
एजेन्सी । अमेरिकाले भारतीय वस्तुको आयातमा भन्सार बढाउने निर्णय गरेको छ ।
रुसी तेल किनेकोमा थप २५ प्रतिशत भन्सार शुल्क लागू भएपछि कुल भन्सार दर ५० प्रतिशत पुग्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीका अनुसार, नयाँ व्यवस्था अगस्ट २७ अर्थात् बुधवारदेखि लागू हुनेछ ।
यो कदम राष्ट्रपति डोनल्ड ट्रम्पले यसै महिना हस्ताक्षर गरेको कार्यकारी आदेश १४३२९ को निरन्तरता हो । उक्त आदेशअनुसार वाशिङटनले रुस र उसका व्यापारिक साझेदारबाट आउने भनिएका खतराहरूविरुद्ध कडा कदम चाल्नेछ ।
भारतले अझै पनि रुसी तेल किनिरहेकाले गर्दा अमेरिकाले भारतमाथि यस्तो कदम चालेको हो । भारतले रुसी तेल किनेर युक्रेनविरुद्ध रुसले गरिरहेको युद्धलाई वित्तीय सहयोग पुर्याइरहेको वाशिङटनले दाबी गरेको छ । शान्तिवार्तामा प्रगति नभए थप प्रतिबन्ध वा भन्सार लाग्न सक्ने भनी ट्रम्पले चेतावनी दिएका छन् ।
भारतले भने यस निर्णयलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै अस्वीकार गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अहमदाबादमा आयोजित सभामा राष्ट्रिय हित र किसान, साना उद्योगी तथा पशुपालकको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दबाब सहने क्षमतामा निरन्तर वृद्धि गर्ने पनि बताएका छन् ।
विदेशमन्त्री एस जयशंकरले पनि युरोपलाई लक्षित गर्दै तपाईंलाई भारतीय तेल मन पर्दैन भने नकिन्नुहोस् कसैले बाध्य पारेको छैन भन्दै अमेरिकी निर्णयको आलोचना गरे ।
नयाँ भन्सार शुल्कले अमेरिका–भारत व्यापारिक सम्बन्धमा चिसोपन ल्याएको छ । दुई देशबीच हुने भनिएको द्विपक्षीय वार्ता स्थगित भएको छ ।
अमेरिकाले रुसी तेलका ठूला खरिदकर्ता चीनजस्ता अन्य मुलुकमाथि यस्तै कदम चालेको छैन ।
यसैबीच, मोदी र पुटिनबीच पछिल्ला दिनमा वार्ता भएको छ । भारतले रुसबाट ऊर्जा खरिदलाई निरन्तरता दिने संकेत दिएको छ ।










प्रतिक्रिया