जंगलको ‘झारपात’ गरिबदेखि धनीको भान्सामा मनपसन्द तरकारी

निगुरो धेरै परिवारको गुजराको आधारदेखि कोसेलीसम्म


विराटनगर । जंगल र खोला–खोल्सामा जताततै पाइने झार (निगुरो) यसबेला विपन्नदेखि धनाढ्य परिवारको भान्साको मनपसन्द तरकारीका रूपमा परिचित भएको छ । यसले धनाढ्य परिवारमा अर्गानिक तरकारीको उपनाम पनि पाएको छ ।

त्यति मात्र होइन, मोरङको चारकोसे जंगलमा सर्वत्र पाइने निगुरो आसपासका धेरै परिवारका लागि गुजराको आधार पनि बनेको छ । यसको बखान त्यतिमै मात्र सीमित छैन । चारकोसे जंगलमा पर्ने वेलवारी, भाउन्ने, लक्ष्मीमार्ग, कानेपोखरी र पथरी हुँदै माइत, मामाघर र अन्यत्र पाहुना जाने महिलाका लागि निगुरो कोसेलीका रूपमा समेत विकसित भएको छ ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएका मोरङको मंगलवारे, पथरी, कानेपोखरी, पेट्रोलखानी चोक, भाउन्ने, लक्ष्मीमार्ग र वेलवारीमा दैनिक लाखौँ मूल्य बराबरको निगुरो बिक्री हुँदै आएको छ । चारकोसे जंगलमा पर्ने १४१ वटा सामुदायिक वन, ३२ वटा वैज्ञानिक वन र ४ वटा साझेदारी वनमा पाइने यो निगुरो आसपासका बजारसहित काठमाडौंसम्म पुग्ने गरेको छ ।

उल्लेखित स्थानमा सार्वजनिक सवारीसाधनबाट उत्रिने र निजी गाडीमा सवार हुने जो कोहीले यसबेला एक–दुई मुठा निगुरो किनेर कोसेलीका रूपमा बोकेर हिँड्ने दृश्य उत्तिकै देखिन्छ ।

विगत चार दशकदेखि यही निगुरो बिक्री गरेर परिवारको गुजारा चलाउँदै आएकी वेलवारी भाउन्नेकी चन्द्रमाया भट्टराई नजिकको जंगलबाट दैनिक ५० मुठा निगुरो टिपेर प्रति मुठा २०–३० रुपैयाँमा बिक्री गर्छिन् ।

हरेक दिन ७०–८० मुठा निगुरो बिक्री गरेर हात पर्ने पैसाले पाँच जनाको परिवारको गुजारा चल्दै आएको उनको कथन छ । भन्छिन्, ‘के धनी, के गरिब, सबैले निगुरोको मुठा पन्नीमा बोकेर हिँड्छन्।’ उनका अनुसार स्थानीय स्तरमा यहाँको निगुरो कोसेलीका रूपमा समेत बोकिने गरेको छ ।

जंगलबाट टिपेर चोकमा ल्याएलगत्तै निगुरो बिक्री हुन्छ । बसमा चढ्ने र ओर्लिने मानिस निगुरोका मुख्य ग्राहक हुने भट्टराईले सुनाइन् । बस चढेर बजार जानेले कोसेलीका रूपमा निगुरो बोक्ने गर्छन् । उनले भनिन्, ‘बसबाट ओर्लिनेले घर र छिमेकीको तरकारीका रूपमा निगुरो बोकेर हिँड्ने गरेका छन्।’

विगतमा बस चढ्ने र ओर्लिने यात्रुले मात्र निगुरो किन्दा आफूहरू वेलवारी, उर्लाबारी, दमक, विर्तामोड, पथरी, इटहरी र विराटनगरसम्म पुगेर निगुरो बिक्री हुने गरेको थियो । अहिले ती बजारसहित काठमाडौंबाट समेत निगुरो लिन व्यापारी गाडी लिएर आउन थालेपछि निगुरोको व्यापार झन् बढेको कानेपोखरीमा विगत दुई दशकदेखि निगुरोको कारोबार गर्दै आएकी नन्दमाया राईको स्मरण छ ।

