राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा वार्षिक साढे ५ लाख यात्रुलाई सेवा दिएर सवा १५ अर्ब रुपैयाँ जहाज उडानमार्फत आम्दानी गरेको छ । यस्तो आम्दानीमा आन्तरिक उडानको हिस्सा न्यून छ । यसले आन्तरिक उडानमा जहाज अभाव भएका कारण प्रदेशसँग सहकार्य गरेर सेवाको दायरा फराकिलो बनाउन खोजेको देखिन्छ ।

काठमाडौं । संघीय सरकारले आन्तरिक उडानका लागि जहाज खरिदमा नेपाल वायुसेवा निगमलाई प्राथमिकता नदिएपछि निगमले यसको विकल्प खोज्न सुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको निर्देशनमा वायुसेवा निगमले आन्तरिक उडान अन्तर्गत छोटो दूरीको उडान तथा अवरण (स्थानीय स्टल)का लागि जहाज किन्न प्रदेश सरकारसँग सहकार्य गर्न चाहेको हो ।
निगमले हरेक प्रदेशलाई ट्विनअटर प्रकृतिको एक-एक जहाज किन्न र सम्बन्धित प्रदेशकै नाम, लोगो तथा संकेत चिन्नमार्फत जहाज उडान दिने योजना बनाएको छ । निगमले सम्बन्धित प्रदेशको लगानी र स्थानीय सरकारको अनुदानमा जहाज किन्न लगाउने र सञ्चालन भने निगमले गर्ने विषयमा छलफल सुरु गरेको छ ।
दुर्गम क्षेत्रमा सेवा दिन नयाँ विकल्पको रुपमा प्रस्तुत गरिएको यस प्रस्तावमाथि कोशी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग एक चरणको छलफल भइसकेको छ । निगमले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग छलफल गरेको जनाएको छ ।

कोशी प्रदेशसँगको छलफलमा पर्यटन प्रवद्र्धन, पहाडी तथा हिमाली क्षेत्रमा विमानस्थलमा उडान सञ्चालन गरी हवाई यात्रा सहज र सुलभ बनाउने उद्देश्यका लागि प्रदेशबाट स्थानीय सहयोगमा जहाज खरिद गर्ने विषयमा सहमति भएको निगमले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले जहाज खरिदका विषयमा छलफल गरेको छ ।
प्रादेशिक हवाई सेवा प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा उडान क्षमता वृद्धि गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यदल गठन गर्ने विषयमा पनि छलफल भइसकेको निगमले जानकारी दिएको छ ।
निगमका प्रवक्ता मनोज साहले भने, ‘प्रदेशलाई सेवा चाहिएको छ भने निगमलाई जहाज चाहिन्छ ।’ दुबैको आवश्यकता मिल्दा प्रदेश सरकारसँग सहकार्य गरेर निगमले जहाज सञ्चालन गर्ने छलफल सुरु गरिएको हो ।
सम्बन्धित प्रदेशले जहाज खरिद गरेमा सोही प्रदेशभित्र नियमित उडान सञ्चालन गर्न सकिने छ । यसले निगमसँगको विश्वास बढाउनेछ । हालसम्म कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशले चासो देखाएका छन् भने कोशी र गण्डकीसँग छलफल भइसकेको छ ।

जहाज अभावका कारण निगमको आन्तरिक उडान प्रभावकारी हुन सकेको छैन । पछिल्लो एक वर्षमा आन्तरिक उडानमा जम्मा १२,५७३ यात्रुलाई सेवा दिएको छ र ७ करोड ५९ लाख रुपैयाँ मात्र आर्जन भएको छ ।
गत वर्ष २०८१ को माघ र फागुनमा जहाज अभावका कारण निगमले उडान सञ्चालन गर्न सकेको थिएन । निगमसँग जम्मा दुई वटा ट्विनअटर जहाज रहेका थिए, तर दुबै ग्राउन्डेड हुँदा दुई महिना आन्तरिक उडान ठप्प रह्यो । वर्तमानमा निगमले मासिक १,९०० यात्रुलाई मात्र सेवा दिन सक्छ । प्राविधिक कारणले कहिलेकाहीँ जहाज ग्राउन्डेड हुँदा आन्तरिक उडान क्षमता कमजोर रहन्छ ।
निगमले अन्तर्राष्ट्रिय उडानबाट कमाएको नाफाबाट आन्तरिक उडानमा सेवा दिने गर्छ । निगमको उद्देश्य अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाउने र दुर्गम क्षेत्रमा सेवा दिने भएकोले नाफा दृष्टिले यसलाई नहेर्ने जनाएको छ ।







प्रतिक्रिया