अमेरिकाले रद्द गर्‍यो ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा

1.9k
Shares

एजेन्सी । अमेरिकाको विदेश मन्त्रालयले सन् २०२५ मा ६ हजारभन्दा बढी विद्यार्थीको भिसा रद्द गरेको छ ।

कानूनको उल्लंघन गर्ने कतिपय विदेशी विद्यार्थीहरूमाथि ट्रम्प प्रशासनले कठोर कदम चलाइरहेको विदेश मन्त्रालयका अधिकारीले सीएनएनलाई बताए ।

ती विद्यार्थीहरू भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसिरहेको वा कानून उल्लंघन गरेकोले भिसा रद्द गरिएको ती अधिकारीको भनाइ छ । कुटपिट, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, चोरीडकैती र आतंकवादलाई समर्थन लगायतका मुद्दामा परेका विद्यार्थीको भिसा रद्द गरिएको उनले जानकारी दिए ।

तीमध्ये २०० देखि ३०० जनालाई आतंकवादमा संलग्न रहेको आरोप छ । आतंकवादसम्बन्धी क्रियाकलापमा संलग्न रहेका विदेशीलाई अमेरिकामा ल्याउन नमिल्ने इमिग्रेशन एन्ड नेशनलिटी एक्ट अन्तर्गत भिसा रद्द गरिएको हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयका विरुद्ध आक्रामक कारवाही गरिरहेको र विद्यार्थी भिसामा अनुदारता देखाइरहेको सन्दर्भमा भिसा खारेजीको खबर आएको हो ।

विशेषगरी गाजामा चलिरहेको युद्धको विरोधमा सक्रिय विद्यार्थीहरूलाई ट्रम्प प्रशासनका अधिकारीहरूले तारो बनाइरहेका छन् । उनीहरूलाई यहुदीविरोधी भएको र आतंकवादलाई समर्थन गरेको आरोप छ ।

अमेरिकाको विदेश मन्त्रालयको तथ्यांकअनुसार, सन् २०२४ मा करिब ४ लाखवटा एफ१ अर्थात् विद्यार्थी भिसा जारी गरिएको थियो ।