अमेरिकामा गृहयुद्ध निम्त्याउन सक्ने गरी भयो चार्ली कर्कको हत्या, के थियो आक्रमणकारीको लक्ष्य ?

791
Shares

एजेन्सी । अमेरिकाका संरक्षणवादी अर्थात् कन्जर्भेटिभ अभियन्ता चार्ली कर्कलाई टाइलर रबिन्सन नामक व्यक्तिले हत्या गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

तर, २२ वर्षीय रबिन्सनले कर्कको हत्या किन गरेका हुन् भनी खुलेको छैन ।

हत्याको उद्देश्य नखुलेपछि अनुसन्धान अधिकारीहरूले रबिन्सन र उनको पृष्ठभूमि खोतल्न थालेका छन् । उनी युटाह राज्यमा रहेको डिक्सी टेक्निकल कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।

उनका आमाबुवा रिपब्लिकन पार्टीका मतदाता हुन् । तर, उनी आफ्नो राजनीतिक विचार के हो भन्ने स्पष्ट छैन । रबिन्सन र उनको परिवारले बन्दूक सहितको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् जुन अहिले हटाइएको छ ।

युटाहका गभर्नर स्पेन्सर कक्सले द वालस्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा रबिन्सन वामपन्थी विचारधारामा डुबेको आफूलाई र अनुसन्धान अधिकारीलाई स्पष्ट भएको बताए । रबिन्सनका बारेमा भएको अनुसन्धानको निष्कर्षलाई उद्धृत गर्दै उनले त्यो टिप्पणी गरेका हुन् ।

रबिन्सन पारलैंगिक (ट्रान्स) साथीसँग बस्ने गरेको र ती साथीले अनुसन्धान अधिकारीहरूलाई छानबिनमा सघाइरहेको भनी कतिपय सञ्चारमाध्यममा आएका समाचारका विषयमा अमेरिकी अनुसन्धान निकाय एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको छ । ट्रान्स समुदायलाई कर्कले लगातार आलोचना गर्दै आएका थिए ।

रबिन्सनको पहिचान खुल्नुअघि कतिपय कन्जर्भेटिभहरूले अन्य जाति वा धर्मका मानिसले कर्कको हत्या गरेको हुन सक्ने भन्दै आप्रवासीका विरुद्ध विषवमन गरिरहेका थिए । तर, रबिन्सन गोरा मानिस भएको खुलेपछि उनीहरूले उदारवादी खेमातर्फ आफ्नो आक्रोश पोखेका थिए ।

यसैबीच साउथ क्यारोलाइनाकी रिपब्लिकन सांसद न्यान्सी मेसले मृत्युदण्डको सजाय फेरि ल्याउनुपर्ने बताएकी छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले वामपन्थीहरू यसका लागि जिम्मेवार रहेको बताएका छन् । एनबीसी न्युजसँग शनिवार कुराकानी गर्दै उनले भने, हामी उग्रवादी वामपन्थी बौलाहाहरूको सामना गरिरहेका छौं । तिनीहरू कहिले पनि नियममा रहेर खेल्दैनन् ।’

त्यसअघि ट्रम्पले बुधवार कर्कको हत्या भएको केही घन्टापछि भिडियो सन्देश जारी गर्दै देशमा देखिएको आतंकवादका लागि उग्रवामपन्थीहरू जिम्मेवार रहेको बताएका थिए ।

यस घटनापछि दक्षिणपन्थी र उदारवादीहरूबीचको द्वन्द्व थप चर्किने संकेत देखिएको छ । कतिपय विश्लेषकले त्यो द्वन्द्वले गृहयुद्धको स्वरूप लिन सक्ने बताएका छन् ।

चार्ली कर्क कन्जर्भेटिभ मूल्यमान्यताका विषयमा जहाँ गएर पनि बहस गर्ने निडर बौद्धिक व्यक्ति थिए । अमेरिकाका क्याम्पसहरूमा गएर उनले उदारवादी वामपन्थी विद्यार्थीहरूसँग गर्भपात, पारलैंगिकता लगायतका विषयमा बहस गर्ने गरेका थिए । उनी राष्ट्रपति ट्रम्पको निकट मानिन्थे ।