लन्डनमा १ लाखभन्दा बढी मानिसले किन गरे प्रदर्शन ?

1.1k
Shares

एजेन्सी । बेलायतको राजधानी लन्डनमा शनिवार १ लाख १० हजारभन्दा बढी मानिसले सडकमा प्रदर्शन गरेका छन् ।

टमी रबिनसन भनी चिनिने स्टिफन याक्सली–लेननले आयोजना गरेको यो प्रदर्शन विगत केही दशकयताको सबभन्दा ठूलो राष्ट्रवादी कार्यक्रम भएको बताइएको छ ।

प्रदर्शनकारीहरू ट्रेन र बस चढेर लन्डन आइपुगेका थिए । त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको उत्सव नाम दिइएको थियो ।
त्यसक्रममा जातिवादी षड्यन्त्र सिद्धान्त र मुस्लिमविरोधी घृणास्पद अभिव्यक्तिहरू दिइएको थियो ।

प्रहरीले अनुमान गरेको भन्दा बढी मानिस प्रदर्शनमा आएका थिए । प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो ।

कम्तीमा २५ जनालाई पक्राउ गरिएको थियो र २६ जना प्रहरी अधिकृत घाइते भएका थिए । तीमध्ये चारजनालाई गम्भीर चोटपटक लागेको थियो ।

इलोन मस्कले पनि प्रदर्शनकारीहरूलाई सम्बोधन गरेका थिए । भिडियोमार्फत उनले सम्बोधन गर्दै बेलायत द्रुत गतिमा क्षयीकरण हुँदै गएको बताए । उनले बेलायती संसद् विघटन गर्न पनि आह्वान गरे ।

फ्रान्सका उग्रदक्षिणपन्थी राजनीतिकर्मी एरिक जेम्मुरलाई पनि सम्बोधनका लागि बोलाइएको थियो । दक्षिण र मुस्लिम संस्कृतिबाट आएका मान्छेले युरोपेलीहरूलाई विस्थापित गरिरहेको उनले बताए । पहिले उपनिवेश बनाइएकाहरूले नै आएर उपनिवेश बनाउन थालेको उनको भनाइ थियो ।

भीड धेरै जम्मा भएपछि ह्वाइटहलमा खुट्टा टेक्ने ठाउँ थिएन । प्रदर्शनकारीहरूले प्रहरीलाई लात्ती र मुक्काले हिर्काएका थिए । बोतल र अन्य वस्तुहरू पनि प्रहार गरिएको थियो ।

उता लन्डनको मध्यभागमा फासिवादविरोधी करिब ५ हजार मानिसले प्रदर्शन गरेका थिए ।