राई स्वयंसहित परिवारका तीन जनाले दैनिक सय मुठा निगुरो टिपेर दैनिक करिब दुई हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । त्यही आम्दानीले उनको ६ जनाको परिवारको गुजारा चल्दै आएको छ ।

स्थानीय र आसपासका बजारमा मात्र निगुरो बिक्री हुँदा विगतमा आम्दानी कम हुन्थ्यो । अहिले काठमाडौं र आसपासका बजारबाट व्यापारी गाडी लिएर आउन थालेपछि आम्दानी पनि बढेको उनको भनाइ छ ।

मोरङको चारकोसे जंगलमा १४१ वटा सामुदायिक, ३२ वटा वैज्ञानिक र ४ वटा साझेदारी वन छन् । ती सबै वनबाट दैनिक १५ गाडीभन्दा बढी निगुरो आसपासको बजार र काठमाडौं पुग्ने गरेको लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमको भनाइ छ ।

लक्ष्मी सामुदायिक वनबाट मात्र दैनिक दुई गाडी निगुरो बजारमा पुग्छ । सबै सामुदायिक वनले निगुरो निशुल्क उपलब्ध गराउँदै आएका छन् । गौतमका अनुसार मोरङका १४१ वटा सामुदायिक, ३२ वटा वैज्ञानिक र ४ वटा साझेदारी वनमा निगुरो टिपेरै आसपासका पाँच सयभन्दा बढी परिवारको गुजारा चल्दै आएको छ ।

उनका अनुसार निगुरो टिप्ने काममा प्रायः महिला बढी सक्रिय छन् । उनीहरूले कसले कुन जंगलमा निगुरो टिप्ने भन्ने भागबन्डा गरेका हुन्छन् । आफ्नै भागमा परेको स्थानमा मात्र निगुरो टिप्न पाइन्छ । तोकिएको वनभन्दा अन्यत्र गएर टिप्दा कारबाही हुने गरेको गौतमले बताए ।

मोरङको वेलवारी, लक्ष्मीमार्ग, भाउन्ने, कानेपोखरी, लेटाङ र मंगलवारेबाट मात्र दैनिक १५ गाडीभन्दा बढी निगुरो बाहिरिन्छ । निगुरोका थोक व्यापारी वेलवारीका सुजन मोक्तानका अनुसार त्यसमध्ये दैनिक सरदर तीन–चार गाडी यहाँको निगुरो काठमाडौं पुग्छ ।

एक गाडीमा १६० क्रेट अटाउँछ । एउटा क्रेटमा ३० मुठा निगुरो हुन्छ । जंगलमा प्रति मुठा १५–२० रुपैयाँमा खरिद गरेर व्यापारीले काठमाडौंमा प्रति मुठा ३०–३५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको मोक्तानले बताए । स्थानीय स्तरमा बिक्री हुने निगुरोको तथ्यांक छैन । उनका अनुसार यहाँको निगुरो काठमाडौंमा मात्र हरेक वर्ष सरदर डेढ करोड रुपैयाँभन्दा बढीको पुग्ने गरेको छ ।

जंगलमा चैतदेखि कात्तिकसम्म निगुरो टिप्न मिल्छ । यो वर्ष खडेरीका कारण विगतको भन्दा कम निगुरो उम्रिएको कृषिविज्ञहरूको भनाइ छ । निगुरो एक ‘उनिउ’ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र खोज्ने र समयमा पानी नपर्दा जमिन सुक्दै जाँदा मासिने चिन्ता बढेको कृषि विशेषज्ञ डा. राजेन्द्र उप्रेतीको भनाइ छ ।

निगुरोमा प्रोटिन, भिटामिनलगायत क्याल्सियम पाइन्छ । उनले भने, ‘अर्गानिक रूपमा पाइने यो निगुरो बहुगुणकारी भएकै कारण सर्वसाधारणको आकर्षण बढेको हो।’

तर पछिल्लो समय निगुरो छिटो उमार्न जंगलमै युरिया छर्ने प्रवृत्ति बढेको पाइएको छ । उनका अनुसार यो विकृतिले बहुगुणकारी अर्गानिक निगुरो पाउन मुस्किल बन्दै गएको छ ।