
एजेन्सी । कतारी सञ्चारमाध्यम अल–जजिराका फोटोग्राफर मोहम्मद सलामासहित चारजना पत्रकार इजरायलले सोमवार गरेको आक्रमणमा मारिएका छन् ।
दक्षिण गाजास्थित नासेर मेडिकल कम्प्लेक्समा यो आक्रमण भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उक्त आक्रमणमा कुल २० जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार, सोमवार मारिने व्यक्तिहरू अस्पतालको चौथो तलामा दुईपटक भएको आक्रमणमा मारिएका हुन् ।
पहिलो क्षेप्यास्त्र प्रहार गरिएको केही क्षणमै उद्धारकर्मी पुग्दा अर्को प्रहार गरिएको थियो ।
मारिनेमा रोयटर्स समाचार एजेन्सीका फोटो पत्रकार हुस्साम अल–मास्री, दी इन्डिपेन्डेन्ट अरबिक र एपीका लागि काम गर्ने महिला पत्रकार मरियम अबु दक्का र पत्रकार मुअज अबु ताहा पनि परेको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।
रोयटर्सका अनुसार, हुस्साम अल–मास्रीले सञ्चालन गरिरहेको अस्पतालको प्रत्यक्ष प्रसारण प्रारम्भिक आक्रमणको केही क्षणमै अचानक बन्द भएको थियो ।
“इजरायली अतिक्रमणकारीहरूले नासेर अस्पताल, खान युनिस गभर्नरेटमा समाचार संकलन गरिरहेका पत्रकारहरूको समूहलाई बम प्रहार गरी भयानक अपराध गरेको छ । यस अपराधका कारण धेरैजना शहीद बने,” सरकारी सञ्चार कार्यालयले विज्ञप्तिमा भनेको छ ।
“हामी नरसंहारमा संलग्न इजरायली अतिक्रमणकारी, अमेरिकी प्रशासन र बेलायत, जर्मनी र फ्रान्सजस्ता मुलुकहरूलाई यी क्रूर अपराधहरूका लागि पूर्ण जिम्मेवार ठहराउँछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“गाजामा शहीद पत्रकारहरूको रगत अझै सुकिसकेको छैन, यसैबीच इजरायली अतिक्रमणकारी सेनाले अल–जजिराका क्यामेराम्यान मोहम्मद सलामा र अन्य तीन जना फोटो–पत्रकारमाथि अर्को अपराध गर्यो,” अल–जजिराले विज्ञप्ति जारी गर्दै भनेको छ ।
“निरन्तर आक्रमण हुँदाहुँदै पनि अल–जजिरा २३ महिनादेखि गाजामा भइरहेको इजरायली अतिक्रमणकारीले गरिरहेको नरसंहारको प्रत्यक्ष प्रसारण गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई युद्धबारे रिपोर्टिङ गर्न गाजा प्रवेश गर्न दिइएको छैन,” अल–जजिराको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सलामाले गत वर्ष नरसंहारकै बीचमा प्यालेस्टाइनी पत्रकार हालाअस्फुरसँग विवाह गरेका थिए । त्यस्तै, अबु दक्काकी १२ वर्षीय छोरालाई युद्धको सुरुवातमै गाजाबाट बाहिर लगिएको थियो । ती छोरा अब आफ्नी आमाको छत्रछायाँबाट वञ्चित भएका छन् ।
अल–जजिराका चर्चित पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मीहरू गाजा सिटीस्थित अल–शिफा अस्पताल अगाडि मारिएको दुई साताभन्दा कम समयमा फेरि पत्रकारहरूको हत्या भएको हो । त्यस आक्रमणमा अनसलाई लक्षित गरिएको भनी इजरायलले त्यतिखेर दाबी गरेको थियो । उनी करिब २० लाख गाजावासीको आवाज बनेका थिए ।
अल–जजिराको तथ्यांकअनुसार, यस आक्रमणसँगै सन् २०२३ अक्टोबर ७ देखि गाजामा मारिएका प्यालेस्टाइनी पत्रकारहरूको संख्या २७४ पुगेको छ ।
चार पत्रकार मारिनुका साथै रोयटर्सका लागि काम गर्ने फोटो–पत्रकार हातेम खालेद घाइते भएका छन् । उनले गाजामा भइरहेको युद्धलाई व्यापक रूपमा कभर गर्दै आएका थिए ।
नासेर अस्पताल क्षेत्रमा आक्रमण गरिएको इजरायली सेनाले संक्षिप्त वक्तव्य जारी गर्दै पुष्टि गरेको छ । तर, आक्रमणको उद्देश्य र लक्ष्यबारे उसले स्पष्ट विवरण भने दिएको छैन । सेनाले पत्रकारलाई लक्षित गर्दैन भनी उसले झारा टारेको छ ।








प्रतिक्रिया