
काठमाडौं । जेनजी आन्दोलनको आक्रमणमा परेका निजी क्षेत्रलाई सघाउने प्रतिवद्धता सरकारले गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारकारले निजी क्षेत्रलाई फेरि उठ्न प्रोत्साहन गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
भदौं २४ गते जेनजी आन्दोलनका कारण भएको आगजनीबाट निजी क्षेत्रको लगानी रहेको चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुग्यो । यतिबेला ठूलो नोक्सानी व्यहोरेको निजी क्षेत्र फेरि उठ्न कोशिस गर्दैछन् ।
विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुङ्गलको सिजीको पार्कदेखि थापाथलीस्थित सीजी मोटर्सको सोरुम तथा गाडी सहितको उनका व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भयो ।
विनोद चौधरीका भाइ वसन्त चौधरी तथा अरुण चौधरीको निवास एवं प्रतिष्ठानमासमेत आक्रमण भए । थापाथलीको सुजुकी गाडीको सोरुममा तोडफोड भयो ।
सिजी समूह (चौधरी ग्रुप) का प्रवन्ध निर्देशक निर्वाण चौधरीले हालैको अराजक घटना इतिहासमै सबैभन्दा पीडादायी क्षण भएपनि विचलित नभएको भन्दै अब उठ्ने कोशिस भएको बताएका छन् ।
२४ गतेको आन्दोलनमा गोल्छा ग्रुप पनि निशाना परेको थियो । करोडौँ क्षति गुमाएको गोल्छा ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको ‘नयाँ नेपाल’ को सपना पुरा होस् भन्ने शुभकामना व्यक्त गर्दै व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट आफू निरास वा विचलित नभएको बताए ।
लोकतन्त्र अझ सुदृढ होस् र देश सकारात्मक दिशातर्फ अघि बढोस् भन्ने कामना गर्दै आफूहरू अझ सशक्त रूपमा रोजगारी सिर्जना गर्न तथा लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाएका छन् ।
सघाउँदै सरकार
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते निजी सम्पतिमाथि भएको आक्रमणप्रति दुःख मनाउ गर्दै सघाउने बताएकी छन् ।
आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो । उहाँले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताए ।







प्रतिक्रिया