नुवाकोटमा कर्मचारी अभाव, इलाका प्रशासनको सेवा बन्द
नुवाकोट । इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ ।
इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा, तादी गाउँपालिका–१, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिका–३ र ४ गरी १३ वडाका नागरिकलाई सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय कर्मचारी अभावले बन्द भएको हो ।
प्रमुख नहुँदा इलाका कार्यालयबाट प्रवाह हुदै आएको नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिश लगायतको काम लिन नागरिक बिदुर आउन बाध्य भएका छन् । इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी, गाउँखर्क, बेतिनी लगायतबाट १८ कोसभन्दा बढी पर्ने दुई दिनको दूरी पार गरी विदुरस्थित जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन् ।
निमित्त प्रमुख ऋषेश्वर न्यौपानेको काज अवधि पूरा भएर प्रशासन कार्यालयमा फर्किएपछि इलाका कार्यालयमा सहयोगी मात्र रहेका छन् । कर्मचारी नभएको जानकारी नहुँदा इलाका कार्यालय पुगेका सेवाग्राही जिल्लास्थित कार्यालयमा जान बाध्य हुँदै आएका छन् ।
इलाका कार्यालयका लागि अधिकृतको दरबन्दी भए पनि गृह मन्त्रालयबाट पदपूर्ति नहुँदा केही दिन सेवा बन्द हुन पुगेकाले सामान्य रुपमा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । ‘केन्द्रबाट समयमै कर्मचारी व्यवस्थापन नभएकाले जिल्लाबाट अर्को व्यवस्थापनको तयारीमा लागेका छौँ,’ प्रजिअ यादवले भने, ‘अवरुद्ध भएको सेवा अर्को सातासम्ममा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।’
जिल्ला प्रशासन कार्यालयमा दुईजना अधिकृत कार्यरत भएकाले कुनै एकजनालाई पठाउन गृहबाट अनुमति लिनु नपर्ने भएपनि त्यसतर्फ प्रशासन कार्यालयले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ ।