएईले नेपालीलाई भिजिट भिसामा दिन रोक लगाएसँगै हाल बिक्री भइसकेको बाहेक अब नयाँ प्याकेजबाट पठाउन समस्या हुने भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का वरिष्ठ उपाध्य जिस्वाँ तुलाधरका अनुसार भिजिट भिसाको इस्यु आएको कारण गत जनावरीदेखि नै यूएईले नेपालीलाई कडाई गर्दै आएको थियो । सरकारको कारण कम भएको भिजिट भिसा सोमबारदेखि भने जारी नै नगर्न सर्कुलर आएको पनि उनले क्लिकमान्डुलाई बताइन् ।

तुलाधरका अनुसार तत्काललाई भिजिट भिसा होल्ड गर्न भनिएको छ । जसका कारण भिसा लगाइसकेका र टिकेटिङसमेत भइसकेको नेपालीबाहेक नयाँ जारी हुने तयारीमा रहेका र बुकिङ भएकाको हकमा भने अस्वीकार हुने देखिएको छ ।

भिजिट भिसा नदिएपछि ट्राभल एजेन्सीले जारी गर्ने टिकेटमा पनि असर पर्ने भएकोले यूएईका वायुसेवा कम्पनीहरु फ्लाई दुवई र एयर अरेवियालाई आफूले इमेल गरिसकेको र त्यसको जवाफ आइनसकेको पनि तुलाधरले जानकारी दिइन् । एयरलाइन्स कम्पनीले के हुने भन्ने जानकारी दिनुपर्ने र टिकेटिङमा एयरलान्सले सहजीकरण गर्नुपर्ने भएकोले स्पष्ट हुन इमेल लेखेको पनि उनको भनाइ छ ।

विगतका वर्षहरुमा वार्षिक ४० हजारको हाराहारीमा नेपाली भिजिट भिसामा युएई पुग्ने गरेका थिए । दशैं तिहारसहित पर्यटकीय सिजनमा प्याकेज लिएर जाने ती पर्यटक सरकारकै भिजिट भिसाको इस्युका कारण ७० प्रतिशतले घटेर यो वर्ष १० हजार पनि नपुग्ने अवस्थामा पुगेको थियो । त्यसमा पनि अब जारी नगर्नु भन्ने सर्कुलरका कारण ठप्पै हुने अवस्था आएको पनि नाट्टाका वरिष्ठ उपाध्यक्ष तुलाधरको भनाइ छ ।

यूएईको पनि शारजाहबाट मात्रै ७५ प्रतिशत भिजिट भिसाको काम हुने गरेको छ । सोही कारण सारजाहबाट नेपाल आउने वायुसेवा कम्पनीले ट्राभल एजेन्सीलाई सहजीकरण गनुपर्ने भनाइ पनि सम्बन्धित नेपाली ट्राभल एजेन्सीको भनाइ छ ।

वर्षेनी दशैं तिहारको विदासहितमा नेपालबाट तुलाधरको स्वाँ टूर्स एण्ड ट्राभलबाट मात्रै वर्षभरीमा ५ सय नेपाली भिजिट भिसामा प्याकेज सहित घुम्न जाने गरेकोमा यो वर्ष भने एक सय जना पनि नपुग्ने अवस्था देखएको उनको भनाइ छ ।