जेनजी प्रदर्शनका आयोजकले भने: स्वार्थ प्रेरित समूहले भिडलाई उत्तेजित बनाए, सबै घर फर्किनुस्

1.3k
Shares

काठमाडौं । जेनजी नेपाल नामको फेसबुक पेजबाट सबैलाई फर्किन आह्वान गरिएको छ ।

जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन पेजमार्फत् आग्रह गरिएको हो ।

‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ पेजमा लेखिएको छ ।

बानेश्वर क्षेत्रको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनकारी संघीय संसद भवन भित्र प्रवेश गरेका छन् भने उनीहरुले संसद प्रवेश गर्ने गेटमा पनि तोडफोड गरेका छन् । प्रहरीले अश्रुग्यास, रवरको गोली प्रहार गरेको छ भने काठमाडौं प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्युको आदेशसमेत जारी गरेको छ ।